चेल्सीलाई क्लब विश्वकपको उपाधि
आइतबार, ०१ फागुन २०७८, ०८ : १६
ब्राजिलियन टोली पालमेरियासलाई हराउँदै प्रिमियर लिग क्लब चेल्सीले क्लब विश्वकपमाथि कब्जा जमाउन सफल भएको छ । सन् २०२१ को च्याम्प्यिन्स लिगमा विजयी गोल गरेका काई हाभर्टजले ११७ औँमा पेनाल्टीबाट निर्णायक गोल गर्दै चेल्सीलाई पहिलोपटक यो उपाधि दिलाएका हुन् ।
यसअघि खेलको ५५ औँ मिनेटमा रोमेलु लुकाकुले चेल्सीलाई अग्रता दिलाए पनि ६४ औँ मिनेटमा राफायल भेइगाले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । खेलको अन्त्यतिर पालमेरियासका लुआन रातो कार्ड खाँदै मैदानबाट बाहिरिन परेको थियो । यो जीतसँगै चेल्सीले रुसी अर्बपति रोमन अब्राहिमोविचको नेतृत्वमा सम्भावित सबै उपाधि जित्न सफल भएको छ ।