बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

नारायणघाट–बुटवल सडक खण्डमा धेरै रुख काटिएको खुलासा, छानबिन गर्न संसदीय समितिको निर्देशन

शुक्रबार, २८ माघ २०७८, १६ : ३५
शुक्रबार, २८ माघ २०७८

नारायणघाट–बुटवल सडक खण्डमा डिपीआरमा उल्लेख गरिएको भन्दा बढी रुखहरू काटिएको खुलासा भएको छ । संसदीय समितिले बढी रुख काट्न गलत आँकडा पेश गर्ने र काट्न स्वीकृति दिनेहरूमाथि छानविन गर्न निर्देशन दिएको छ । 
प्रतिनिधि सभा अन्र्तगतको विकास तथा प्रतिनिधि समितिको शुक्रवारको बैठकले नारायणघाट–बुटवल सडक खण्डका दुवै प्याकेजमा डिपिआरमा उल्लेख गरिएभन्दा बढी रुख काट्नेहरूमाथि छानविन गरी प्रतिवेदन पेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । 

आयोजनाको काम नै प्रभावित हुनेगरी गलत आँकडा पेश गरिएको समितिको ठहर छ । निर्देशन दिँदै समिति सभापति कल्याणी कुमारी खड्काले भनिन्, ‘नारायणघाट–बुटवल सडक खण्डका दुवै प्याकेजमा स्वीकृति दिएको डिपिआरमा उल्लेख भएको भन्दा क्रमशः ५७६ प्रतिशत र ४४० प्रतिशत रुखहरू काटिनुपर्ने कारणले आयोजनाको काममा ढिलाई भएको भन्ने तथ्य पेश भएको सन्दर्भमा आयोजनाको काम नै प्रभावित हुनेगरी गलत आँकडा पेश गर्ने र उक्त कार्यलाई स्वीकृत गर्ने पदाधिकारीहरूमाथि १५ दिनभित्र छानविन गरी त्यसको प्रतिवेदन समितिमा उपलब्ध गराउन नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

त्यसैगरी बैठकले छिमेकी राष्ट्रहरूबाट नेपाल प्रवेश गर्ने ठुला मालवाहक सवारी साधनले निर्धारित मापदण्ड र सडकको क्षमता भन्दा बढी मालवस्तुहरु बोके, नबोकेको सम्बन्धमा प्रवेश नाकामै परिक्षण गर्नका लागि नीतिगत व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । 

बैठकले राष्ट्रिय गौरवका आयोजनाहरुलाई निर्धारित समयमा काम सम्पन्न गर्नका लागि भुक्तानी समस्या देखिएकाले भुक्तानी समस्या समाधान हुनेगरी बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । निर्माण सामग्रीहरुको सहज उपलब्धता हुने व्यवस्था मिलाउन पनि समितिको निर्देशन छ । 

समितिले समितिबाट स्थलगत अध्ययन, अवलोकन भ्रमण भई तयार पारिएको नारायणघाट–बुटवल सडकखण्डको स्थलगत अध्ययन, अवलोकन भ्रमण प्रतिवेदन २०७८ र मदन भण्डारी लोकमार्गको स्थलगत अध्ययन भ्रमण प्रतिवेदन २०७८ लाई पारित गर्दै प्रतिवेदनले निर्दिष्ट गरेका विषयमा कार्यान्वयनका लागि सो प्रतिवेदन सरकारका सरोकारवाला मन्त्रालय तथा निकायहरुमा पठाउने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप