शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

को बन्ला वीरेन्द्रनगर नगरपालिकाको मेयर ? यस्ता छन् दाबेदार

बुधबार, २६ माघ २०७८, १४ : ४६
बुधबार, २६ माघ २०७८

स्थानीय तहको चुनावको मिति तय भएलगत्तै कर्णाली प्रदेशको प्रशासनिक केन्द्र वीरेन्द्रनगर नगरपालिकाको मेयरमा दाबी गर्ने प्रमुख दलका नेताहरूको नाम सतहमा आउन थालेको छ ।

नेपाली काँग्रेसबाट वर्तमान मेयर रहेका देवकुमार सुवेदी नै उम्मेदवार बन्ने सम्भावना पनि देखिएको छ । तर, उनले यसअघि अवसर पाइसकेका र पार्टीभित्र पनि जिल्ला सचिव बनेकाले उनको विकल्प खोजिन सक्ने काँग्रेस नेताहरू बताउँछन् ।

काँग्रेसको संस्थापन पक्षबाट अर्थात् पूर्णबहादुर खड्का समूहबाट उपेन्द्रबहादुर खड्का सम्भावित मेयरका दाबेदार हुन् भने संस्थापन इतरबाट नारायण कोइराला दाबेदार छन् । यस्तै संस्थापनबाट उपमेयरमा पार्वती गिरी, शान्ति सिंह लगायतका नेतृहरूको नाम चर्चामा छ ।

काँग्रेसकै संस्थापन इतरबाट ०७४ को निर्वाचनमा पराजित बनेकी जानकी सिंह, देवी भट्टराई, पूर्णा चालीसे लगायतका महिला नेतृहरू पनि सम्भावित उम्मेदवारका रूपमा चर्चामा छन् ।

तथापि, काँग्रेसका नेताहरू व्यक्तिको कुराभन्दा पनि सैद्धान्तिक कुरा गरेर चुनावी मैदानमा होमिने बताउँछन् । गुट उपगुटको छाया आम निर्वाचनमा नपर्ने गरी पदका लागि योग्य मान्छेलाई उम्मेदवार बनाउने काँग्रेसका नेताहरूको भनाइ छ ।  

नेकपा एमालेबाट को ?

वीरेन्द्रनगरमा अर्को ठूलो शक्तिका रूपमा रहेको नेकपा एमालेबाट आगामी निर्वाचनमा मेयरका लागि वर्तमान उपमेयर मोहनमाया ढकाल (भण्डारी) को नाम चर्चामा छ ।

ढकाल सुर्खेती महिला नेतृमा राम्रो छवि भएकी एमालेकी केन्द्रीय सदस्यसमेत हुन् । उनी उपमेयरको हालसम्मको काममा  कुनै विवाद र झमेलामा परिनन् ।

यस्तै एमालेबाट मेयरमा हरिहरनाथ योगी, नीलकण्ठ खनाल, गंगाराम तिमिल्सिना, पूर्णप्रसाद पौडेल पनि मेयरका सम्भावित दाबेदार हुन् । यस्तै एमालेबाट उपमेयरमा यमुना नेपाली, मधुरानी ढकाल, राधा कार्की लगायतका नेतृहरूको नाम एमालेभित्र चर्चामा छ ।

माओवादीका दाबेदार

वीरेन्द्रनगरमा तेस्रो शक्तिका रूपमा रहेको नेकपा माओवादीबाट मेयरका प्रमुख दाबेदार रत्न गाह हुन् । ०७४ को निर्वाचनमा पराजित भएकाले पनि उनी पुनः मेयरमा उठ्ने आँकलन गरिएको छ ।

यस्तै दानसिंह सुनार र हरिमाया शर्मा पनि मेयरमा उठ्ने माओवादी वृत्तमा चर्चा छ । शर्मा ०७४ को निर्वाचनमा उपमेयरमा पराजित भएकी थिइन् ।

माओवादीबाट उपमेयरमा देविसरा सुनार, पद्मा विष्टलगायतका नेतृहरूको चर्चा छ ।

समाजवादीबाट को दावेदार ?

यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीबाट लाेकप्रसाद चालिसे र शिव उपाध्याय दावेदार रहेका छन् । यस्तै उपमेयरमा धना शाही, लक्ष्मी ज्ञवालीलगायत रहेका छन् । 

साना दलले प्रभाव पार्न सक्ने

प्रमुख शक्तिकेन्द्रका रूपमा रहेका तीनवटा दलमात्र होइन वीरेन्द्रनगरमा मेयरको उम्मेदवारमा साना दलहरूले पनि प्रभावशाली युवा नेतालाई उठाउने सम्भावना छ । विवेकशील साझा पार्टीले युवा नेता अनिल ढकाललाई उम्मेदवार बनाउने सम्भावना छ । उनी कर्णालीका युवा पुस्तामाझ लोकप्रिय छन् ।

ढकाल कोरोना भाइरस (कोभिड–१९) को महामारीमा सीमा नाकामा सक्रिय हुनुका साथै सामाजिक क्षेत्रमा सक्रिय युवाको छवि बनाएका व्यक्ति हुन् । ढकालले युवापुस्ताको मत काट्न सक्ने आँकलन धेरैको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले सन्तोषी शाहीलाई मेयरमा उठाउने चर्चा छ । उनी पनि युवापुस्ता माझ लोकप्रिय नेतृ हुन् । अन्य साना दलहरूले पनि युवा नेताहरूलाई उम्मेदवार बनाउने सम्भावना देखिन्छ । जसले गर्दा ठूला शक्तिमा रहेका दलहरूले प्राप्त गर्न सक्ने मत काटिन गई हारजीतमा निर्णायक प्रभाव पर्न सक्छ ।

मेयरमा पाएको मतका आधारमा विश्लेषण गर्दा ०७४ को चुनावमा वीरेन्द्रनगरमा काँग्रेसले पाएको मत १४४०५ थियो भने एमालेले १३८९९ र माओवादीले ५२३७ मत सुरक्षित गरेको थियो । त्यस्तै राप्रपाले ५५७ मत बटुलेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप