कोरोना पछिको ठमेल : म त पर्खेको पर्ख्यै छु…
विदेशी पर्यटकले सधैँ गुलजार रहने ठमेलका सडकहरू अहिले उराठ बनेका छन् । खाली सडक, बन्द सटरको माथि भाडामा भन्ने सूचना अहिले ठमेल वरपर जताततै देखिन्छ र देखिन्न अहिले पहिले जस्तै विदेशी पर्यटकहरू ।
सन् २०२० को सुरुवाती समयमा सुरु भएको लकडाउन पछि नेपाल छाडेर गएका पर्यटक फेरि फर्किएर आएका छैनन् तर यहाँका व्यवसायीहरू भने उनीहरू आउने आशमा अझै पनि पसल खोल्न भने दैनिक रूपमा आइरहेका छन् ।
“२०७२ सालको भूकम्पको समयमा बरु समस्या थिएन । त्यो समयमा करिब २ हप्ता मात्रै थियो पर्यटकहरू अलिक डराएको भनेको । जब यहाँ अवस्था शान्त हुँदै गयो, विदेशीहरू आउन थालेका थिए । त्यो बेला पर्यटकहरू नेपाल समस्यामा परेको छ भनेर आउँथे तर अहिले त्यो अवस्था रहेन जसको कारण झण्डै ३० प्रतिशत पसलहरू बन्द नै भइसके,” ठमेलको सगरमाथा स्ट्रिट नजिकै थाङ्का पसल खोलेर बसेका पुष्प महर्जनले रातोपाटीलाई भने ।
पहिलो लकडाउन सुरु भएदेखि व्यवसाय बन्द गरेर करिब २ वर्ष घरमै बसेका महर्जन फेरि व्यवसाय मै फर्किए पनि पहिले जस्तो अवस्थामा फर्किन भने अझै समय लाग्ने बताउँछन् ।
“आफूले जानेको व्यवसाय भनेकै यही भयो । २०४६ सालदेखि निरन्तर यही व्यवसाय गरिरहेको छु अरू व्यवसायमा जानै सकिन्न जस्तो लाग्ने त्यसैले पनि यसैमा फर्किएको हुँ तर आश भने झिनो छ । अहिले हामी बाँचिरहेको भनेकै बाहिर बस्ने साथीभाइहरूले केही सामान मगाउँछन् । त्यसैमा निर्भर रहेका छौँ ।“
ठमेलका व्यापारीहरूका अनुसार विदेशी पर्यटकहरू क्रिसमस र न्यू इयर मनाउनका लागि नोभेम्बर डिसेम्बरमा आफ्नो देश फर्किन्छन् र फेब्रुअरी सुरु नहुँदै उनीहरू फेरि घुम्न निस्कन्छन् । तर कोरोना महामारी सुरु भएयता त्यो क्रमभङ्ग भएको छ । पछिल्लो समय चीनका पर्यटकमा निर्भर रहेको ठमेलको व्यापार पनि पहिलो लकडाउन पछि ठप्प नै छ ।
२०५१ देखि ठमेलमै मादल, बाँसुरी र सारङ्गी लगायत वाद्यवादनका सामाग्री बिक्री गरेर बसिरहेका सुरेश गान्धारे र उनको समूह कोरोनाकालमा आफ्नो व्यवसायलाई टिकाइरहन प्रयत्नरत छ । गोरखा, लमजुङ र तनहुँबाट वाद्यवादन सामाग्री उत्पादन गरी काठमाडौँमा ल्याइ बिक्री गर्ने गरेको यो समूह ३५ जनाबाट खुम्चिएर अहिले २ जनामा सीमित भएको छ ।
“काठमाडौँमा खासै केही व्यवसाय र आम्दानी नभएपछि साथीहरू गाउँ फर्किएका छन् । बाजे बराजुले गर्नुभएको पुर्ख्यौली पेसालाई नै निरन्तरता दिएर बस्नु बाहेकको विकल्प केही रहेन हामीसँग । कोही अझै पनि गाडीहरूमा सारङ्गी बजाएर हिँडिरहेका छन् । कोरोनाका कारण पर्यटक नआए पछि बजार त अस्तव्यस्त नै छ,” सुरेशले भने ।
“विदेशी नआएको समयमा हामी नेपाली र स्वदेशी पर्यटकलाई नै लक्षित गरी व्यवसाय चलाइरहेका छौँ । नेपाली ग्राहकहरूले नै सारङ्गीको पहिचान बुझेर किन्न आउने गर्नु भएको छ जसले गर्दा हामीले आफ्नो मासिक भाडा तिर्न सकिरहेका छौँ । छोडेर जान पनि कहाँ सकिन्छ र त्यसैले पनि आफ्नो संस्कृति जोगाउनको लागि भए पनि बसिरहेका छौँ ।“
सरकारी तथ्याङ्क अनुसार नेपालमा सन् २०२१ मा करिब डेढ लाख पर्यटक भित्रिएका थिए जुन ३ दशक यताकै न्यून हो । पर्यटन व्यवसायलाई फेरी पहिल्यैको अवस्थामा फर्काउनको लागि सरकारले अबको वर्ष ५ लाख पर्यटक ल्याउने योजना अघि सारेको छ ।
पर्यटन पुनरुत्थान समिति गठन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२२ मा ५ लाख र २०२३ मा यो सङ्ख्यालाई दोब्बर गर्ने लक्ष्य अघिल्लो हप्ता सार्वजनिक गरेको थियो तर अहिलेको अवस्था हेर्दा भने सरकारको लक्ष्य पुरा हुनेमा शंका रहेको छ ।
यो वर्षको सुरुवाती महिना जनवरीमा १७ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरी महिनामा १७ हजार ९ सय ७५ जना पर्यटक नेपाल आएका छन् सोही समयमा अघिल्लो वर्ष ८ हजार ८ सय ७४ जनाले नेपाल भ्रमण गरेका थिए ।
भ्रमणमा आएका मध्ये सबैभन्दा बढी भारतीय-३,९१६ छन् । दोस्रो स्थानमा रहेको अमेरिकाबाट ३,२५७ जना पर्यटक नेपाल आए । बेलायतबाट १,८२४ जना पर्यटक भित्रिँदा बंगलादेशबाट १,२३६ जना पर्यटक नेपाल आएका छन् ।
अष्ट्रेलियाबाट १२१३ जना नेपाल आएको तथ्यांक छ । यो वर्ष बंगलादेशबाट आउने पर्यटकको सङ्ख्यामा ठूलो वृद्धि देखिएको छ । सन् २०२१ मा जनवरीमा मात्र २६ जना नेपाल आएकोमा यस वर्ष १,२३६ जना पुगेको हो ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका बाबजुद पर्यटक आगमनमा भने सरकारले रोक लगाएको छैन । खासगरी कोरोना विरुद्धको खोप लगाएर नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्ने पर्यटकलाई नेपाल भ्रमणको अनुमति जारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डले चीन भ्रमण गर्दा चाइना कार्ड नहुने, ओलीले गर्दा हुने ?
-
कर्णाली डेभपलमेन्ट बैंक ‘समस्याउन्मुख’, वित्तीय कारोबार गर्न रोक
-
चन्द्रागिरि नगरपालिकाद्वारा युवालाई ‘डिजिटल’ तालिम
-
रोनाल्डो चम्किँदा अल नासरको जित
-
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
-
मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो