आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीराजमार्ग खण्डमा दुई हजार दुई सय रूख कटान

शनिबार, २९ माघ २०७८, २० : ०८
शनिबार, २९ माघ २०७८

पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि कोत्रेपुलसम्म दुई हजार दुई सय रूख कटान गरिएका छन् । म्याग्दे गाउँपालिकाको जामुनेदेखि जिल्लाको पश्चिम नाका शुक्लागण्डकी नगरपालिकाको कोत्रेसम्म सडकका दायाँबायाँ रहेका रूख कटान गरिएका हुन् । 

पृथ्वीराजमार्गको सडक विस्तार गर्ने क्रममा असर पुर्याएका रूख कटान गरेर हटाइएको सुपर भिजन कन्सल्टेन्सका एसिस्टेन्ड रेजिडेन्ट इन्जिनियर मोहन केसीले जानकारी दिए । करिब १२ रूख कटान गर्न बाँकी रहेका बताइएको छ । उनले भने, “बिजुलीको हाइटेन्सनका कारण उक्त रूख कटान गर्ने कार्य रोकिएको हो ।” पृथ्वी राजमार्गअन्तर्गत कास्कीमा पर्ने सडकको दायाँबायाँका पूरै रूख कटान गर्न बाँकी रहेको जनाइएको छ । 

वन कार्यालयसँग सम्झौता गरिसकिएकाले केही दिनभित्रै कटान कार्यलाई अघि बढाउने तयारी भइरहेको उनले बताए । शुक्लागण्डकीको गाछेपानीदेखि थर्पुबजारसम्म स–साना खाल्डाखुल्डी पुर्ने र नाला सफाइ गर्ने कार्य सम्पन्न भएको छ । त्यसैगरी मर्मतसम्भारअन्तर्गत गाछेपानीदेखि कोत्रेपुलसम्म कालोपत्र गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

त्यसैगरी पछिल्लो समय सडको रुट तय गर्ने र समयसमयमा मर्मत गर्नुपर्ने कार्यलाई निरन्तरता दिइँदै आएको उनले जानकारी दिए । जिल्लाको खैरेनीटारदेखि पोखराको सेतीनदीसम्म (ठूला बजार) क्षेत्रमा ४६ मिटर, सडक फिलिङ गर्नुपर्ने क्षेत्रमा २३ मिटर र फराकिलो बनाउन कटिङ गर्न नमिल्ने क्षेत्रमा १८ मिटर सडक कायम गरिएको छ । जामुनेबाट कुम्लेखोला पुलसम्म करिब दश किलोमिटर सडकको डिजाइन गरी ठेकेदारले सुपरभिजन कन्सल्टेन्सलाई बुझाइएको कन्सल्टेन्सका रेजिडेन्ट इन्जिनियर कमल शाक्यले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप