आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री ढकाल र प्रदेश युवा परिषद्का उपाध्यक्ष चौलागाईंबीच खटपट

बिहीबार, २७ माघ २०७८, १५ : ४२
बिहीबार, २७ माघ २०७८

 बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल र प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं बीच खटपट सुरु भएको छ । फरक राजनीतिक पार्टीमा आवद्ध मन्त्री ढकाल र उपाध्यक्ष चौलागाईंबीच विगत केही दिनदेखि खटपट सुरु भएको हो ।

मन्त्री ढकालले युवा परिषद् उपाध्यक्ष नियुक्त भएदेखि हालसम्म के के काम गरियो, काम प्रभावकारी नभएको र उपलब्धी विहिन भएको भन्दै उपाध्यक्ष चौलागाईंलाई पत्र काटेपछि टसल सुरु भएको हो ।

युवा तथा खेलकुद मन्त्रालयमा करिब ११ करोड मात्र बजेट रहेको छ । रकामान्तर गरेर बजेट थपिने बताएपनि करिब ५ करोड रुपैयाँ बजेट रहेको युवा परिषद्मा नयाँ उपाध्यक्ष नियुक्त गर्न चौलागाईं बाधक देखिएपछि उनीहरुबीच आन्तरिक द्वन्द्व बढेको हो ।

मन्त्री नियुक्त भएको २ महिना नबित्दै ढकालले उपाध्यक्ष चौलागाईंलाई स्पष्टिकरण सोध्दै दुई पटक पत्र काटिसकेका छन् ।  उपाध्यक्ष चौलागाईंले पनि सोधिएको स्पष्टिकरणका बारेमा लिखित रुपमा जवाफ पनि दिएका छन् ।

उपाध्यक्ष चौलागाईंले नियोजित रुपमा आफूलाई हटाउन मन्त्री ढकालले राजनीतिक प्रतिशोध सोधेको आरोप समेत लगाए । उनले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै आफूलाई र कर्मचारीलाई मानसिक रुपमा काम गर्न हतोत्साहित बनाउने काम मन्त्री ढकालले गरिरहेको र नियोजित रुपमा आफूलाई पदबाट हटाउन राजनीतिक प्रतिशोध सोधेको आरोप लगाएका हुन् ।

‘मलाई हटाउनको लागि राजनीतिक प्रतिशोधका आधारमा मन्त्रीस्तरीय निर्णय भन्दै स्पष्टिकरण सोधिएको छ । म चार वर्षका लागि उपाध्यक्षमा नियुक्त भएको र स्पष्टिकरणमा सोधिएको राजनीतिक र कानुनी प्रश्नहरुको सोही अनुसार जवाफ दिएको छु’, उनले भने ।

मन्त्री ढकालको दूषित मानसिकताका कारण आफूलाई बर्खास्त गर्ने काम भइरहेको उपाध्यक्ष चौलागाईंको आरोप छ । सरकारले एक हप्ताभित्र मन्त्रीस्तरबाट र मन्त्रिपरिषद्को वैठकबाट भएको राजनीतिक नियुक्त खारेज गर्ने तयारी गरेको छ । हाल राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा रहेका ढकाल माओवादीका तर्फबाट मन्त्री नियुक्त भएका हुन् ।

उपाध्यक्ष चौलागाईंलाई डोरमणि पौडेल नेतृत्वको सरकारले गत असार १ गते नियुक्ती गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप