सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरका मेयर भन्छन्– काँग्रेस एक्लै लड्नुपर्छ, उपमेयर भन्छिन्– एमालेले एक्लै जित्छ

बिहीबार, २७ माघ २०७८, १४ : ०६
बिहीबार, २७ माघ २०७८

संघ र प्रदेशमा गठबन्धन सरकार चले पनि स्थानीय तहमा नेपाली काँग्रेसले एक्लै लड्नुपर्ने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका मेयरको सुझाव छ । स्थानीय तहमा गठबन्धन बनाइराख्न आवश्यक नरहेको उनको तर्क छ ।

नेपाली काँग्रेसका नेतासमेत रहेका वीरेन्द्रनगरका मेयर देवकुमार सुवेदीले रातोपाटीसँग भने, ‘प्रदेश र संघमा गठबन्धन बन्यो भन्दैमा स्थानीय तहमा गर्नुहुँदैन भन्ने मेरो व्यक्तिगत धारणा हो ।’

सुर्खेतको वीरेन्द्रनगरमा काँग्रेसले एक्लै चुनाव जित्ने सुवेदीले दाबीसमेत गरे । पार्टीले जिम्मेवारी दिए आफू मेयरमा दोहोरिन इच्छुक रहेको उनले संकेत गरे ।

उता नेकपा एमालेबाट वीरेन्द्रनगरको उपमेयरमा निर्वाचत एमालेकी केन्द्रीय सदस्य मोहनमाया ढकालले भने वीरेन्द्रनगरमा आगामी चुनाब एमाले एक्लैले जित्ने दाबी गरिन् ।

प्रस्तुत छ, पाँच वर्षमा मेयर र उपमेयरले गरेका काम र आगामी चाहनाबारे रातोपाटीकर्मी पंखबहादुर शाहीले गरेको संक्षिप्त कुराकानी–   

‘स्थानीय तहमा गठबन्धन गर्नुहुँदैन, काँग्रेसले एक्लै जित्छ’

–नगरप्रमुख देवकुमार सुवेदी, नेपाली काँग्रेस

तपाईले मेयर भएर पाँच वर्षमा के के काम गर्नुभयो ?

मेयरमा निर्वाचित भइसकेपछि खासमा पहिलो सरकार भएकाले यसलाई संस्थागत विकासका निम्ति, प्रशासनिक संरचनादेखि लिएर वडातहको सेवा प्रवाहको हिसाबले सकारात्मक रह्यो । सेवा प्रवाहमा सकरात्मक बनेका छौं । पूर्वाधारका हिसाबले यहाँका सडकहरू केही निर्माण भइसके त केही हुँदैछन् । मुख्य बजार क्षेत्रको विद्युतलाई व्यवस्थित गर्ने कामहरु भएका छन् । यसका अलवा यो नगरपालिकालाई ‘आइटी (सुचना, प्रविधि) मा सहज नगरपालिकाका रुपमा अघि बढाएका छौं ।

प्रदेशको राजधानी भएकाले हरियाली प्रवद्र्धन गर्नका लागि झण्डै  पाँच हजार बिरुवा लगाएका मात्र छैनौं कि जोगाएका पनि छौं । शिक्षाको हकमा हामी निर्वाचित भइरहँदा कतिपय क्षेत्रमा माध्यमिक र प्राविधिक विद्यालय थिएनन्, अहिले माध्यमिक र प्राविधिक विद्यालय सञ्चालनमा छन् ।  १५ र १६ वडामा हामीले विद्युतीकरण गर्न सफल भयौं ।

राजधानीको फोहोर व्यवस्थापनको निम्ति हामीले प्रदेश सरकारसँग मिलेर वायोग्यास प्लान्ट स्थापनाको तयारी गरिरहेका छौं । थुप्रै आन्तरिक बाटोहरु निर्माण गरेका छौं । यी सबै कामबाट सन्तुष्ट बनिएको छ भन्ने त होइन । अझै भेरीको पानी ‘लिफ्टिङ’ मार्फत वीरेन्द्रनगरमा पानी ल्यााउने कामका लागि विश्व बैंकसँग सम्झौता हुने प्रक्रिया अघि बढेका छन् । यी सुरुवाती मात्र हुन् ।

अब मेयरमा दोहोरिने ईच्छा छ कि छैन ?

वास्तवमा बहुदलीय प्रणालीमा ईच्छा व्यक्त गर्ने कुरा भन्दा पनि पार्टीले जिम्मेवारी दियो र जिम्मेवारी सुम्पियो भने परिस्थिति एउटा हो । व्यक्तिको इच्छाले भन्दा मेयर बन्ने कुरामा मलाई धेरै ठूलो लाग्दैन । पार्टीले मेरो काम र मेरो कार्यकाललाई कसरी मूल्याङ्कन गर्छ, त्यसपछि मात्रै मैले पुनः मेयरका लागि चुनाव लड्ने/नलड्ने कुरा रहन्छ । म लड्छु भन्ने विषय पनि होइन । खासगरी पार्टी पद्दतिमा रहेको हुँदा पार्टीले भोलि के जिम्मेवारी दिन्छ, त्यसैगरी अघि बढिन्छ ।

अहिलेसम्म मेरै कार्यकालमा विभिन्न कामहरु सुरुवात भएका छन् । म मेयरमा दोहोरिएँ भने सुरुवात भएका कामहरूलाई सफलतापूर्वक अघि बढाउन सकिन्थ्यो । पार्टीले नै यसरी सोचेर मलाई नै जिम्मेवारी दियो भने त नहुने भन्ने कुरै हुन्न । पार्टीको जिम्मेवारीलाई मान्नैपर्छ ।

यसपालि गठबन्धन बन्छ कि काँग्रेस एक्लै लड्छ ?

मेरो व्यक्तिगत विचारले भन्दा स्थानीय तहमा गठबन्धन बन्नुपर्छ भन्ने पक्षमा छैन । तर, पार्टी पद्धतिको कुरा हो । अहिले संघ र प्रदेशमा गठबन्धन सरकार चलाएर बसेका छौं । त्यसले गर्दा केन्द्रीय नेतृत्वले त्यसैलाई निरन्तरता दियो भने त्यो अर्को विषय भयो । सुझावका हिसाबले प्रदेश र संघमा गठबन्धन बन्यो भन्दैमा स्थानीय तहमा गर्नुहुँदैन भन्ने मेरो व्यक्तिगत धारणा हो ।

वीरेन्द्रनगरमा काँग्रेसले एक्लै जित्छ त ? पार्टीभित्रको गुटगत खेतीले प्रभाव पार्छ कि ?

होइन, वीरेन्द्रनगरमा त काँग्रेसले एक्लै लडे पनि जितिहाल्छ नि । यसमा त किन गठबन्धन चाहियो र ? काँग्रेसको जिल्ला कार्यसमितिको सचिवका हिसाबले मैले भन्नुपर्दा पार्टीको आन्तरिक चुनावलाई बिर्सिएर यहाँ भित्रका सबै ‘राइट म्यान, राइट प्लेस’ का हिसाबले अघि बढ्नुपर्छ । यो वातावरण पनि हाम्रो तहबाट सिर्जना हुन्छ ।

सबै काँग्रेसी साथीहरु आगामी निर्वाचनमा एक भएर प्रस्तुत  हुनुपर्छ भन्ने मैले विश्वास लिएको छु । त्यो आधारमा वीरेन्द्रनगरमा काँग्रेसले आफ्नो वर्चश्व स्वतः जमाउँछ नै ।

‘बीरेन्द्रनगरमा एमालेले एक्लै जित्छ’

उपमेयर मोहनमाया ढकाल (भण्डारी), नेकपा एमाले

तपाईले उपमेयर भएर पाँच केके काम गर्नुभयो ?

हामीले संघीयताको पहिलो अभ्यास गर्दै–गर्दा सकेको धेरै गर्ने प्रयास ग¥यौं । ‘शैक्षिक प्रशासन र पर्यटकीय सहर, स्वच्छ, स्वस्थ समुन्नत वीरेन्द्रनगर’ भन्ने नाराका साथ हामी पूर्वाधारका क्षेत्रमा सामुदायिक विद्यालयका भौतिक संरचना निर्माण, शिक्षाको गुणस्तर, सडक निर्माणजस्ता कामहरूलाई प्राथमिकतामा राखेर अघि बढेका छौं ।

उपप्रमुखलाई न्यायिक क्षेत्रको जिम्मेवारी दिइएकाले यो क्षेत्रमा सक्दो काम गरेका छौं । जतिसक्दो जनतालाई स्थानीय सरकारले दिनुपर्ने, आफ्नो कार्यक्षेत्रभित्र रहेर दिनुपर्ने अधिकारको प्रत्याभूति दिलाउने प्रयास गरेकी छु । प्रदेश राजधानी भएकाले यहाँभित्रको सौन्दर्यता, पर्यटकीय क्षेत्रको विकासमा पनि सुधारात्मक विकास भएको छ । साविकको वीरेन्द्रनगरका ‘प्लानिङ’ एरियाभित्रका सडकहरूको विकास भइरहेको छ ।

स्वास्थ्यका क्षेत्रमा पनि निकै सुधार आएको छ । महिलाका क्षेत्रमा महिलाका लागि निःशुल्क सेनेटरी प्याडको व्यवस्था, महिला स्वरोजगार कार्यक्रम, गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क भिडियो एक्स रे लगायतका कार्यक्रमहरु अहिले प्रभावकारी बन्दै गएका छन् । यी सुरुवात मात्र हुन्, मूर्तरुप दिनका लागि त समय लाग्छ नै ।

अब तपाई एमालेबाट मेयरको दाबेदार हो ?

अब उपमेयर भएर काम गरिसकेपछि प्रमुख हुने चाहना त हुन्छ नै । तर, पार्टीसँगको समन्वय र पार्टी नै प्रमुख भएकाले पार्टीले त्यो खालको वातावरण सिर्जना गरे त भैहालिएला नि । तर, अहिले नै यस्तो उस्तो भन्ने समय त भएको छैन । समय आएपछि थाहा भैहाल्छ नि । अहिले नै छलफल त भएको छैन । यसअघिको अनुभवले थप जिम्मेवारी भएपछि गर्न सकिन्छ भन्ने मेरो दाबी छ ।

एमालेले वीरेन्द्रनगरमा एक्लै जित्ला त ?

वीरेन्द्रनगर नगरपालिकामा त एमाले जित्छ नै । यसमा हामी ढुक्क छौं । हामीले ०७४ को स्थानीय तहको निर्वाचन सिङ्गल नै लडेको हो । अहिले पनि काँग्रेस, माओवादी, एस पार्टीको गठबन्धन छ । त्यसमा भोट प्याट्रन हेर्दाखेरि हाम्रो जुनखालको मजबुद संगठन छ । त्यसले गर्दा चुनाव जितिन्छ भन्ने लाग्छ ।

एमाले विभाजनको असर हामीलाई पर्दैन । तीनवटा वडाअध्यक्षज्यूहरु एकीकृत समाजवादीमा लाग्नुभएको छ । तर, सदस्यहरु हामीसँगै हुनुहुन्छ । वडा कमिटीहरु निकै सक्रिय भएर लागिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप