शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

बुटवलमा मजदुर नेताको स्मृतिमा सालिकसहितको पार्क निर्माण

मङ्गलबार, २५ माघ २०७८, २२ : २५
मङ्गलबार, २५ माघ २०७८

बुटवलमा मजदुर नेताको स्मृतिमा सालिकसहितको पार्क निर्माण भएको छ । बाबुसँगै बागलुङबाट बुटवलमा आएका र यहीँको एउटा उद्योगमा श्रमिकका रूपमा काम गरेका मजदुर अगुवा जितबहादुर पुन (जेबी पुन) को स्मृतिमा बुटवल उपमहानगरपालिकाले शिवनगरमा जेबी स्मृति पार्क निर्माण गरेको हो ।

 पूर्व पश्चिम राजमार्ग छेउमै उपमहानगर मातहत रहेको करिब दुई बिगाहा क्षेत्रलाई संरक्षण गर्दै व्यवस्थित स्मृति पार्क निर्माण गरिएको छ ।  दुई खण्डमा निर्माण र विस्तार भइरहेको उक्त पार्क र परिसरमा निर्माण गरिएको पुनको अर्ध कदको सालिक आज साँझ एक  समारोहबीच उपमहानगरका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्दै उद्योगमा काम गर्दै जनवादी गीत संगीतमार्फत सचेतना फैलाउने सँगै राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमा जनमत जुटाउने काममा पुनले महत्त्वपूर्ण योगदान गरेको बताए ।

पुनले नै त्यसबेला परिवर्तनको आन्दोलनमा धेरैलाई संगठित र समाहित गराएको स्मरण गर्दै एमाले केन्द्रीय सदस्यसमेत बनेकाले उनको योगदानको कदर स्वरुप प्रारम्भिक चरणको कामका रूपमा सालिकसहितको स्मृति पार्क निर्माण गरिएको बताए । पुनकै सक्रियतामा यस क्षेत्रमा जनवादी सांस्कृतिक क्रान्ति, राजनीतिक तथा नागरिक अधिकार प्राप्तिको आन्दोलनका लागि संगठन निर्माण, श्रमज्योति क्लब गठन गर्दै त्यसैमार्फत राजनीतिक चेतनाको अभियान सञ्चालन गरिएको पुनले नै संगठित गरेका एमाले नेता डिलबहादुर आचार्यले बताए ।

०४३ सालमा म्यानेन्जाइटिस भएर पुनको निधन भएको थियो । त्यसअघि पुनकी पत्नीको सुत्केरी हुने क्रममा प्रसव पीडाकै बीचमा बच्चा जन्मन नसकेर निधन भएको थियो । पुनका भाईबुहारी र भतिजाभतिजी हाल पार्क रहेको स्थान नजिकै बस्दै अएका छन् । पुनका बाबु जो राजमार्ग निर्माणका क्रममा आएका थिए । उनले चौपारीमा आराम गरिरहेकै बेलामा निधन भएको बताइएको छ । उपमहानगरका सहरी विकास तथा योजना महाशाखाका प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले करिब ५० लाख बराबरको बजेटको पार्क निर्माण र विस्तारका लागि योजनाबद्ध काम भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप