आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ताप्लेजुङमा एक सातादेखि उडान अवरुद्ध

बुधबार, २६ माघ २०७८, १४ : ०४
बुधबार, २६ माघ २०७८

ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण यहाँको सुकेटार विमानस्थलमा सातादेखि उडान अवरुद्ध भएको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै उडान निरन्तर अवरुद्ध भएको हो ।

यसअघि गएको शुक्रबार र सोमबार उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो । आज मौसम नखुलेका कारण उडान रद्द भएको नेपाल वायु सेवा निगमका ताप्लेजुङ स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । लिम्बूका अनुसार गएको शुक्रबार र सोमबार विमानस्थलमा भारी हिउँ थुप्रिएपछि उडान अवरुद्ध बनेको थियो । 

आज उडान अवरुद्ध बनेपछि काठमाडौँका लागि टिकट लिएका १४ जना यात्रु रोकिएका छन् । काठमाडौँदेखि ताप्लेजुङ आउन लागेका १२ जना यात्रु पनि उतै रोकिएका स्टेसन इन्चार्ज लिम्बूले बताए । सुकेटारमा हिमपातसँगै प्रतिकूल मौसमका कारण सुकेटार विमानस्थलमा पटक–पटक उडान अवरुद्ध हुँदै आएको नेपाल वायु सेवा निगमका ताप्लेजुङले जनाएको छ । 

निगमले सुकेटार विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार उडान सञ्चालन गर्दै आएको छ । बाक्लो हुस्सुसहित मौसम धुम्मिएकाले चिसोका कारण जिल्लाको जनजीवनसमेत प्रभावित बनेको छ । यसअघि पहिलो पटक हिमपात हुँदा पनि यहाँको उडान अवरुद्ध बनेको थियो । 

यस्तै सीता एयरलाइन्सको उडान पनि अवरुद्ध भएको ताप्लेजुङका सम्पर्क व्यक्ति श्रीप्रसाद खड्काले जानकारी दिए । आज बिहानको ताप्लेजुङको न्यूनतम् तापक्रम भने ५.४ डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान फिल्ड कार्यालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप