सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

समस्या बाबुराममा होइन, उपेन्द्र यादवमा छ : इस्तियाक राइ

शनिबार, २९ माघ २०७८, १६ : ३७
शनिबार, २९ माघ २०७८

पार्टी अध्यक्ष उपेन्द्र यादव निरंशकु बनेको आरोप छ जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य मोहम्मद इस्तियाक राइको । अहिले विषयमा पार्टीमा आन्तरिक संघर्ष भइरहेको उनी बताउँछन् । जसपा यादवहरूको मात्र पार्टी बनेकोमा उनको असहमति छ । पार्टीलाई सामुहिक नेतृत्व र समावेशी रुपमा अघि बढाउनुपर्ने उनको माग छ ।

यता आन्तरिक संघर्षले पार्टी नै विभाजन हुने त होइन भन्ने चिन्ता आम कार्यकर्तामा रहेको छ । तर राइ भने यो संघर्षले पार्टी सुध्रिने र अझ सशक्त बन्ने दाबी गर्छन् । जसपामा जारी विवादको बारेमा रातोपाटीले राइसँग गरेको कुराकानीको सम्पादित अंश :

के जसपा साँच्चै विभाजन हुन लागेको हो ?

यो मिडियामा आएको कुरा मात्र हो । तपाईं ढुक्क हुनुहोस्, जसपा विभाजन हुँदैन । पार्टीमा एकल अधिकारको गलत प्रयोग भइरहेको छ, त्यसको मात्र विरोध भइरहेको हो । लोकतान्त्रिक पद्धतिबाट चल्ने पार्टीमा यो भइरहने कुरा हो । पार्टीभित्रको यो आन्तरिक संघर्ष हो ।

जसपा नेपाललाई देशको वैकल्पिक शक्ति बनाउने कुरा थियो । त्यही अनुसार पार्टी अगाडि बढिरहेको थियो । तर पार्टीलाई अहिले एकल र असमावेशी तरिकाले अगाडि बढाइरहिएको छ, त्यो आपत्तिजनक कुरा हो । पार्टी अध्यक्ष उपेन्द्र यादवजी आफ्नो फेसबुकबाट पार्टीमा तीन कलस्टर होइन, अरू पनि कलस्टर छन् भन्नुभएको छ । यदि त्यस्तो हो भने ती सबै कलस्टरलाई किन पार्टीमा समावेश गरिएको छैन त ? सबै कलस्टरलाई समावेश गरी जसपालाई समावेशी पार्टी बनाउनु पर्‍यो  । यो त यादवको वा मधेस प्रदेशको मात्र पार्टी त होइन । 

खास जसपामा विवाद कुन कुन विषयमा छन् ?

–जसपा नेपालमा हरेक क्षेत्रका, हरेक समुदायका, हरेक जातिका मान्छे छन् । तर त्यसलाई पार्टीमा समावेश गरिएको छैन । पार्टी अध्यक्ष उपेन्द्र यादवले जसपालाई आफ्नो निजी कम्पनी जसरी चलाइरहनु भएको छ । राष्ट्रिय सभाको चुनावमा उम्मेदवारबारे निर्णय गर्दा उहाँले कसैसँग कुनै सल्लाह गर्नुभएन । एकल अधिकार प्रयोग गरेर जथाभाबी निर्णय गर्नुभयो । मन्त्रिपरिषद्मा नाम पठाउनका लागि उपेन्द्र यादव, डा.बाबुराम भट्टराई र अशोक राई तीन राखेर एउटा कार्यदल बनेको थियो । तर अध्यक्ष उपेन्द्र यादवले अरूसँग कुनै सल्लाह नै नगरीकन आफ्नो एकल अधिकारबाट जथाभावी निर्णय गरेर पठाउनुभयो । मन्त्रिपरिषद्मा जसपाबाट नामा जाँदा मधेस प्रदेशबाट मात्र तीन जनाको नाम गएको छ । त्यसमा पनि तीनै जना यादव हुनुहुन्छ । के अरू प्रदेशमा जसपा छैन ? यादवबाहेक अरू जातिका नेता जसपा छैनन् ? पार्टीमा भएका कतिपय यस्ता निर्णयहरू भएका छन्, जसलाई उपेन्द्र यादवले लुकाएर राख्नु भएको छ । उपेन्द्र यादवको एकल नेतृत्वमा अब जसपा चल्दैन । तीन अध्यक्ष प्रणालीमा जसपालाई अगाडि बढाउनु आवश्यक भइसकेको छ । जसपा सामूहिक नेतृत्वमा चल्नुपर्छ भन्ने पार्टीका आमा नेता तथा कार्यकर्ताको माग हो ।

तपाईंले सुरुमै भन्नुभयो, यो आन्तरिक संघर्ष हो तर विगतको घटनाहरू हेर्दा आन्तरिक संघर्षकै कारण धेरै पार्टीहरू विभाजन भएका छन् । जसपा विभाजन हुँदैन भने के ग्यारेन्टी छ ?

–कुनै पनि लोकतान्त्रिक पार्टीमा आन्तरिक संघर्ष आवश्यक हुन्छ । त्यसले विभाजन होइन, पार्टीलाई झन् बलियो बनाउँछ । यसअघि हामीले पार्टीमा आन्तरिक संघर्ष गर्दा समाजवादी पार्टी विभाजन हुँदैछ भनेर लेखियो । तर भएन नि । अहिले पनि त्यही अवस्था छ । पार्टी विभाजन हुँदैन । तर भएका कमीकमजोरीहरूलाई सुधार गर्नुपर्छ । पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण गर्नु आवश्यक छ । 

पार्टीमा डा.बाबुराम भट्टराई अध्यक्ष बन्न खोज्नु भएको हो त ?

–यहाँ बाबुराम वा अशोक राईको मात्र कुरा होइन । यहाँ समावेशी र सामूहिक नेतृत्वको कुरा हो। नेतृत्वमा जानका लागि थुप्रै नेताहरू हुनुहुन्छ यस पार्टीमा । प्रकाश अधिकारी, नवराज सुवेदी, परशुराम खापुङ, रकम चेमजोङ्ग, गोविन्द चौधरीलगायत थुप्रै नेताहरू छन् जसलाई नेतृत्व दिन सकिन्छ । समस्या बाबुराम भट्टराईमा होइन, समस्या उपेन्द्र यादवमा छ । अब उपेन्द्र यादव एकल अध्यक्ष रहनु हुँदैन ।  सामूहिक नेतृत्वमा जसपा जानै पर्छ ।   

विगतमा दुईजना अध्यक्ष राखेर विभिन्न दलले अभ्यास गरिसकेका छन् । तर सफल भएन । तपाईँले फेरि दुईजना अध्यक्षको कुरा उठाउनुभएको छ, के यो सम्भव छ त ?

–उपेन्द्र यादव एकल अध्यक्ष रहेको पार्टी नौ पटक फुटेको छ, त्यो कसरी भयो ? दुईजना अध्यक्ष भएको पार्टी त एकपटक मात्र विभाजन भएको छ । उपेन्द्र यादव एकल अध्यक्ष भएर पार्टी निरंकुश शैलीमा चलाउनु हुन्छ र त त्यो विभाजन हुन्छ । सामूहिक नेतृत्वको पार्टी भयो भने ब्यालेन्स हुन्छ र त्यो पार्टी विभाजन हुँदैन । त्यही भएर जसपालाई बहुअध्यक्ष प्रणालीमा लैजानुपर्छ भन्ने आवाज उठेको हो । निरंकुश पञ्चायत र बहुदल व्यवस्थामा के फरक छ ? पञ्चायतमा कुनै एउटा राजा महाराजाले शासन गर्थे, एकल अधिकार प्रयोग गर्थे । त्यसको विरुद्धमा आन्दोलन भयो,  देशमा बहुदल आयो । बहुदल आएपछि सबै दलले अधिकार पाए । त्यस्तै, हाम्रो पार्टीमा पनि एकल अध्यक्ष प्रणाली निरंकुश भयो, अब त्यसलाई बहुअध्यक्ष प्रणालीमा लैजानुपर्छ ।

तपाईंले उपेन्द्र यादवको साथमा रहेर लामो समय काम गर्नुभयो । त्यतिबेला एकल अध्यक्षको कहिले विरोध गर्नुभएन । अहिले आएर नै किन विरोध गर्नुभयो त ?

–उपेन्द्र यादवको साथमा भएर कहिले काम गरेको छैन । मधेसको मुद्दा र अधिकारको साथमा काम गरेको छु । मधेसको अधिकार र पहिचानका लागि मैले काम गरेको हुँ । समानुपातिक र समावेशी लोकतन्त्रका लागि काम गरेको हुँ । कसैको दया मायामा रहेर काम गरेको होइन, जनताका लागि जनताको साथमा रहेर काम गरेको हुँ । हामी सँग रहेर काम गरेका छौँ, तर तपाईँले भनेको जस्तो म उहाँको साथमा रहेर काम गरेको छैन । तपाईँहरूलाई याद नै होला म विगतदेखि उपेन्द्र यादवको कार्यशैलीलाई विरोध गर्दै आएको व्यक्ति हुँ । पार्टीको बैठकमा उपेन्द्र यादवको कार्यशैलीको विरोध गर्ने व्यक्तिमा म पर्छु । उहाँले विगतमा पनि पार्टीभित्र एकल अधिकार प्रयोग गर्दा नौ पटक विभाजन भएको छ । यो कुरा सबैलाई जानकारी भएकै कुरा हो । त्यसैले चाँडोभन्दा चाँडो सामूहिक नेतृत्वमा पार्टी लैजानुपर्छ । अरू विकल्प छैन ।

अहिले त तपाईँलाई बाबुराम पक्षधर नेता मानिन्छ नि ?

–म कसैको पक्षधर होइन । न म बाबुराम पक्षधर हुँ, न उपेन्द्र यादव पक्षधर हुँ ।  म जसपाको समावेशी समानुपातिक लोकतन्त्रको पक्षधर हुँ । जसको बारेमा म पार्टीमा पटक पटक कुरा उठाएको हुँ ।    

पार्टीको बैठकका लागि लिखित रूपमै माग गर्नुभएको कुरा बाहिर आएको छ । के त्यो सही हो ?

–अहिले लिखित रूपमा माग गरिएको छैन । मौखिक रूपमा पार्टीको बैठक बसाउनका लागि आग्रह गरिएको हो । नेताहरूले अध्यक्ष उपेन्द्र यादवलाई पटक पटक भेटेर बैठकका लागि आग्रह गरिएको छ । तर उहाँ बैठक बसाइ रहनु भएको छैन । प्रत्येक एकाएक महिनामा कार्यकारिणी समितिको बैठक बस्नुपर्ने हो तर पाँच छ महिना भइसक्यो बैठक बसेको छैन । केन्द्रीय समितिको बैठक पनि बसाउने बेला भइसकेको छ, त्यो पनि बसेको छैन । विधान अनुसार पार्टी चल्नुपर्नेमा अध्यक्षज्यूले त्यसलाई पनि लत्याएर हिडि रहनु भएको छ ।

केही पहिले तपाईंसँग यसै विषयमा कुरा गर्दा तपाईँले भन्नुभएको थियो कि उपेन्द्र यादवले बैठक बसाउनु भएन भने हामी बहुमत सदस्यले बैठक बसाएर अगाडि बढ्छौँ । त्यो कहिले गर्नुहुन्छ ?

–हामीले अहिले मौखिक रूपमै बैठकको लागि माग गरिरहेका छौँ । हेरौँ के गर्नुहुन्छ । चुनावको मिति घोषणा भइसकेको छ । अब त बैठक बस्नुपर्ने हुन्छ । यदि उहाँले बैठक बसाउनु भएन भने पार्टीको विधानअनुसार हामी अगाडि बढ्छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप