आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डको सचिवालयले भन्यो– द्वन्द्वकालीन मुद्दा उचालेर सभामुखमाथि आक्रमण गरियो

बुधबार, २६ माघ २०७८, १७ : १०
बुधबार, २६ माघ २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सचिवालयले सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रका द्वन्द्वकालीन मुद्दालाई उचालेर सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षडयन्त्रको गम्भीर अभिव्यक्ति भएको बताएको छ ।

साथै यस्तो कार्य शान्ति, संविधान र समृद्धिको नेपाली मौलिक बाटोलाई ध्वंस गर्ने, परिवर्तनको मार्गबाट देशलाई विचलित गराउने र मुलुकलाई बहुआयामिक द्वन्द्वतिर धकेल्ने उद्देश्यद्वारा प्रेरित भएको प्रचण्डको सचिवालयले जनाएको छ । जनयुद्ध, जन–आन्दोलन, विस्तृत शान्ति सम्झौता, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र हुदै नयाँ संविधानमार्फत संस्थागत हुदै गरेको नेपालको राजनैतिक परिवर्तनलाई ध्वस्त पार्न सुरु देखिनै एकथरी शक्तिहरु सकृय रहदै आएका तिनै शक्तिहरु अहिले सभामुख सापकोटामाथि खनिएको प्रचण्डको सचिवालयको निष्कर्ष छ ।

‘जनप्रतिनिधिमूलक संस्थामाथि प्रहार गरेर जन्मिएको प्रतिगमनलाई परास्त गरि आज मुलुक पुनः निर्वाचनको प्रक्रिया हुदै शान्ति र संविधानलाई नयाँ उचाइमा क्रियाशिल गर्न सक्रिय रहेको बेला सत्य निरुपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकार भित्रका द्वन्द्वकालीन मुद्दालाई उचालेर सम्माननिय सभामुखमाथि आक्रमण गर्नु प्रतिक्रियावादी षडयन्त्रको गम्भीर अभिव्यक्ति हो’, प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले यस्तो कार्य शान्ति, संविधान र समृद्धिको नेपाली मौलिक बाटोलाई ध्वंस पार्ने र मुलुकलाई बहुआयामिक द्वन्द्वतिर धकेल्ने उद्देश्यद्वारा प्रेरित भएको भन्दै सामान्य विषय नभएको पनि बताएका छन् ।

‘यो विषय सामान्य छैन । यो राष्ट्रिय सिमाबाट मात्र निर्देशित पनि छैन । यसले लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिलाई विभाजित गर्ने, क्रान्तिकारी जनसमुदायलाई अलगावमा पार्ने र देशलाई परिवर्तनको मार्गबाट पछाडी धकेल्न चाहन्छ। यसबाट उत्पन्न हुने दुरगामी परिणामको आकलन गरि नियोजित रूपमा खडा गरिएका षडयन्त्रका तानाबानाको अझ बढी एकतावद्ध भै जमेर प्रतिवाद गरौं’, मल्लले अपिल गर्दै भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप