रुपन्देहीका नगरपालिकामा विगतमा जस्तै जोगाउन सक्ला एमालेले साख ?
रुपन्देहीमा ५ वटा नगरपालिकामा रहेकोमा २०७४ सालको निर्वाचनलाई हेर्दा एमाले अग्रपंक्तिमा थियो । जिल्लाको सिद्धार्थनगर, सैनामैना र तिलोत्तमा नगरपालिकामा एमाले प्रमुख र उपप्रमुखमा विजयी भएको थियो । यस्तै देवदह नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसले बाजी मारे पनि उपप्रमुखमा एमाले नै विजयी भएको थियो । लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा भने स्वतन्त्र उम्मेदार तथा उपप्रमुखमा संघीय समाजवादी फोरमकी विजेता भएको थियो । रुपन्देहीका रहेका १६ स्थानीय तहमध्ये ७ स्थानीय तहमा एमालेले विजयीको झण्डा गाडेको थियो । बुटवल उपमहानगरपालिकासहित ७ वटा स्थानीय तहमा जितेपछि रुपन्देहीमा एमालेले प्रभाव कायम गरेको थियो । आगामी स्थानीय चुनावमा भने एमालेलाई साख जोगाउन गाह्रो हुने देखिन्छ ।
तिलोत्तमा नगरपालिका : केन्द्रीय नेताहरुको भीडन्त
रुपन्देहीको तिलोत्तमा नगरपालिका एमाले नेताहरु विष्णु पौडेल र घनश्याम भुसालको गृहनगर हो । दुवै नेताहरुको केन्द्र र नगरमा राम्रो पकड रहेको छ । २०७४ सालमा प्रमुख र उपप्रमुखमा एमाले नै विजयी भएकोमा दुबै प्रतिनिधि हाल पनि एमालेमै छन् । उता नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा हालका गृहमन्त्री बालकृष्ण खाँणको पनि गृहनगर पनि तिलोत्तमा नै हो । त्यसैले, यस नगरको राजनीति केन्द्रीय नेताहरुसँगको भीडन्तको रुपमा पनि हेर्ने गरिन्छ ।
तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसका रामकृष्ण खाँणलाई पराजित गर्दै नेकपा एमालेका बासुदेव घिमिरेले निर्वाचित भएका थिए । एमालेका घिमिरेले २१ हजार ८६८ मत ल्याउँदा उनका निकट प्रतिस्पर्धी काँग्रेसका खाँणले १९ हजार ९४ मत ल्याएका थिए ।
यस्तै, माओवादीका महादेव खनालले २ हजार ६५१ र नयाँ शक्तिका ज्ञानप्रसाद भुर्तेलले ४६९ मत ल्याएका थिए । साथै, उपप्रमुख पदमा एमालेकी जागेश्वदेवी चौधरीले २२ हजार ७१ मत ल्याएर विजयी भएकी थिइन् भने राष्ट्रिय जनमुक्तिकी गीता सारुले १८ हजार ७८४, माओवादीकी राधिका आचार्य शर्माले २ हजार ८५५ मत पाएकी थिइन् ।
सिद्धार्थनगर नगरपालिका : एमालेकी उपप्रमुख नेकपा एसमा
सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा एमालेका हरिप्रसाद अधिकारीले ६ हजार ७०५ मत ल्याई निर्वाचित भएका थिए । त्यस्तै, नेपाली काँग्रेसका मातृकाप्रसाद यादवले ५ हजार २५०, राप्रपाका सागरप्रताप राणाले ४ हजार ६३७ र माओवादीका फैज अहमद खाँले ३ हजार ४०७ मत ल्याएका थिए ।
यस्तै उपप्रमुखमा एमालेकी उमा काफ्ले ६ हजार १७२ मत ल्याई निर्वाचित भएकी थिइन् । नेपाली काँगे्रसकी माधवी शर्मा वाग्लेले ५ हजार २२४ र माओवादीकी कमला थापाले ३ हजार १२९ मत ल्याएकी थिइन् । यो नगरमा विगतमा राप्रपाको सागरप्रताप राणाले जितेका थिए । एमालेबाट उपप्रमुख बनेकी उमा काफ्ले अहिले एमाले छाडेर नेकपा एसतिर लागेका छिन् । त्यसैले अव यहाँ कसले जित्छ, धेरैको चासो छ ।
काँग्रेसको अस्तित्व जोगाउने देवदह नगरपालिका
देवदह नगरपालिकामा नेपाली काँग्रेसका हिराबहादुर खत्री १० हजार २११ मत ल्याउँदै नगर प्रमुखमा निर्वाचित भएका थिए । उनका निकट प्रतिस्पर्धी एमालेका टिकाराम जैसी चापागाईँले १० हजार ९९ मत ल्याई झिनो मतान्तरले हारेका थिए । यस्तै उपप्रमुखमा नेकपा एमालेकी विद्यालक्ष्मी गुरुङले १० हजार २७७ मत ल्याएकी थिइन् भने माओवादी केन्द्रका टीका न्यौपानेले ७ हजार १११ मत पाएकी थिइन् । नेपाली काँग्रेसले नगरप्रमुख यहीँबाट मात्र विजेता बनेर रुपन्देही जिल्लाका नगरमा आफ्नो अस्तित्व जोगाएको थियो ।
सैनामैना नगरपालिका : एमालेको गढ
रुपन्देहीको कान्छो नगरपालिका सैनामैना एमालेको गढको रुपमा पनि परिचित छ । एमालेका प्रभावशाली नेता विष्णु पौडेलसँग निकट सम्वन्ध रहेका चित्रबहादुर कार्की १३ हजार ७३ मत ल्याउँदै नगर प्रमुखमा विजयी भएका थिए । उनका निकट प्रतिस्पर्धी नेपाली काँग्रेसका फणिन्द्रप्रसाद शर्माले १० हजार ३०५ मत पाएका थिए भने माओवादी केन्द्रका चेत नारायण न्यौपानेले २ हजार ४१७ मत ल्याएका थिए । यस्तै उपप्रमुखमा एमालेकी बिना रानाले १३ हजार २६१ मत ल्याउँदा नेपाली काँग्रेसकी लक्ष्मी चौधरी थारुले ९ हजार ७०९ मत र माओवादी केन्द्रकी दीपिका शर्माले २ हजार ३५७ मत ल्याएकी थिइन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका : मिश्रित परिणाम
लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्वतन्त्र उम्मेदवार मनमोहन चौधरीले ८ हजार १७१ मत ल्याएर प्रमुखमा निर्वाचित भएका थिए । यस्तै उनका निकट प्रतिस्पर्धी संघीय समाजवादीका फकरुद्दीन खानले ७ हजार ३९ मत ल्याएका थिए भने मधेशी जनअधिकार फोरम नेपालका सजरुद्दीन मुसलमानले ३ हजार ५७५ मत ल्याएका थिए । यस्तै उपप्रमुखमा संघीय समाजवादी फोरमकी जानकीदेवी श्रीवास्तवले ४ हजार ७ सय २० मत ल्याई विजयी भएकी थिइन् । नेपाली काँग्रेसकी रमाउती यादवले ४ हजार ५८८ मत र मधेशी जनअधिकार फोरमकी राधेश्वरी बरईले ३ हजार १५९ मत पाएकी थिइन् । विगतमा स्वतन्त्र उम्मेदवार प्रमुखमा निर्वाचित भएको लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी हाल उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा खुलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्क राष्ट्रबिच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छ : सञ्चारमन्त्री गुरुङ
-
रूखले च्यापिएर एकको मृत्यु, दुई जना गम्भीर घाइते
-
जनकपुरधाममा विवाहपञ्चमीको तयारी सुरु
-
सवारी दुर्घटनामा दम्पतीको मृत्यु
-
दुर्गा प्रसाईँ वीर अस्पतालमा भर्ना
-
प्रहरीका २२९ जना वरिष्ठ हवलदार असईमा बढुवा सिफारिस (सूचीसहित)