शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालको लापरबाहीले आमासहित जुम्ल्याहा शिशुको मृत्यु

बुधबार, २६ माघ २०७८, १५ : २०
बुधबार, २६ माघ २०७८

जनकपुरधामको एक निजी अस्पतालमा आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएपछि परिवारले अस्पतालको लापरवाही रहेको आरोप लगाएका छन् । बुधबार जनकपुरधामस्थित काव्या अस्पतालमा चिकित्सकको लापरबाहीका कारण आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएको पीडित परिवारजनको आरोप छ ।  

धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर–७ स्थित किसानपुरका यैजुब अन्सारीकी २५ वर्षीया श्रीमती मुर्सरफ खातुनको प्रसूति अप्रेसन गर्ने क्रममा जुम्ल्याहा नवजात शिशुसहित आमाको पनि मृत्यू भएको हो ।

सोमबार राति खातुनलाई काव्या अस्पतालमा लगिएको थियो । खातुनको डाक्टरत्रय मुकेश गामी, सोनिया सिंह र विनय महासेठले अप्रेसन गरेको काव्य अस्पतालले जनाएको छ । 

अप्रेसनबाट खातुनले जन्म दिएकी शिशुमध्ये एकको मृत्यु भइसकेको थियो भने अर्को शिशुलाई भेन्टिलेटरमा राखिएको थियो । तर सो शिशुको पनि केही घण्टामै मृत्यु भएको थियो ।

जुम्ल्याहा नवजात शिशुको मृत्यूपछि आमाको पनि उपचारकै क्रममा बुधबार बिहान अन्दाजी ८ बजे मृत्यु भएको मृतकका श्रीमान यैजुबले जानकारी दिए । चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अप्रेसनपछि आमा र शिशुको पनि मृत्यु भएको यैजुबको दावी छ ।

आमासहित नवजात जुम्ल्याहा शिशुको मृत्यु पछि आक्रोशित पीडित परिवारले अस्पतालमा कार्यरत डा. रमित राजलगायत कर्मचारीमाथि हातपात समेत गरेका छन् । उनीहरुले अस्पताल परिसरमा रहेको एउटा एम्बुलेन्समा तोडफोड समेत गरेका छन् ।

तर अस्पतालका सञ्चालक डा. एस.के. सिंहले बिरामीको मृत्युको कारण अप्रेसन नरहेको जिकिर गरे । एक शिशु मृत्यु भएकै अवस्थामा निकालिएको र अर्कोलाई बचाउनका लागि भेन्टिलेटरमा राखेर हरेक सम्भव प्रयास गरिएको उनको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप