सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

कथा : उडी छुनु चन्द्र एक

शनिबार, २९ माघ २०७८, ११ : ४४
शनिबार, २९ माघ २०७८

रीना सुनार एक सामान्य दलित परिवारमा जन्मिएकी थिइन् । सानैदेखि  अपहेलना सहन बाध्य उनी उमेर बढ्ने क्रमसँगै आफ्नो र समुदायको लागि लड्ने अठोट बनाउन थालिन् । सोही अनुसार गाउँले र समाजको अगाडि केही गरेर देखाउँछु भन्ने ईख लिएर आफ्नो लक्ष्यमा हिँड्दै थिइन् । उनलाई जातीय विभेद अन्त्य गर्नु थियोे । उनले हरेक बेला आफुलाई आफ्ना बाबु आमाको सम्मानको निम्ति भएपनि लक्ष्यमा पुग्नैपर्र्छ भनेर सम्झाँउथिन् ।

आफूलाई सदा राजकुमारी बनाएर राख्ने उनका बाबुलाई अरुले नोकरको जस्तो व्यवहार गरेको देख्दा उनमा घृणा भाव झनै बढेर आउँथ्यो । दलितको नाम दिएर उनले छोएको पानी समेत छुन घिनाउँथे मान्छेहरु । अनेक दुःख कष्ट, मन्दिर जाँदाको त्यो अपहेलना, धर्मको नाममा गरेको त्यो अत्याचार, पढ्न जाँदा तल्लो जात भनेर गरेको अपमान सम्झिएर आफ्नो लक्ष्यलाई आत्मसाथ गर्दैै आफूलाई झन बलियो बनाउँथिन् रीनाले । आखिर हामीमाथि किन गरिन्छ यस्तो व्यवहार ? के हामी मान्छे होइनौं ? आफैसँग प्रश्न गर्थिन् उनी । मान्छे मान्छेमा विभेद किन ? उनीहरुलाई काटे नि त्यै रातो रगत, हामीलाई काटे नि त्यै रातो रगत अनि यो देश ४ जात ३६ वर्णको साझा फुलबारी हो भनेर देखावटी नाटक मात्र किन ? यस्तै अनेक थरि कुरा मनमा खेलाउँदै कहिलेकाहिँ उनको रात छर्लंग कट्थ्यो ।

यो समाजको अपहेलना सहँदा सहँदै समय बितेको रीनाले पत्तो नै पाइनन् । ठूली हुने क्रमसँगै आफ्नो लक्ष्य पुरा गर्न उनले दिन रात मिहिनेत गर्न थालिन् । सायदै भगवान उनकै पक्षमा थिए र त पुकार सुने । रीनाले सशस्त्र प्रहरीमा नाम निकालिन् । त्यसपछि बल्ल उनलाई हेर्ने गाउँलेको दृष्टिकोणमा फरक आयो । पहिले दुःखका आँसु झर्थे, छोरीले सम्मान पाएको देखेर अब रीनाका बाबु आमाका आँखाबाट हर्षका आँसु झर्न थाले । सधैं हेला सहँदै आएका रीनाका बाबु आमा त्यो सम्मान पाउँदा रीना आफ्नी छोरी भएकोमा गर्र्व गर्थे । हिजो आफ्नो गाँस काटेर छोरीलाई पढाएको फल आज मिलेको थियो ।

रीनालाई पहिलेदेखि नै जातीय विभेदको अन्त्य गर्र्नु थियो तर कुनै शक्ति र उपाय नहुदा उनी लाचार थिइन् । तर आज रीनासँग त्यो शक्ति थियो, आफ्नो पदका कारण उनी त्यो अत्याचार केही हदसम्म रोक्न सक्थिन् । हिजोको दिनमा गाउँ समाजले जति नै अत्याचार गरे पनि आफू जन्मिएको, हुर्किएको ठाउँ भनी सधैं माया गर्थिन् । हिजोसम्म जुन मुखबाट अपशब्द निस्किन्थ्यो, आज त्यही मुखबाट वाहवाह शब्द निस्किदै थियो । रीनाले त्यो परिवर्तन देखेर खुशी हुँदै गाउँलेले गरेको सबै अत्याचार बिर्सिदै थिइन् ।

एक रात रीना काममा नै थिइन्, त्यही समयमा उनको साथीको घरदेखि फोन आयो । फोनमा उनका साथीका बुबाले भनेका थिए, “छोरी मीनाको समयमा अस्पताल पुग्न नपाएर निधन भयो, तिमीलाई भेट्न खोज्दै थिई तर भेट्न पाइन  ।” यो खबरले रीना बेहोस भइन् । 

रीनाको बाल्यकालदेखि सँगै खेल्दै आएकी साथी थिइन् मीना । दलित भनेर सबैले बहिष्कार गरेको बेला पनि साथ दिने एक मात्र साथी थिइन् मीना । तिनलाई अन्तिम समयमा भेट्न नपाउँदा रीनामाथि बज्रपात पर्यो । सहकर्मीहरुले पानी छम्किए । बेहोसीबाट ब्यूँझिएपछि रीना दायाँ बायाँ केही नसोची त्यहाँबाट हतारिदै मीनाको घरमा पुुगिन् । 

रीनाले सोधिन्,“बाबा, मीना खै ?”

बाबाले मलिन मुख लगाएर हातले ईसारा गर्दै छोरीको लासतिर ईशारा गरे । मीनालाई बोक्सी भनेर कुटपिट गरिएको र पीडा सहन नसकेर मीनाले अकालैमा ज्यान गुमाएको कुरा उनको कानमा पर्यो । रीनाले एकछिन मात्र मीनाको लासको कपडा उठाएर हेर्न सकिन् । केहिी बेरको मौनतापछि रीनाले सोधिन् “बाबा, यो सबै कसरी भयो ?” 

बाबाले जब सबै कुरा बेलीबिस्तार गरे । त्यसपछि रीनाले कठोर भएर भनिन्, “म आज कसम खान्छु कि आज जुन विभेदका कारण मेरी मीनाले ज्यान गुमाउन बाध्य हुनु पर्यो । यही कारणले म फेरि अर्की मीनाको ज्यान जान दिने छैन । जुन दिन यो समाजबाट विभेदको नाममा अत्याचार हुन बन्द हुनेछ, त्यो दिन मात्र मेरी मीनाको आत्माले शान्ति पाउने छ ।”

त्यसपछि रीनाको व्यवहारमा परिवर्तन देखिन थाल्यो । रीनाको मनमा गाउँलेहरुका लागि जति माया थियो, त्यो सबै घृृणामा परिवर्तन भइसकेको थियो । रीनाले त्यतिबेला बुझिन् कि उनलाई हेर्ने दृष्टिकोणमा गाउँलेको परिवर्तन उनको पदको पावरको त्रास थियो भनेर । 

मीनाको असामयिक मृत्युले उनलाई झन बलियो बनाएको थियो ।  रीनाले फेरि पनि कुनै निर्दोषको ज्यान नजाओस् भन्ने सोचिन् र पुरा मिहिनेत गरेर घटनाको अनुसन्धान अघि बढाउन लगाइन् । मीनाको मृत्यु हुँदा गाउँका ठूलाबडा भनाउँदा मौन बसेका थिए । हत्यामा गाउँका अध्यक्ष र धनाढ्य खानदानका व्यक्ति संलग्न थिए । अनुसन्धानका क्रममा पहिले यौन शोषण गरेपछि बोक्सीको आरोप लगाइ कुटपिट गरेर ज्यान लिइएको पत्ता लाग्यो । 

ठूलाबडाले पैसाको प्रलोभनले न्याय किन्न समेत नखोजेका होइनन् । तर रीनाले न्याय दिलाउने कसम खाएकी थियन् । त्यसैले, ती नरपिचाशहरुलाई आफ्नो पुरा शक्ति  लगाएर कारागारमा हाल्न सफल भइन् । रीनाको त्यो साहसको धेरै दिनसम्म निकै चर्चा भयो । 

गाउँका ठूला नेताहरुलाई कारागारसम्म पुर्याउनु सानो कुरा थिएन । कसैले नसकेको काम रीनाले गरेर देखाएकी थिइन् । त्यो घटनापछि उनको र छिमेकी गाउँमा समेत त्यस्ता घटना कम हुन थाल्यो । नारी शक्ति भनेको सानो शक्ति रहेनछ भनेर मान्छेहरुले बुझ्न थाले । उनको यो साहसले गर्दा विभिन्न संस्थाहरुले जातिय विभेद, महिला अधिकारसम्बन्धि जनचेतना फैलाउने अभियानमा उनलाई अतिथि बक्ताको रुपमा समेत निम्त्याउन थाले । 

रीताको भित्री मनले भन्थ्यो, वास्तवमा मनदेखि केही कुरा चाह््यो र गर्यो भने भगवानले पनि साथ दिन्छन् । रीनाको पनि उदाहरण यस्तै थियो । उनी विभेद अन्त्य गर्छु भन्ने ठानेर एक्लै अगाडि बढिन् र दोषीलाई दण्ड दिलाउन सफल पनि भइन् । उनको साथमा आज हजारौं छन् । त्यसैले भनिन्छ नि संसार बदल्नु छ भने सुरुवात आफूबाट गरौँ । रीताको झैं उद्धेश्य लिऊँ उडी छुनु चन्द्र एक ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शुभेच्छा रेग्मी
शुभेच्छा रेग्मी
लेखकबाट थप