सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

ब्याजदर बढाउने बैंकरको निर्णय फिर्ता लिन महासङ्घको आग्रह

शुक्रबार, २८ माघ २०७८, २१ : ३१
शुक्रबार, २८ माघ २०७८

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निक्षेपमा ब्याज दर वृद्धिको निर्णय स्थगन गर्न आग्रह गरेको छ । बैंकिङ क्षेत्रबाट उद्योग व्यवसायलाई पूर्ण रुपमा सञ्चालन गर्ने कार्यमा सहयोगको अपेक्षा भइरहेको अवस्थामा निक्षेपमा ब्याज वृद्धिको निर्णयबाट उद्योग व्यवसाय क्षेत्र थप सशंकित भएको महासंघले जनाएको छ ।  

कोभिडका कारण साना ठूला सबै प्रकारका उद्योग व्यवसाय यतिखेर अत्यन्त कठिन अवस्थाबाट गुज्रिरहेका छन् । महासङ्घले एकातिर उद्योग व्यवसाय कोभिड पूर्वको अवस्थामा सञ्चालन हुन सकेका छैनन भने उत्पादित वस्तुहरुको बिक्री वितरणबाट उठ्नुपर्ने रकमसमेत उठ्न नसकेको उल्लेख गरेको छ ।  

‘बैंकिङ क्षेत्रबाट विगतमा भएका सकारात्मक पहलको निजी क्षेत्रले सदैव स्वागत गरेकै हो’, महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ’ अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्र र उद्योगी व्यवसायीले लिएको ऋणको ब्याज दर पुन बढेमा यो क्षेत्र थप धरासायी हुने र सम्पूर्ण उद्योगी व्यवसायी सडकमा आउने परिस्थिति सृजना हुने हो कि भन्नेमा निजी क्षेत्रको चिन्ता रहेको छ । 

विगतका अनुभव समेतलाई हेर्ने हो भने पनि ब्याजदर वृद्धिबाट तरलता समस्या समाधान नहुनेमा महासंघको बलियो विश्वास रहेको छ । व्याजदर वृद्धि लगायतका कारणबाट उद्योग व्यवसाय क्षेत्र चौतर्फी दवावमा पर्दा यसको प्रत्यक्ष असर मुलुकको उत्पादन र अर्थतन्त्रमा पर्दछ ।  

व्यापार घाटाको दायरा निकै बढिरहेको अवस्थामा, पछिल्लो पटक निक्षेपमा व्याजदर वृद्धिको निर्णयबाट कर्जाको ब्याज दर वृद्धि हुन गई उद्योग व्यवसाय थप शिथिल हुने र त्यसले आन्तरिक उत्पादन नै ठप्प हुन जाने अवस्था आउने तर्फ हामी सरकार र नेपाल राष्ट्र बैंकको महासंघले ध्यानाकर्षण गराएको छ ।  

यसर्थ अनपेक्षित रुपमा गरिएको निक्षेपमा व्याजदर वृद्धिको निर्णयले आधार दर वृद्धि हुन गई ऋणको ब्याज दरमा समेत वृद्धि हुने आशंका गर्ने ठाउँ पर्याप्त देखिएकाले तत्काल उक्त निर्णय स्थगन गर्न महासंघ राष्ट्र बैंक समक्ष गम्भीर आग्रह गर्दछ ।

साथै थलिएका उद्योग व्यवसायहरुलाई सुसञ्चालन गर्ने वातावरण बनाउन सरकार, राष्ट्र बैंक र बैकिङ क्षेत्रसँग आग्रह गर्दै यसका लागि निरन्तर संवाद र सहकार्यमा रहन नेपाल उद्योग वाणिज्य महासंघ सदैव तयार रहेको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप