छोराले मरणासन्न हुने गरी कुटपिट गरेपछि ७३ वर्षीया वृद्धाको उद्धार

घरेलु हिंसामा परेकी तनहुँको भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ वर्षीया मीनाकुमारी गन्धर्वको मानवअधिकार समूहको पहलमा उद्धार गरी उपचार थालिएको छ । छोरा विक्रम गन्धर्वले मङ्गलबार साँझ घरमै मरणासन्न हुनेगरी कुटपिट गरेपछि इन्सेक अभियानसँग आबद्ध मानवअधिकार समूहकी सदस्य तुलसी गैह्रेको पहलमा वृद्धाको उद्धार गरी उपचार थालिएको हो ।
गैह्रेले नै ती वृद्धालाई उद्धार गरी बुधबार स्वास्थ्यचौकी पु¥याएका छन् । गैह्रेसहितका स्थानीय बासिन्दाले बुधबार इलाका प्रहरी कार्यालय नारेश्वरटारमा गई कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै उजुरीसमेत दिएका छन् । प्रहरीले आमालाई कुटपिट गर्ने छोरालाई पक्राउ गरी दैनिकी हाजिरीमा रिहा गरेको छ । पीडितको टाउको, ढाँड र खुट्टामा चोट लागेको छ । भानु आधारभूत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले घाइतेको उपचार गरेका छन् ।
आमालाई निर्घात कुटपिट गर्ने विक्रमलाई कारवाहीको माग गर्दै वडा नं १ की वडा सदस्य मिठु गन्धर्व, मानवअधिकार समूहकी सदस्य तुलसी गैह्रेलगायतले इलाका प्रहरी कार्यालय नारेश्वरटारमा उजुरी दिएका छन् । प्रहरीले भने विक्रम छारे रोगी भएको भन्दै दैनिक तारेखमा आउने गरी रिहा गरेको छ । इलाका प्रहरी कार्यालय भानुका प्रमुख प्रकाश भुसालले छारे रोगी भएका कारण हिरासतमा राख्न समस्या भएकाले दैनिक तारेखमा राखिएको बताए।
यसैबीच घाइते वृद्धाको थप उपचारका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तर्फबाट रु पाँच हजार उपलब्ध गराइएको छ । इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले भानु आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर घाइते वृद्धालाई उक्त रकम उपलब्ध गराएका हुन् । सो अवसरमा इन्सेक प्रतिनिधि भट्टराईले घाइतेको अवस्थाका बारेमा जानकारी लिई अभियुक्तलाई कानूनी कारवाहीका बारेमा इलाका प्रहरी कार्यालय भानुका प्रमुख भुसालसँग जानकारीसमेत लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाङ्ग्रा जनकपुरमा ! बुद्ध एयरको जहाज काठमाडौँमा अवतरण पछि ग्राउन्डेड
-
एमडीएमएस प्रकरण: पूर्वअध्यक्षद्वय झा र खनाललाई १३ महिना जेल
-
अवकाश हुनुभन्दा १२ दिनअघि भट्टराईलाई एआईजीको फुली ‘उपहार’
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
-
सरकारी गाडीले ट्राफिकको चेकप्वाइन्ट छल्न खोजेपछि कोटेश्वरमा दुर्घटना
-
ज्ञानेन्द्रलाई ओली, देउवा र प्रचण्डको चुनौती : मूर्खता गरे ठुलो मूल्य चुकाउनुपर्ला