कमल थापा र हृदयेश त्रिपाठीका नयाँ दलले स्थानीय चुनावमा भाग लिन पाउलान् ? के भन्छ निर्वाचन आयोग ?
अघिल्लो चुनावमा नेकपा एमालेको सूर्य चिन्ह लिएर चुनाव लडेका पूर्वमन्त्री हृदयेश त्रिपाठी नयाँ दल दर्ता गर्ने तयारीमा छन् । मंगलबार यसबारे त्रिपाठीले निर्वाचन आयोगमा पुगेर परामर्शसमेत गरेका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले राप्रपा त्याग गरेको घोषणा गरेका छन् । उनले पनि अब नयाँ पार्टी दर्ता गर्ने तयारी थालेका छन् । स्थानीय चुनावको मिति घोषणा भइसकेको अवस्थामा अब नयाँ पार्टी दर्ता गरेर चुनावमा भाग लिन मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठेको छ ।
निर्वाचन आयोगले संविधानको धारा २६९ अनुसार दल दर्ता गर्ने गर्दछ । त्यसरी दर्ता भएर आयोगको सूचीमा कायम रहेको दल निर्वाचन प्रयोजनका लागि धारा २७१ अनुसार फेरि आयोगमा दर्ता हुनुपर्ने प्रावधान छ । स्थानीय चुनावको मिति घोषणा भइसकेको अवस्थामा अहिले आयोगले धारा २७१ अनुसार दल दर्ताको आह्वान गर्दै सूचना प्रकाशित गर्ने तयारी गरिरहेको छ । आयोगमा हालसम्म १०५ वटा दल दर्ता छन् ।
यसैसन्दर्र्भमा रातोपाटीले आयोगका एक अधिकारीसँग सोधेको छ । चुनावको मिति तय भइसकेपछि खुल्ने दलले निर्वाचनमा संस्थागत रुपमा सहभागिता जनाउन सक्छ कि सक्दैन ? ‘आयोगले कुनै पनि समय पार्टी दर्ता गर्दिनँ भन्न पाइँदैन, यो आयोगको रेगुलर काम हो’ निर्वाचन आयोग स्रोतले रातोपाटीसँग भन्यो, ‘अब हृदयेश त्रिपाठी र कमल थापाले खोल्ने दुबै पार्टीले निर्वाचन आयोगद्वारा धारा २७१ अनुसारको सूचना प्रकाशित हुनुपूर्व नै धारा २६९ अनुसार दर्ता भएर प्रमाणपत्र लिएको अवस्थामा फेरि चुनावी प्रयोजनका लागि २७१ दर्ता भएर स्थानीय चुनावमा भाग लिन पाउँछन् ।’
विप्लव समूह अन्योलमा
उता, हिंसात्मक संघर्ष छाडेर शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने स्थानीय चुनावमा सहभागिता जनाउने, नजनाउने अझै स्पष्ट नभएको सो पार्टीका नेताहरु बताउँछन् ।
विप्लव समूहका एक नेताले रातोपाटीसँग भने, ‘हामीले चुनावमा भाग लिने, नलिने निर्णय गरिसकेका छैनौं, भाग नलिने सम्भावना बलियो छ ।’