आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

संकटोन्मुख अर्थतन्त्र : खतराको घण्टी बजाउँदै अधिकांश सूचक

कुन सूचक अवस्था कस्तो ?
बिहीबार, २७ माघ २०७८, १७ : ०२
बिहीबार, २७ माघ २०७८

चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिना अर्थात् वर्षको मध्यावधिमा आइपुग्दा मुलुकको अधिकांश आर्थिक सूचांकहरू ऋणात्मक देखिएका छन् । बजार महँगी बढेको छ भने तीव्र आयातले व्यापार घाटा चुलिएको छ । यता, विदेशी मुद्राको सञ्चिति क्रमशः घट्दै गइरहेको छ । उता विप्रेषण आप्रवाह (रेमिट्यान्स) समेत अनपेक्षित रूपमा घटिरहेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) अधिकतम ५.५ प्रतिशतले घटेर ४६८ अर्ब रुपैयाँमा झरेको छ । अझ यो भन्दा पनि डरलाग्दो तथ्य ः समीक्षा अवधिमा आयात तीव्र बढेर हालसम्मकै उच्च अर्थात् झण्डै १० खर्ब रुपैयाँ बराबरको विदेशी मालवस्तु आयात भएको छ । 

कुन सूचकको के छ अवस्था ?
हाल अर्थतन्त्रको वास्तविक अवस्थाबारे जानकारी दिन हामीले यहाँ अघिल्लो आर्थिक वर्षको ६ महिनाको तथ्याङ्कलाई पछिल्लो अवधिको तथ्याङ्कसँग भिडाएर विश्लेषण गरेका छौं । शेरबहादुर देउवा नेतृत्वको सरकार आइसकेपछि मुलुकको आर्थिक अवस्थामा सुधार या बिगार के भयो भन्ने जानकारी तलको अङ्क तालिका हेर्दा पत्ता लाग्छः

आयात/निर्यात

समीक्षा अवधिमा आयात परिमाण निकै बढेको छ । चालू आर्थिक वर्षको ६ महिनामै झण्डै १० खर्ब रुपैयाँ बराबरको मालवस्तु आयात भएको राष्ट्र बैंकले जानकारी दिएको छ । साउनदेखि पुस मसान्तसम्ममा मात्र नेपालल कूल नौ खर्ब ९९ अर्ब ३४ करोड रुपैयाँ बराबरको मालवस्तु आयात गरिसकेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा अधिकतम ५१.१ प्रतिशत बढी हो । गत वर्ष नेपालले ६ खर्ब ६१ अर्ब २५ करोड रुपैयाँ बराबरको मात्र मालवस्तु आयात भएको थियो । 

यद्यपि, समीक्षा अवधिमा निर्याततर्फ पनि राम्रै सुधार भएको देखिन्छ । अघिल्लो वर्षको ६ महिनामा जम्मा ६० अर्ब ८० करोड रुपैयाँ बराबरको मात्र मालवस्तु निर्यात गरेको नेपालले यस वर्ष अधिकतम ९५.५ प्रतिशतले वृद्धि गर्दै कूल एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको निर्यात गर्न सफल भएको छ । तर, देशबाट सवा खर्बको निर्यात हुँदैगर्दा विदेशबाट १० खर्ब रुपैयाँ बराबरको आयात हुनुले वैदेशिक व्यापार असन्तुलन झनै बढाएको छ ।

शोधनान्तर स्थिति २४१ अर्ब माइनसमा

समीक्षा अवधिमा मुलुकको शोधनान्तर स्थिति २४१ अर्ब २३ करोड रुपैयाँ घाटामा देखिन्छ । यस्तो स्थिति अघिल्लो वर्षको सोही अवधिमा १२४ अर्ब ९२ करोड रुपैयाँले बचतमा थियो । यस्तै, गत वर्ष जम्ममा ५१ अर्ब ६८ करोडमा मात्र रहेको चालू खाता घाटा यस वर्ष बढेर ३५४ अर्ब सात करोड रुपैयाँ पुगेको छ । 

विदेशी मुद्रा सञ्चिति १६.७ प्रतिशतले कमी
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको असार मसान्तसम्म कायम भएको विदेशी मुद्राको सञ्चितिमा १६.७ प्रतिशतले कमी आइ पुस मसान्तसम्म ११ खर्ब ६४ अर्ब ८० करोडमा सीमित भएको छ । यस्तो सञ्चिति अमेरिकी डलरमा नौ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ । उक्त सिञ्चितिले अहिलेकै दरमा आयात भए ७.२ महिनाको वस्तु आयात गर्न र ६.६ महिनाका लागि मात्र वस्तु तथा सेवा गर्न पुग्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
यस्तो सञ्चिति अघिल्लो वर्षको सोही समयमा १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो । जसले तत्कालीन अवस्थामा अधिकतम १३.९ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त थियो ।

विप्रेषण आप्रवाह ५.५ प्रतिशतले ऋणात्मक
समीक्षा अवधिमा वैदेशिक रोजगारी, पर्यटन तथा विविध स्रोतबाट भित्रिने विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा समेत निकै कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस्तो विप्रेषण अघिल्लो वर्षको तुलनामा यस वर्ष ५.५ प्रतिशत घटेको हो । 
बैंकका अनुसार अघिल्लो वर्षको ६ महिनामा चार खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकामा यस वर्ष ५.५ प्रतिशतले कमी आइ चार खर्ब ६४ अर्ब ४५ करोड रुपैयाँमात्र भित्रिएको छ । यसले थप चुनौती थपेको छ ।

बजार महँगी ५.६५ प्रतिशत वृद्धि
तुलनात्मक रूपमा यस वर्षको पहिलो ६ महिनामा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति (बजार महँगी) वार्षिक विन्दुगत आधारमा अघिल्लो वर्षभन्दा २.९ प्रतिशतले बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको ६ महिनामा जम्मा ३.५६ प्रतिशतमात्र रहेको मुद्रास्फीति यस वर्ष २.९ प्रतिशतले बढेर ५.६५ प्रतिशत पुगेको हो । बैंकका अनुसार समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.२३ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष घ्यू तथा तेल, यातायात, मदिराजन्य पेय पदार्थ, सुर्तीजन्य वस्तु र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २१.२२ प्रतिशत, १४.०७ प्रतिशत, ११.३७ प्रतिशत, १०.४८ प्रतिशत र ९.२२ प्रतिशत रहेको बैंकको तथ्याङ्कले देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप