कहिले बन्ला माओवादी शक्तिशाली ?
२०७४ सालमा देउवा–प्रचण्ड गठबन्धनको सरकारले स्थानीय निकायको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरेको थियो । गठबन्धन नै गरेर आलोपालो गरी एकै किसिमको (स्थानीय) निर्वाचन गणतन्त्र पश्चात पहिलो पटक दुईवटा सरकारबाट भएको त्यो पहिलो घटना थियो ।
स्थानीय निर्वाचन लगत्तै टुटेको देउवा–प्रचण्ड गठबन्धन निर्वाचन सम्पन्न भएको पाँच वर्ष पुग्नै लाग्दा समयले फेरि दुबैलाई एकै ठाउँ र गठबन्धनमा ल्याइदिएको छ । स्थायी सरकारको परिकल्पना गरेर एमालेसँग चुनावी तालमेलपछि पार्टी नै एकता गरेका प्रचण्ड ओलीको राजनीतिक बेइमानी र छलछामबाट पुनः बाहिरिएर देउवासँगको सत्ता गठबन्धनमा आइपुगे ।
नेपाली राजनीतिमा चतुर खेलाडी मानिएका प्रचण्ड कुनै समय चतुर्याई गरेर जित्छन् त कहिले पछि पर्छन् । यसपटक भने उनले आफ्नो चतुर्याईलाई शक्तिमा बदल्न सकेनन् । फलस्वरुप ओली सँगको टकरावको कारण उनी पछि परे र नेकपा तीन टुक्रामा विभाजित भयो । संविधान सभाबाट संविधान जारी भएर २०७४ सालमा निर्वाचन हुँदै गर्दा प्रचण्डको चतुर्याईले काँग्रेस–माओवादीको सत्ता गठबन्धन मात्र ढलेन, एमालेलाई पहिलो पार्टीको रुपमा समेत स्थापित गराइदिएको थियो ।
आफै सरकारको नेतृत्व गर्न मरिहत्ते नगर्ने तर अरुलाई पटक पटक सरकारको नेतृत्वमा पुर्याइदिने मियो बनेर २०६४ पछि हर समय प्रचण्ड अरुको सत्ताको भर्याङ बनिरहे । एमाले–माओवादी पार्टी एकता भएर अघि बढेसँगै पार्टीमा विवाद आएर विभाजित नभएको भए सायद आज नेकपाको सम्पूर्ण शक्ति प्रचण्डको हातमा रहन्थ्यो । र, माओवादी आन्दोलनबाट स्थापित अन्य परिवर्तन र एजेण्डाहरु संस्थागत हुन्थे ।
राजनीतिलाई सम्भावनाहरूको खेल हो भन्दै हर समस्यासँग पैठेजोरी खेल्दै तरवारको धारमाथिको यात्रा गरेरै भए पनि देश र जनताको लागि अघि बढ्ने क्षमता भएकै कारण आज प्रचण्डको वरपर देशको राजनीतिक माहोल घुमिरहेको छ । दस बर्षे जनयुद्ध, जनआन्दोलन हुँदै आजसम्म आईपुग्दा जे जति परिवर्तन संस्थागत भएका छन्, प्रचण्ड र माओवादी पार्टीकै कारण भएका छन् ।
ऐतिहासिक राजनीतिक घटनाक्रम सम्झिँदा नेपालबाट राणा शासन हटाउनमा काँग्रेसको देन छ । त्यसपछि राजतन्त्र हटाउन माओवादीले कठोर संघर्ष गरेको इतिहास साक्षी छ । देश र जनताको लागि आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम गरिरहँदा पनि आज प्रचण्ड र माओवादी आन्दोलन विरुद्ध घेराबन्दी गर्न छाडिएको छैन । कहिले द्वन्द्वकालीन मुद्दा त कहिले समसामयिक बिषयमा अनावश्यक हल्ला फिँजाएर आज पनि प्रचण्डविरुद्द प्रत्येक दिनजस्तो हमला भैरहेको छ । त्यो समग्र स्थिति हेर्दा लाग्छ, यदि प्रचण्ड र माओवादी थिएनन् भने आज माओवादी विरुद्द विषवमन गर्नेहरुको राजनीतिक रोटी सेक्ने ठाउँ नै हुन्थेन । तिनीहरुले राजनीतिमा स्थापित हुने आधार भेट्ने थिएनन् ।
विशेष गरी २०६८ सालपछि माओवादी पार्टी विभाजित हुँदै कमजोर बन्दै गयो । आज त्यसैको फाईदा अन्य दलले उठाइरहेका छन् । माओवादी आन्दोलनबाट स्थापित र संस्थागत भएका एजेण्डा र ब्यवस्थालाई स्वीकार गर्दै पदमा रमाउने तर सोही ब्यवस्थाको लागि लड्ने माओवादी पार्टीलाई अस्वीकार र घृणा गर्ने परिपाटी आज मौलाइरहेको छ ।
संसदीय अंक गणितमा कमजोर बनेसँगै पार्टी पुनर्गठन र संगठन सुदृढीकरण माओवादीभित्र अबको आवश्यकता हो । १० बर्ष सँगै युद्धमा होमिएकाहरु पार्टी नै अलग गरेर एक अर्का नेता कार्यकर्ताहरु कतै भेट्दा पनि मुन्टो बटारेर हिँड्दै गर्दा माओवादीले स्थापित गरेका परिवर्तन त रहन्छन् तर स्वयम् हिजोका माओवादीहरुको अस्तित्व संकटमा पर्छ ।
परिवर्तनको लागि ज्यानको प्रवाह नगरी युद्धमा होमिएका कमरेडहरूको मन शान्ति प्रक्रियामा आएसँगै आज किन परिवर्तन भयो ? हिजो तरवारको धारमाथिको यात्रा गर्दा बाँधिएको मन आज किन फुक्यो ? माओवादीहरुले सोच्नुपर्ने समय आएको छ । हिजोको संसदको शक्तिशाली पार्टी आज कसरी कमजोर हुन पुग्यो, यी सब घटनाक्रमका दोषी को को हुन् ? २०६८ सालमा वैद्य बाहिरिए, २०७२ सालपछि बाबुराम बाहिरिए । २०७८ सालमा आएर बादलहरुले माओवादी छाडे । यी सबैले पार्टी छाड्नुको मूल कारण के हो ? अब निर्मम रुपमा समीक्षा हुन जरुरी छ ।
साउनमा आँखा फुटेको गोरुले बाह्रैमास हरियो देखेझंै जहिले पनि क्रान्तिमात्र देख्ने आँखाको चस्मा नफेरेकै कारण वैद्यहरूले पार्टी छाडे । अर्का नेता डा बाबुराम भट्टराईले नयाँ शक्तिको हुटहुट लागेर पार्टी छाडे । जजसले पार्टी विभाजन गरे या छाडे तिनीहरु अहिले शक्तिशाली होइन, कमजोर भएर बसेका छन् ।
कुनै समय काँग्रेस विभाजन भयो, एमाले पनि विभाजन भएकै हो । तर उनीहरु हार ब्यहोरेपछि पुनः एकीकृत भए । तर, विभाजनको श्रृङ्खला सुरु भएको १० बर्ष पुग्दा र पूर्व माओवादीहरु कमजोर अवस्थामा आउँदा पनि उनीहरु किन मिल्न सक्दैनन्, यसको रहस्य के होला ?
पहिलो संविधानसभाको निर्वाचनपछि नै पार्टीलाई विभाजनबाट जोगाएर साङ्गठानिक संरचनालाई हेरफेर गरी अघि बढेको भए सायद अहिले माओवादी तेस्रो शक्तिमा खुम्चिनु पर्दैन थियो । अब पनि सङ्गठनमा ध्यान दिइएन भने माओवादीको अवसान कसैले रोकेर रोक्न सक्ने छैन । तसर्थ बेला बेलामा चल्ने गरेको पूर्व माओवादी शक्तिबीच एकता हुन लागेको हल्लालाई यथार्थमा परिणत गर्न ठूलो पार्टीको अध्यक्षको हैसियतले प्रचण्डले सबैलाई आह्वान गरी मध्यमार्गी समाधानको प्रयासबाट पूर्व माओवादीहरुबीच एकताको पहल थाल्नुको विकल्प छैन ।