आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश सरकारले २६ अस्पतालका अध्यक्ष हटाउँदै

बिहीबार, २७ माघ २०७८, १५ : १६
बिहीबार, २७ माघ २०७८

बागमती प्रदेश सरकारले २६ वटा अस्पतालका अध्यक्षहरूलाई हटाउने तयारी गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गतका सबै अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू हटाइने तयारी अगाडि बढेको हो । गत माघ १८ गते बसेको बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको बैठकले प्रदेश सरकार अन्तर्गतको २६ वटै अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू हटाउने निर्णय गरेको थियो । 

बागमती प्रदेशअन्तर्गत १३ वटा अस्पताल र १३ वटा आयुर्वेद अस्पताल गरी २६ वटा स्वास्थ्य संस्था रहेका छन् । ती स्वास्थ्य संस्था तथा अस्पतालहरुमा अघिल्ला सरकारले गरेका राजनीतिक नियुक्तिलाई गर्दै अस्पताल व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेको थियो । ती नियुक्तिहरु खारेज गर्ने वर्तमान सरकारको तयारी रहेको छ ।

बागमती प्रदेशका स्वास्थ्य सचिव बद्रीबहादुर खड्काले मन्त्रीस्तरीय निर्णयबाट प्रदेशअन्तर्गतका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हटाउने निर्णय भएको जानकारी दिए । ‘मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट प्रदेश सरकार मातहत रहेका सबै अस्पतालका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हटाउने निर्णय भएको छ,’ सचिव खडकाले भने ।

मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै प्रदेश अन्तर्गतका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हटाउने तयारी स्वरुप सबै अध्यक्षहरूलाई स्पष्टीकरण सोधेको छ ।

यस अघिको सरकारले गरेका राजनीति नियुक्तिहरु खारेज गर्ने अन्तिम तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । ‘हामी सबै अस्पतालको अध्यक्षको नियुक्ति खारेज गर्ने अन्तिम तयारीमा छौ । प्रक्रिया लगभग सकिएको छ । अब नियुक्ती खारेज गर्न मात्र बाँकी छ । राजीनामा दिएर सहज बाटो बनाउनु हुन्छ कि भनेर कुरेको हो हाल त्यस्तो अवस्था देखिएको छैन । अब केही दिन भित्रै ती नियुक्ति खारेज हुन्छ,’, मन्त्रालय स्रोतको भनाइ छ ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले प्रदेश क्याबिनेटबाटै पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्ने निर्णय भएको बताए । ‘अस्पतालका अध्यक्षहरू पनि राजनीतिक नियुक्तिहरु हुन्, नयाँ सरकार बनेपछि स्वभाविक रुपमा ति नियुक्तिहरु खारेज हुन्छन्, खारेज गर्ने प्रक्रिया चलिरहेको छ ।’ उनले भने ।

यसअघि ती अस्पतालहरुमा नेकपा एमाले र माओवादी केन्द्र निकट व्यक्तिहरु अध्यक्ष रहेका थिए । सरकार परिवर्तनसँगै वर्तमान सरकारको आँखा त्यसतर्फ गएको हो । वर्तमान सरकारले ती अध्यक्षहरूलाई हटाएर नयाँ अध्यक्षहरू नियुक्त गर्ने तयारी गरेको छ । नयाँ अध्यक्ष नियुक्तिको लागि भने तत्काल कुनैपनि पहलहरू नभएको जनाइएको छ ।

मन्त्री लामाले गठबन्धनमा आवद्ध दलहरुबाट नयाँ अध्यक्ष नियुक्त गर्ने तयारी गरेका छन् । हाल गठबन्धनमा रहेका माओवादी केन्द्र र समाजवादी दललाई पनि केही स्थानमा अध्यक्ष दिने तयारी भइरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप