शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमसीसीलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउने कोसिस भएको छ : ओली

एमसीसी संसद्‍मा टेबल गरे सभामुखले रोक्न मिल्दैन
शुक्रबार, २८ माघ २०७८, १४ : ५०
शुक्रबार, २८ माघ २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसीलाई भूराजनीतिक द्वन्द्वको विषय बनाउने कोसिस भइरहेको आरोप लगाएका छन् । 

‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमसीसीबारे सत्ता गठबन्धनकै नेताहरूले दिएका विरोधाभासपूर्ण अभिव्यक्तिले विकास परियोजनालाई भू राजनीतिक द्वन्द्वको विषय बनाउने कोसिस गरेको बताएका हुन् । ‘एमसीसका बारेमा दुईवटा नेताले गोप्य वार्ता गर्छन् । पास गर्छौँ भनेर किटानी गर्दै पास गर्ने कुरा लेख्छन् । यता जनतालाई पास गर्नै हुँदैन भनेर उचाल्छन्, भ्रमित पार्छन्’, ओलीले भने, ‘एउटा नेता पक्षमा बोल्छ अर्को विपक्षमा बोल्छ ।’

उनले न्यूनतम साझा कार्यक्रममा समेत एमसीसीबारे उल्लेख नगरेको भन्दै एमसीसीबारे आफूले गठबन्धनलाई प्रश्न गर्दा समेत जवाफ नदिएको बताए । ‘अत्यन्तै गैरजिम्मेवार र दुई जिब्रे चरित्र देखाएर देशलाई गम्भीर सङ्कटमा पुर्‍याउँदैछन्’, ओलीको भनाइ छ । उनले  प्रधानमन्त्रीले एमसीसीलाई पत्र लेख्ने कुरा प्रोटोकलको हिसाबले अनुचित रहेको पनि बताए । ‘कुनै एउटा मन्त्रालय अन्तर्गतको विषयलाई प्रधानमन्त्रीले चिठी लेख्ने कुरा अपमानजनक कुरा हो । अध्यक्षले लेख्ने ? रिपब्लिकन पार्टीकालाई लेखेको भए हुन्थ्यो’ओलीको भनाइ छ । उनले सरकार र गठबन्धनकै कारण देश गम्भीर खेलबाड र गैरजिम्मेवारपनको शिकार भइरहेको भन्दै २४ लाख खोप हराउँदा समेत सरकारले त्यसलाई छानबिन नगरेकोमा आपत्ति जनाए । 

उनले सरकारले एमसीसी संसद्मा टेबल गरे सभामुखले रोक्न नमिल्ने पनि बताए । ‘सभामुखले रोक्न मिल्दैन, अनधिकृत बलमिच्याइँ गरेका छन् सभामुखले । यो गठबन्धनको पदलोलुपता हो । पहिलेको सभामुखले पनि अनधिकृत क्रियाकलाप गरेको हो अहिलेकाले पनि त्यही गरिरहेका छन् । त्यस्तो अनधिकृत क्रियाकलाप गर्ने सभामुखकहाँ कोही मान्छे पुग्छन् भन्दा शरम लाग्छ । सरकार यसप्रति गम्भीर होस भन्न चाहन्छु’, ओलीको आग्रह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप