बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

७ दलले बनाए ‘डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स’

शनिबार, २९ माघ २०७८, १७ : ०३
शनिबार, २९ माघ २०७८

स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै विभिन्न सात राजनीतिक दलहरूले डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्स (डि.एस. ए.) घोषणा गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सामाजिक एकता पार्टी, नेकपा समाजवादी, नेपाल दलित पार्टी, जनवादी मोर्चा नेपाल, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, गणतान्त्रिक संयुक्त मोर्चा नेपाल र नेकपा राष्ट्रवादी पार्टीले संयुक्त रूपमा डेमोक्रयाट्रिक सोसलिस्ट एलायन्सको घोषणा गरेका हुन् । 

देशमा भ्रष्टाचार र कुशासन बढेको साथै सरकारमा रहेका राजनीतिक दलहरूले नेपाली जनतामा खुसी ल्याउन नसकेको भन्दै एलायन्सको घोषणा गरिएको एलायन्सका अध्यक्ष सिबी गहतराजले बताए । साथै, एलायन्स अहिले विद्यमान नेकपा (एमाले), नेकपा माओवादी र नेपाली काँग्रेसको वैकल्पिक शक्तिको रूपमा आउने उनको दाबी थियो । साथै, उनले निर्वाचन आयोगले साना दलहरूलाई स्वतन्त्र रूपमा चुनाव लड्नुपर्ने कानुन रहेको भन्दै उक्त ऐनलाई यथाशीघ्र खारेज गर्न माग गरे । 

‘निर्वाचन आयोगले स्थानीय ऐन २६.६मा साना दललाई चुनाव चिन्ह स्वतन्त्र रूपमा लड्नुपर्छ भनेको छ । त्यो ऐनलाई यथाशीघ्र खारेज गर्न माग गर्दछु’–उनले भने । साथै, उनले उक्त ऐनको विरुद्धमा आफूहरूले सर्वोच्च अदालतमा मुद्दा हाल्न लागेको पनि जानकारी दिए । ‘निर्वाचन आयोगमा पनि ज्ञापन पत्र बुझाउन जानेछौँ । यो देश सबैको हो । हामी चुनाव लड्न नपाउने ? यो कहाँको प्रजातन्त्र हो ? हामी खुलेर चुनाव लड्न पाउनुपर्छ’–उनले भने ।

यस्तै, उनले नेपालको संविधान कागजमा मात्र सीमित रहेको आरोप लगाए । नेपालमा सबै खालका विभेदहरूको अन्त्य गर्नको लागी एलायन्सले काम गर्ने उनको दाबी थियो । ‘पूर्ण रूपमा संविधानको कार्यान्वयन गराएर राज्यले जनताको स्वास्थ्य र शिक्षाको जिम्मा लिनुपर्ने व्यवस्था मिलाउन एलायन्स आएको हो । बृद्धभत्ता दिलाउने मात्र होइन, सरकारले बृद्धाहरुलाई जिम्मा लिनुपर्छ’–उनले भने । सामाजिक एकता पार्टीका अध्यक्षसमेत रहेका गहतराजले घोषणापत्र पढेर सुनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप