हायर पर्चेज कर्जाको सीमा ८० प्रतिशत पुर्याउन नाडाको माग
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हायर पर्चेज कर्जाको सीमा ८० प्रतिशत पु¥याउन सरकारसँग माग गरेको छ । सवारी साधन खरिदका लागि हाल कायम ५० प्रतिशतको डाउन पेमेन्टको सीमालाई घटाएर २० प्रतिशतमा झार्न नाडाले सरकारसँग माग गरेको हो ।
यस्तै, नाडाले हालैमात्र सरकारले आयात निरुत्साहित गर्ने गरी सवारी साधन आयातमा लागू गरेको ५० प्रतिशतको एलसी मार्जिनको सीमालाई समेत पुनरावलोकन गरी पुरानै दर कायम गर्न माग गरको छ । गत महिना एक निर्देशिका जारी गर्दै राष्ट्र बैंकले सवारी साधनहरु आयातका लागि एलसी खोल्दा न्युनतम मार्जिनको सीमा १० प्रतिशतबाट बृद्धि गरेर ५० प्रतिशत पु¥याएको थियो । यस्तो व्यवस्थाले सवारी साधनहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधनहरुको मूल्य समेत बढ्नगई उपभोक्ताहरुलाई समेत असर पर्ने भएकोले पूर्व व्यवस्था अनुसारको न्युनतम मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्न नाडाले माग गरेको छ ।
यस्तै, नाडाले बढ्दो प्रविधिसँगै बढेको उच्च प्रविधिमैत्री सवारी साधनको प्रयोग र जानकारीमा नेपाल अहिले नै पूर्णतः अव्यस्त भइनसकेको भन्दै सम्पूर्ण सवारी साधन यूरो ६ मापदण्डमा लैजान हतार नगर्न समेत सरकारलाई आग्रह गरेको छ । उसो त हालैमात्र सरकारले अघि सारेको सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागु गर्ने प्रस्तावलाई नाडाले सकारात्मक रुपमा लिएतापनि यसको समग्र पूर्वाधार तयारीका लागि चरणबद्ध रुपमा लागु गर्दै जानु पर्ने भएकोले अहिले त्यसका लागि देशमा आवश्यक पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार नभइ सकेको सन्दर्भमा यसलाई चरणवद्ध रुपमा लागु गर्ने व्यवस्थाका लागि अनुरोध गरको नाडाले जनाएको छ ।