आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राजदूत नियुक्तिबारे गठबन्धनमा छलफल : क-कसको नाम चर्चामा ?

बिहीबार, २७ माघ २०७८, १७ : २२
बिहीबार, २७ माघ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले राजदूत नियुक्तिका सन्दर्भमा छलफल थालेका छन् । प्रधानमन्त्री देउवाले विहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका हुन् ।

रिक्त राजदूत नियुक्तिका लागि विहान १०ः३० बजेदेखि १०ः३० बजेसम्म छलफल देउवा प्रचण्ड र नेपालबीच छलफल भएको हो । परराष्ट्रमन्त्री नारायण खड्काका स्वकीय सचिव लीला भट्टराईका अनुसार आगामी मन्त्रिपरिषद बैठकबाट राजदूत सिफारिस तयारी भइरहेका छ ।

नेपालका तीनवटा संयुक्त राष्ट्रसंघीय नियोग (न्युयोर्क, जेनेभा र भियना) र ३० देशमा दूतावास छन्। कुल ३० वटा मध्ये हाल १० वटा मुलुकमा मात्र राजदूत छन् । उनीहरु १० जना परराष्ट्र मन्त्रालयका करिअर राजदूत हुन् । बाँकी २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ ।

तीमध्ये केहीमा चार वर्षदेखि राजदूत पद रिक्त छ भने भने केहीमा केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक रुपमा नियुक्ति गरेका राजदूतहरुलाई फिर्ता बोलाएपछि पद रिक्त भएको थियो ।

राजनीतिक कोटाबाट १३ जना र परराष्ट्र सेवाबाट सात जनालाई राजदूत नियुक्ति गर्न लागिएको परराष्ट्रमन्त्रालय स्रोतले जनाएको छ । जसमा चीन, श्रीलंका, दक्षिण कोरिया, म्यानमार, मलेसिया, डेनमार्क, इजिप्ट, ब्राजिल, साउदी अरेबिया, दक्षिण अफ्रिका, बहराइन, इजरायल, स्पेन, ओमान, अस्ट्रेलिया, कतार, बंगलादेश, जापान र भियनामा राजदूत नियुक्तिको तयारी भइरहेको छ । तर सबै देशमा राजदूत नियुक्तिको सम्भावना भने न्युन छ ।

राजदूतका लागि माओवादी नेता लीलामणि पोखरेल र पूर्वराजदूत लीलामणि पौडेल दौडमा छन् ।  यस्तै सभामुख अग्नि सापकोटाका छोरा रूपक सापकोटाको पनि चर्चा छ ।

यस्तै, एकीकृत समाजवादीबाट डा. युवराज संग्रौला, प्रमेश हमाललगायतको नाम चर्चामा छ । यस्तै परराष्ट्र सेवाबाट सहसचिवहरु लोकबहादुर थापा, निर्मलराज काफ्ले, भरतकुमार रेग्मी, हरिश्चन्द्र घिमिरे, तेजबहादुर क्षेत्री, सुशीलकुमार लम्साल, तीर्थराज वाग्ले, डोरनाथ अर्याललगायतको नाम चर्चामा छ।

यसपटक माओवादी, एकीकृत समाजवादी र जसपालाई राजदूतका लागि देश रोज्न प्रधानमन्त्री देउवाले भनेका छन् । यसअघि सरकारले गत कात्तिकमा काँग्रेस निकट तीन जनालाई राजदूतमा बनाएको थियो ।

जसमा भारतका लागि अर्थविद् डा. शंकर शर्मा, अमेरिकाका लागि परराष्ट्र मामिला विज्ञ श्रीधर खत्री र बेलायतका लागि पूर्वपरराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस भएका थिए ।

आचार्यले नियुक्ति पाइसकेका छन् भने शर्मा र खत्री सम्बन्धित मुलुकबाट एग्रिमो (सहमति पत्र) को पर्खाइमा छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप