दलित समुदायबाट देश हाँक्ने पहिलो व्यक्ति बन्नु छ : जीवन परियार
नेपाली काँग्रेसका एक प्रभावशाली नेता हुन् जीवन परियार । १४ औँ महाधिवेशनमा सहमहामन्त्रीमा विजयी भएका उनी विद्यार्थी राजनीतिबाट उदाएका हुन् ।
१४ वर्षको उमेरदेखि नेविसंघ मार्फत राजनीतिमा होमिएका उनी २०५५ मा नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघ कास्कीका सचिव भए । त्यसपछि केन्द्रीय प्रचार सचिव, केन्द्रीय सचिव, दुई कार्यकाल केन्द्रीय महामन्त्री भए । नेपाली काँग्रेसको ११ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, १२ औँ महाधिवेशनमा महासमितिको सदस्य हुँदै केन्द्रीय सदस्य निर्वाचित भए । १३ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य बनेका उनी २०७० को दोस्रो संविधान सभामा समानुपातिक तर्फको सांसद भए । त्यो अगाडि २०६६ मा राष्ट्रिय दलित आयोगको २ वर्ष सदस्य सचिव भएर काम गरे ।
परियार राजनीतिमा अहिले पनि जातीय विभेद रहेको बताउँछन् । दलित भएका कारणले अझै कतिपयले अवसर गुमाउनु परेको धारणा राख्ने काँग्रेसका सहमहामन्त्री जीवन परियारको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।
पकाउन रुचि
दाल, भात, तरकारी मेरो मनपर्ने खाना हो । मन नपर्ने केही छैन । माछामासु पनि खान्छु । पछिल्लो दिनमा युरिक एसिडले सताएकोले रातो मासु कम खान थालेको छु । रेस्टुरेन्ट साथीभाइ र परिवारसँग जान्नु । रेष्टुरेन्टमा हट लेमन, मम, चिकेन चिल्ली लगायत मनपर्छ । पकाउन रुचि छ । घरमा खाना पकाउँछु ।
योगा गर्छु
फिट्नेसका लागि नियमित एक्सरसाइज छैन । प्राय: मर्निङवाक गर्छु । केही समय पहिलेसम्म ब्याड्मिन्टन खेल्थे । घरमा योगा पनि गर्छु । एक्सरसाइजका लागि फिटनेस क्लब कहिल्यै गइन । घरमा अहिलेसम्म फिटनेसका सामान त छैन । उमेर बढ्दै जाँदा आवश्यक पर्न सक्ला ।
टोपी किने
सामान्य सर्टपाइन्ट र कोट मैले नियमित प्रयोग गर्ने पोसाक हुन् । क्याजुअल पनि प्रयोग गर्छु । त्यसमा ज्याकेट, ट्रयाक लगायत पर्छ । स्पोर्ट जुत्ता प्रयोग गर्छु ।
विषेश कार्यक्रम, विवाह, पार्टीलगायतमा सर्टपाइन्ट र कोट प्रयोग गर्छु । पहिले सेतो सट मनपर्थ्यो । अहिले विभिन्न कलरका सट प्रयोग गर्छु । सुपरमार्केट, भाटभटेनी लगायतबाट पहिरन किन्ने गरेको छु । टोपी सार्वजनिक कार्यक्रममा जाने बेला कहिलेकाहीँ लगाउँछु । सांसद भएको बेलामा दुई पटक टोपी किने ।
पुस्तक कलेक्सन
अध्ययनमा रुचि छ । सबैभन्दा बढी राजनीतिक विषयवस्तुका पुस्तक पढ्छु । पत्रपत्रिका, अनलाइन धेरै हेर्छु । अन्तर्देशीय सम्बन्धका विषय पनि पढ्छु ।
अहिले साथीभाइबाट प्राप्त स्वदेशकै विभिन्न पुस्तक अध्ययन गरिरहेको छु । त्यसमा उपन्यासदेखि धेरै प्रकारका छन् । घरमा लाइबेरी त छैन । लाइबेरी जस्तै पुस्तकका कलेक्सन छन् ।
केको फुर्सद
परिवारको किचकिच गर्ने विषय यही हो । फुर्सद ननिकालेको भनेर गुनासो गर्छन् । फुर्सद लिन्छु भन्दा पनि राजनीतिक कारणले नपाउने बाध्यता छ । साथीभाइ, कार्यकर्ता र राजनीतिक भेटघाटमा समय बित्छ ।
घुम्न धेरै रुचि
घुमघाममा रुचि छ । नयाँ नयाँ ठाउँ पुग्ने, हेर्ने रहर छ । नेपालकै डोल्पा, हुम्ला, बाजुरा र जाजरकोट अहिलेसम्म पुगेको छैन । विदेशका भने केही देश पुगेको छु । जसमा भारत, चीन, बङ्गलादेश, अमेरिका, कोरिया लगायत छन् । विभिन्न देशको विकासको गति हेर्न मन लाग्छ । युरोप, अस्ट्रेलिया, युके, जापान लगायतका देश जाने इच्छा छ ।
खेलाडी होइन
खेलकुदमा पहिलेदेखि रुचि थियो । खेल्न पाइन । म सानो छदा आफूभन्दा धेरै ठुला साथी भएकाले उनीहरूले खेलेको भलिबल हेर्थे । अहिले पनि भलिबल हेर्न मनपर्छ ।
पछिल्लो समय ब्याड्मिन्टन खेल्न सुरु गरेको छु । समय भएसम्म त्यो कन्टिन्यु गर्छु । टिमीमा भलिबल र ब्याड्मिन्टन हेर्छु । साफ गेममा त महिला भलिबल मैदानमै गएर हेरेको थिए ।
टिभी र फिल्म
टिभी प्रायः साँझको समय फुर्सदमा हेर्छु । टिभीमा हेर्न समाचार हो । घरमा ९ बजे अगाडि पुगेको सायदै छैन । घरमा पुगेपछि खाना खाएर टिभी हेर्ने हो । रातको १२ बजे अगाडि कहिल्यै सुत्दिन । टिभीमा समाचार, अन्तरवार्ता, लोकगीतहरू हेर्छु ।
फिल्म पहिले धेरै हेरियो । अहिले कम हेर्ने मध्यमा पर्छु । केही वर्ष अगाडि साथीहरूसँग फिल्म ‘डमरुको डन्डिबियो’ हलमै गएर हेरेको थिए । त्यसपछि हल टेकेको छैन । राजनीतिमा लागेको भएर होला । पछिल्ला दिनमा राजनीतिक फिल्म हेर्छु ।
सिधा ठोक्ने
भाषण व्यवहारिक, तथ्यगत हुनुपर्‍यो । विषयवस्तुमा केन्द्रित रहेर सीधा गरेको मनपर्छ । जनताले रुचाउने र बुझ्ने, उनीहरूले खोजे जस्तै भाषण उपयुक्त हुन्छ । भाषण दिँदा प्रस्तुति कलात्मक हुनुपर्छ ।
विश्वास नलाग्ने, सुन्दा उत्तेजित हुने र भोलि व्यवहारमा नदेखिने राम्रो भएन । भाषण रियालस्टिक हुनपर्छ जस्तो लाग्छ । मानिसको सोच र ध्यान विचार गरेर भाषण ठोक्छु ।
सानैदेखि राजनीतिमा
म १४ वर्षको उमेरमा स्कुलदेखि नेविसंघ (नेपाली विद्यार्थी संघ) को सदस्य लिएर राजनीतिमा होमिएको हो । त्यो यात्रा अहिले पनि जारी छ । २०४८ मा पृथ्वीनारायण क्याम्पस पोखरामा पनि नेविसंघकै राजनीति गरे । २०५४ सम्म नेविसंघमै रहे ।
२०५५ मा नेपाली काँग्रेसको भातृसंगठन नेपाल दलित संघ कास्कीको सचिव भए । त्यसपछि केन्द्रीय प्रचार सचिव, केन्द्रीय सचिव र दुई कार्यकाल केन्द्रीय महामन्त्री भए । नेपाली काँग्रेसको ११ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, १२ औँ महाधिवेशनमा महासमितिको सदस्य हुँदै केन्द्रीय सदस्य निर्वाचित हुन सफल भए ।
१३ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य रहेको म १४ औँ महाधिवेशनमा नेपाली काँग्रेसको सहमहामन्त्री पदमा विजयी भए ।
२०७० को दोस्रो संविधान सभामा समानुपातिक तर्फको सांसद भएको थिएँ । त्यो अगाडि २०६६ मा राष्ट्रिय दलित आयोगको २ वर्ष सदस्य सचिव भएर काम गरेको म २०७४ को निर्वाचनमा कास्की जिल्ला क्षेत्र नम्बर १ बाट प्रदेश (क) बाट प्रदेश सदस्यमा प्रत्यक्ष चुनाव लडेको थिएँ । सम्भवतः देशभरिबाट दलित समुदायबाट प्रत्यक्ष चुनाव लड्ने एक मात्र व्यक्ति मै थिए । तर पराजित भए ।
राजनीति अहिले पनि जातीय विभेद छ । कतिले भन्छन्, कतिले भन्दैन । मलाई भन्न केही आपत्ति छैन । यो समाजको यर्थात हो । सबै राजनीतिक दलमा हाम्रा दलित समुदायका नेता साथीहरु विभेदमा पर्ने गरेका छन् । दलित भएका कारणले धेरै अवसर गुमाउनु अवस्था पनि छन् । मैले भने केही नपाएको पनि होइन ।
अहिले म काँग्रेसको सहमहामन्त्री भएको छु । कतिपय व्यक्तिलाई जीवन परियार काँग्रेसको सहमहामन्त्री किन भन्ने पनि छ । यो कुरा मुखले भनिरहनु पर्दैन । उनीहरूको व्यवहारले देखाएको छ ।
राजनीतिक पार्टी भित्र जातीय विभेद छैन भनेर कसैले भन्छ भने त्यो झुट हो । पछिल्लो समय काँग्रेस भित्र कम विभेद होला । अन्य पार्टीमा त्यो भन्दा बढी छ ।
अहिले काम छैन
हिजोआज कुनै पेसामा छैन । कामका लागि समय पनि छैन । केही पहिलेसम्म गैर सरकारी संस्थामा काम गर्थे । विभिन्न संघसंस्थाका लागि प्रशिक्षकको काम गर्थे ।
केटी आफैले खोजे
२०५३ मा मैले मागी विवाह गरेको हो । केटी आफैले खोजेर बुबाआमालाई भनेको हो । विवाहपछि श्रीमतीसँगै प्रेम बस्यो । त्यो प्रेम अहिले पनि जारी छ । विवाह अगाडि धेरैले मन पराउँथे । विवाहपछि कसैले मलाई प्रेम गरेको भए थाहा भएन ।
देश हाँक्ने सपना
अहिले राजनीतिमा छु । चिन्ता र चासो देश र जनताकै छ । उनीहरूको सुख सुविधाकै छ । उनीहरूको जीवन कसरी राम्रो बन्दै जाला, देश कसरी बन्ला, समाज कसरी माथि उठ्ला भन्ने हो । मेरो आफ्नो दृष्टिकोण के छ भने भौतिक विकासलाई मात्र विकास मान्न मिल्दैन । सामाजिक, सांस्कृतिक लगायतका विकास हुनु जरुरी छ ।
देशमा विकास धेरै छ । तर अन्धविश्वास, कुरीति, कुसंस्कार छ र मानवीय चेतनाको विकास छैन भने त्यो देशमा भएको विकासको अर्थ छैन । मेरो मान्यता समाजका सबै कुरीतिको अन्त्य भएर समतामूलक समाज बनोस् भन्ने हो ।
देशको प्रतिनिधि सभासँग म पुगिसके । काँग्रेसमा अहिले सहमहामन्त्रीमा भएको छु । पार्टीमा यो भन्दा माथि पुगेर र देशको सर्वोच्च निकाय पुगेर काम गर्ने भन्ने कुरो स्वाभाविक रहन्छ । दलित समुदायबाट देश हाँक्ने पहिलो व्यक्ति हुने इच्छा, सपना राख्नुपर्छ । त्यो क्षमता देखाउन सक्छु ।
सुख, दुःख
राजनीतिक क्रान्तिमा हामी छौँ । विभिन्न आरोह अवरोह भोगिरहेका छौ । पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा हामी लाग्यौ । त्यसपछि नेकपा माओवादीले सशस्त्र द्वन्द्व गर्यो । हाम्रा हजारौँ दाजुभाइ दिदी बहिनीले बलिदान गर्नुपर्यो । सशस्त्र द्वन्द्वको समय काँग्रेस भएको कारणले ज्यानको थ्रेट समेत भयो । यी सबै पक्षलाई हेर्दा जब प्रजातन्त्र रहिरह्यो । मैले राजनीति सरल ढंगबाट अगाडि बढ्ने अवस्था सुख मानेको छु ।
दुखद पक्ष भनेको प्रजातन्त्रको विरुद्ध प्रतिगमन तर्फ जुन राजनीति जान थाल्यो । हामीले संविधान र कानुन मिच्न थाल्यौ । यो पक्ष मलाई राम्रो लाग्दैन । राजनीतिकर्मीका गतिविधिका कारणले विभिन्न लाञ्छना लाग्छ । त्यो सुन्नु पर्दा दुःख लाग्छ ।
भूल छैन
जीवनमा भूल नगर्ने मानिस हुँदैन । मेरा पनि जानी नजानी अलिअलि भएका होलान् कि ! जीवनमा सधैँ पछुताउने भूल भयो भन्ने मान्दिनँ ।
खराबी छ
कतिपय कुरामा छिट्टै कन्भिन्स हुन्छु । त्यो एउटा मेरो कमजोरी हो । कुनै व्यक्तिले कुनै विषयमा आफ्नो तर्क राख्दै गर्दा यो ठिक हो कि भन्ने लाग्छ । फेरि अर्कोले त्यही कुरोमा अर्को तर्क राख्दा त्यो पनि ठिक हो जस्तो लाग्छ । जतिबेला पनि कन्भिन्स हुनु राम्रो होइन ।
लोकगीत मनपर्छ
लोकगीत पनि मनपर्छ । आधुनिक पनि सुन्छु । नयाँ गीतसंगीत र पुरानो पनि मनपर्छ ।
यही हो रोग
युरिक एसिडको समस्या थियो । दुई वर्षयता थाइराडको समस्या पनि देखिएको छ । प्रेसरको भने सामान्य औषधि लिन्छु ।
कुलत छैन
आजसम्म मदिरा, चुरोट लगायत केहीको पनि कुलत छैन ।
राशि मिथुन
मेरो राशि मिथुन हो । ग्रह दशामा खासै विश्वास लाग्दैन । घर परिवारको प्रेसरले हेराउने जुराउने गर्छु । पूजापाठ तिर पनि सामान्य रुची छ ।
जान त म हरेक मन्दिर जान्छु । मन्दिरमा दर्शन गर्न पाइन भनेर मलाई कहिल्यै पछुतो छैन । घुम्ने, हेर्ने र फर्किने हो ।
मृत्यु सामान्य
मृत्यु सामान्य प्रक्रिया हो । मृत्यु विश्वव्यापी नियम हो । यसलाई सहज ढंगबाट लिनुपर्छ भन्ने लाग्छ ।