बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

७० लाखसहित पक्राउ परेका युवक हुन्डी कारोबारीका ‘भरिया’

युवकको बयान– ‘पैसा मेरा होइन’
बुधबार, २६ माघ २०७८, १६ : ३९
बुधबार, २६ माघ २०७८

बालाजुको बाइपासबाट नेपालटार जाँदै गरेका नवराज ढुंगानालाई मंगलबार प्रहरीले नियन्त्रणमा लियो । नुवाकोटको ककनी गाउँपालिका–३ घर भएका २९ वर्षीय ढुंगानाले बोकेको झोलामा ७० लाख नगद भेटियो । प्रहरीले सोध्यो–‘पैसा कहाँबाट ल्याउनु भो, स्रोत केहो ?’

नवराजले सो रकम ठमेलबाट कसैले दिएको बताए । तर, स्रोत खुलाउन सकेनन् । युवकले अवैध आर्थिक कारोबार ‘हुन्डी’ को रकम बोकेर हिँडेको सुराकको आधारमा उनलाई पक्राउ गरिएको बताउँछन् महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पाल ।

महानगरीय प्रहरी कार्यालयको टोलीले दिएको प्रतिवेदनका आधारमा प्रहरी वृत बालाजुले उनलाई हरिहर भवन स्थित राजस्व अनुसन्धान विभागमा बुझाएको छ । विभागले उच्च अदालत पाटनबाट म्याद लिएर युवकमाथि अनुसन्धान गरिरहेको छ ।

युवकको बयान–‘पैसा मेरो होइन’
नवराज ढुंगाना ‘हुन्डी’ कारोबार गर्नेहरुको बीचको मान्छे भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रारम्भिक अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार पैसा लिने र दिने अरु मानिस छन् । ठमेलबाट अरुले दिएको पैसा बोकेर उनि बालाजुमा कसैलाई ह्याण्डओभर गर्न जाँदै थिए । त्यहीबेला उनी प्रहरीको फन्दामा परेका हुन् ।

मंगलबार दिउँसो ४ बजे पक्राउ परेपछि प्रहरीसँग उनले भनेका थिए–‘मलाई पैसा अर्कैले दिएर बालाजु नजिकै लगिदिनु भनेर पठाएको हो ।’ राजस्व अनुसन्धान विभागमा आएपछि ढुंगानाले सो पैसा ‘मेरो हैन’ भनेको विभागका महानिर्देशक प्रकाश पौडेलले रातोपाटीलाई बताए ।

विभागले शुरुमा युवकसँग धरौटीमा मागेको थियो । तर, उनले ‘अरुले लगिदिनु भनेर लगेको हुनाले धरौटी तिर्ने रकम मसँग छैन्’ भनेपछि विभागले उनलाई म्याद थप गरेर हिरासतमा राखेको छ । प्रारम्भिक अनुसन्धानबाट उनी हुन्डी कारोबारीका ‘भरिया’ मात्र भएको थाहा भएको छ ।    

सो रकम आपराधिक कार्यबाट आर्जित भएको हुन सक्ने भन्दै प्रहरीले सम्पत्ति शुद्धीकरण विभाग, पुल्चोकलाई पनि पत्र लेखेर जानकारी गराएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप