शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

क्रोधका फाइदा यस्ता छन्

आइतबार, ०१ फागुन २०७८, १३ : २४
आइतबार, ०१ फागुन २०७८

  प्रायः हामीले सुन्ने गरेका छौँ, कामवासनाले बढी उर्जा खर्च गर्छ । तर, यो रूपमा मात्र हो, सारमा होइन । सारमा यही हो कि कामवासनामा भन्दा क्रोधमा बढी उर्जा खर्च भइरहेको हुन्छ । कामुक व्यक्ति कामसमाधिपछि तत्काल शान्त हुन्छ तर क्रोधारूढ व्यक्तिलाई शान्त हुन वा गर्न निकै बेर लाग्छ । यसलाई हामी उम्लिरहेको पानीसँग तुलना गर्न सक्छौँ । जस्तो हामीलाई थाहा छ कि उम्लिरहेको पानी तत्काल सेलाउँदैन । उसलाई सेलाउन त्यति नै उर्जा वाफ बनेर उड्नुपर्छ, जति उर्जा उसलाई तात्न वा तताउन खर्च भएको थियो । क्रोध पनि त्यस्तै हो । त्यस्तै कामुक व्यक्तिबाट हुने नोक्सानी पनि एकपक्षीय नै हुन्छ । उसले गर्ने हानी भनेको उसलाई मात्र हो । त्यस्तै परे एकाध व्यक्ति अरू पनि पर्न सक्लान् । तर,  क्रोधारूढ व्यक्तिले गर्ने नोक्सानीको मूल्य भने एकपक्षीय हुँदैन । यसको भरपाइ घर, परिवार, परिवेश र हुन सक्छ, देश र समाजले चुकाउनुपर्ने हुन सक्छ । 

क्रोध सबैमा हुन्छ । बालकमा हुन्छ, युवामा हुन्छ, वृद्धमा हुन्छ । पशुपंक्षीमा हुन्छ, कीरा कमिलामा हुन्छ, देवीदेवतामा हुन्छ । बोटबिरूवा वनस्पतिमा हुन्छ । समग्रमा भन्नुपर्दा सिङ्गो प्रकृतिमा हुन्छ । यो हाम्रो जन्मजात गुण हो । जन्मसँगै आउँछ र मृत्युपर्यान्त साथै रहन्छ । एउटा बालकलाई केही दियौँ भने फिर्ता गर्न गाह्रो मान्छ । त्यसैले क्रोध उठ्यो भनेर डराउने होइन । उठ्छ, उठ्न दिनुपर्छ । यसलाई रोक्न सकिन्न, रोक्न खोजेर रोकिने कुरा पनि होइन । तर, विरेचनको तरिका भने मिलाउनुपर्छ । क्रोधले हानी गर्र्ने भनेको विरेचनको तरिका मिलाउन नसक्दा मात्र हो । तरिका मिलाउने हो भने यसैबाट आशातीत फाइदा लिन सकिन्छ ।  

रिस उठ्नुको कारण घरपरिवारदेखि छरछिमेकको व्यववहार हुन सक्छ । श्रीसम्पत्ति पनि हुन सक्छ, करकुटुम्ब पनि हुन सक्छन् तर विरेचनको तरिका भने एउटै हुन्छ त्यो हो सन्तुलन । मानौँ हामीलाई छिमेकीसँग रिस उठ्यो । निहुँ जे पनि हुन सक्छ । सुकाएको कपडा हावाले उडाएर लगेको पनि हुन सक्छ, बाख्राले साग खाइदिएको पनि हुन सक्छ, बालबालिकाले खेल्दा गर्ने सानोतिनो गल्ती पनि हुन सक्छ । छिमेकीले करायो हामीलाई रिस उठ्यो ।

यतिबेला हामी के गर्छौ ? पक्कै जस्तालाई तस्तै भन्दै उसलाई पनि गाली गर्न थाल्छौँ, होइन त ?  तर यो क्रोध विरेचनको तरिका भने होइन । हामी करायौँ, गाली गर्यौँ उसले पनि त्यस्तै गर्यो । बाझाबाझ पर्यो । त्यस्तै परे हात हालाहाल पनि भयो होला । तर, यसले के गर्यो ? नोक्सानी, मात्र नोक्सानी यही होइन ? हामीले हान्यौँ, उसले पनि हान्यो । दुवैलाई दुख्यो । दुवैको रगत बग्यो । हुन सक्छ, कुरा त्यतिमा मात्र पनि सकिएन, मौका कुरेर बस्ने निहुँसमेत बन्यो । जहाँ मौका मिल्यो, त्यहीँ हान्न थालियो । यसरी कुटाकुटको अन्त्यहीन सृङ्खला सुरू भयो ।

मानौँ एकछिनलाई हामीभन्दा ऊ बलियो रहेछ । तत्कालै प्रतिक्रिया जनाउन सकेनौँ । तर, चुप लागेर बस्न पनि सकेनौँ । घरमा गएर कि पत्नीमाथि पोखिन थाल्यौँ कि पतिमाथि । कि छोराछोरीले पिटाइ खाए कि निर्दोष भाँडाहरूले । गिलास फुटलान्, थाल कचौरा बजारिएलान् । टिभीका सिसा फुट्लान् । फोनको सेट वा मोवाइल सेट हुत्तिएलान् । कि कुकुरको छाउरो कुईकुईं गर्न लाग्लान् कि बाख्राको पाठो म्या म्या गर्न थाल्लान् । केही न केही त पक्कै हुनेछ । रिस पोखिने भनेकै कमजोरमा हो । छिमेकी कमजोर परेको भए उसैमाथि पोख्थ्यौँ, बलियो पर्यो, अरूले सजाय पाए ।  

अथवा आफैमाथि पोखिएको पनि हुन सक्छ । भित्रभित्रै मुरमुरियौँ, दाह्रा किट्यौँ, मुड्की बजार्यौँ, गोडा थचार्यौँ । तर, के भयो ? दुःख आफैँले पायौँ । भित्रभित्रै सडेर कि क्यान्सर बन्न पुग्यो कि डिप्रेशन गरायो कि पागल बनायो । त्यस्तै परे आत्महत्याको अवस्थासम्म पुग्न पनि बेर लगाएनौँ । क्रोधलाई विरेचन गर्न नजान्दा हुने नोक्सानी हुन् यी । तर, विरेचन गर्न जान्ने हो भने यही क्रोधले नोक्सानी होइन फाइदा गर्छ । यसलाई केही उदाहरणद्वारा थप प्रष्ट गर्न सक्छौँ, जुन हाल युट्यूब च्यानलहरूमा भेटिने गरेका छन्, जहाँ क्रोधलाई कसरी विरेचन गर्ने भन्ने कुरा सिकाइएको हुन्छ । यसैबारे एउटा च्यानलको लिङ्क यहाँ प्रस्तुत गरिएको छ । इच्छा हुनेले खोल्न, हेर्न र अप्नाएर फाइदा लिन सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप