शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

ढुङ्गेल गिरफ्तारी र कम्युनिस्ट कार्यदिशा

शुक्रबार, ०१ मङ्सिर २०७४, १२ : ५५
शुक्रबार, ०१ मङ्सिर २०७४

“राजनीतिक कार्यदिशा सही भए, नभएको पनि प्राप्त हुन्छ; गलत रहे, भएको पनि गुम्छ ।” माओको यो उद्गार कुनै लहड, सनक र भावावेग र तरङ्गित भनाइ होइन । यो कम्युनिस्ट पार्टीले लिने कार्यदिशाको चरित्रले विजय र पराजय निर्धारण गर्छ भन्ने वैज्ञानिक सच्चाइको अभिव्यक्ति हो । यसबाट के प्रष्ट हुन्छ भने कम्युनिस्ट पार्टीका लागि राजनीतिक तथा फौजी कार्यदिशा विकास गर्नु महत्वपूर्ण आयाम हो । सिङ्गो क्रान्तिकारी प्रक्रियाको सफलता र असफलता यसैमा निर्भर हुन्छ । 

कुनै पनि क्रान्तिकारी पार्टीले रणनीतिलाई केन्द्रमा राख्दै फौजी तथा गैरफौजी  कार्यदिशा तय गर्छ । यसलाई वर्गसङ्घर्षकै भिन्न रूपमा ग्रहण गरिन्छ ।  अर्थात् वर्गसङ्घर्षको सिद्धान्त, वर्गप्रतिको इमानदारिता, श्रमजीवी जनता अनि क्रान्तिलाई दृढतापूर्वक केन्द्रमा राखेर लिएको कार्यदिशा झट्ट हेर्दा सुधारवादी र पथभ्रष्ट जस्तो देखिए पनि सारतः त्यसले क्रान्तिको सेवा गरिरहेको हुन्छ । यो वर्ग सङ्घर्षको द्वन्द्वात्मक नियम हो । तर आफ्नो वर्ग, सिद्धान्त, जनतालाई सहायक ठानी प्रतिक्रियावादलाई प्रधान ठान्दै बोली र भाषणमा क्रान्तिकारी जस्तो अनि अन्तरवस्तुमा आत्मसमर्पणवादी कार्यदिशा ग्रहण गर्नु भनेको सरासर दक्षिणपन्थी विचलनमा अभिव्यक्त हुन्छ । यसले क्रान्तिकारी विचार र सिद्धान्तको  ढोङ र पाखण्डीपन प्रदर्शन गर्दै सुधारवादमा धकेलिदिन्छ । जनयुद्ध र शान्तिवार्ता आफैमा  अन्तरविरोधी कार्यदिशा हुन् । यद्यपि दुवै कार्यदिशाको वैज्ञानिक समायोजन र उपयोग अनिवार्य थियो । जनयुद्ध स्थायी  र प्रधान रणनीति थियो भने  शान्तिवार्ता अस्थायी र सहायक कार्यनीति थियो । 

यसरी कम्युनिस्ट आन्दोलनको कार्यदिशा बारे बहस चलिरहेकै परिवेशमा ओखलढुङ्गाको माओवादी नेता बालकृष्ण ढुङ्गेललाई गिरफ्तार गरि मुद्दा चलाइएको छ । जनयुद्धका प्रक्रियामा भएका केही मुद्दालाई सबै प्रतिक्रियावादी तत्वहरूले ठूलै राजनीतिक मसला बनाउँदै आएको जगजाहेरैछ ।  सतहबाट मात्र विश्लेषण गर्दा धेरैलाई लाग्न सक्छ ढुङ्गेललाई जसरी पनि कारवाही गर्नुपर्छ किनकि उनी, हत्यारा हुन् । कसैलाई लाग्न सक्छ यसो माफी दिए त भइहाल्थ्यो नि । कसैलाई लाग्न सक्छ जनयुद्ध भनेको लहड र सनकमा नभएर नेपाली समाजको आमूल रूपान्तरण, समानता र सामाजिक न्याय स्थापित गर्ने राजनीतिक क्रान्ति थियो । त्यसैले वास्तवमा यो केवल ढुङ्गेलको मात्र सवाल होइन । यो आम नेपाली श्रमजीवी जनतासँग जोडिएको वर्गीय सवाल हो । परिवर्तन, न्याय र समानतासँग सम्बन्धित मुद्दा हो । सिङ्गो क्रान्तिकारी आन्दोलनसँग अभिन्नरूपमा गाँसिएको मुद्दा हो । त्यसैले यो व्यक्तिगत रूपमा ढुङ्गेलमाथि मात्र नभएर सिङ्गो कम्युनिस्ट आन्दोलनप्रतिकै आक्रर्मण हो । समग्र परिवर्तनकारी सङ्घर्षमाथिकै प्रहार हो ।

त्यसैले पनि यसको समाधन अंशमा नभएर समग्रतामा खोज्नुपर्छ ।  वर्गीयता, आन्दोलन र कार्यदिशामा खोज्नुपर्छ । सबैको आआफ्नो कोण र मत भिन्नता देखिन्छ । वर्गीय समाजमा यस्तो मत भिन्नता हुनु सार्वभौम नियम हो । वर्गसमाजमा हरेक वस्तुको नजर वा विशेषता पनि नितान्त वर्गीय नै हुने गर्छ । तर यसलाई प्रतिक्रियावादीले आफू अल्पमतमा रहेकाले हमेसाः गोलमटोल अमूर्त जनता र वर्गविहीन समाजको वकालत गर्न बाध्य हुन्छन् । प्रतिक्रियावादीहरूको यस्तो वर्ग चरित्रलाई श्रमजीवी जनताले बुझ्नु अनिवार्य हुन्छ । तब मात्र दुस्मनको भ्रमजाल चिर्दै क्रान्तिको लक्ष्यलाई चुम्न सकिन्छ । यसलाई नबुझ्नु भनेको उनीहरूलाई चलखेल र षडयन्त्र गर्ने सजिलो परिवेश दिनु बराबर हो ।

यतिखेर ढुङ्गेलमाथि मुद्दा चलाउनुलाई अचम्म मान्ने स्थिति छैन । उनीहरू सिङ्गो माओवादी आन्दोलनमाथि नै भ्रम र अपव्याख्या गर्ने कसरतमा छन् । किनकि प्रतिक्रियावादीहरू परिवर्तनकारीहरूलाई आत्मसमर्पण गराउन, वैचारिक राजनीतिक विचलन गराउन अनि पथभ्रष्ट गराउन सबैखाले हथकण्डा र षडयन्त्रहरू गरी नै रहेका हुन्छन् । यो उनीहरूको असली वर्ग चरित्र हो । माओवादी आन्दोलनका सम्पूर्ण नेता तथा कार्यकर्ता अनि श्रमजीवी जनतामाथि नै उनीहरूले आम मुद्दा लगाए पनि अनौठो मान्नु पर्दैन । किनकि वर्गीयरूपमा प्रतिक्रियावादीहरू कहिल्यै पनि बहुसङ्ख्यक सर्वहारा जनताप्रति बफादार  हुन सक्दैन र त्यस्तो आशा गर्नु पनि हुन्न । उनीहरूको आधारभूत दृष्टिकोण भनेको अमूर्त समानता र लोकतन्त्रको नाममा दश प्रतिशत कुलीनहरूले नब्बे प्रतिशत आधारभूत वर्गमाथि असमान, अन्यायपूर्ण र दमनात्मक शासन प्रणाली लाद्नु हो । अर्थात क्रान्तिकारी कम्युनिस्ट सिद्धान्त र सर्वहारा वर्गप्रति प्रतिक्रियावादीहरू जहीले पनि अनुदार नै हुने गर्छ ।

मूलतः क्रान्तिकारी आन्दोलनहरू अघि बढिरहेको बेला सैन्य दमन, हत्या, आतङ्क, धरपकड, लुटपाट र बलत्कार जस्ता अमानवीय हर्कतहरू प्रतिक्रियावादीहरूको विशेषता नै हुन्छ । क्रान्तिलाई असफल बनाउन विभिन्न हथकण्डाहरू मच्चाउनु उनीहरूको वर्गचरित्र नै हो । अर्थात प्रतिक्रियावदीहरूले कि त चरम दमन गरेर, कि त ललीपप देखाएर फकाएर आफ्नो कित्तामा पार्ने कोशिस गर्छ, कि त पुरानो मुद्दाहरू सबै उठाएर चौतर्फी घेराबन्दी गरी आत्मसमर्पण वा विसर्जन गराउने नियत राख्छ । यस्तो वस्तुगत राजनीतिक धरातलमा शान्ति वार्ता भनेको क्रान्तिकारीहरूले शक्ति सञ्चय गरी नयाँ ढङ्गले नयाँ उचाइमा वर्गसङ्घर्षलाई उठाउने वा अन्तिम विजयको रणनीतिलाई सहायक हुने साधन हो । वर्गदुस्मनले पनि यसको ठीक विपरीत योजनाहरू बुनि नै रहेको हुन्छ ।

क्रान्तिकारीहरूले पहल लिए श्रमजीवी वर्ग विजय बन्ने र बुर्जुवाहरूले पहल लिए कुलीनहरू विजय बन्ने  वर्गीय अन्तरविरोधको सार्वभौम नियम हो ।
शान्ति प्रक्रिया र संसदीय अभ्यासलाई भिन्न वर्गीय आन्दोलनकै रूपमा लिनसक्नु पर्छ । यो वर्गसङ्घर्षकै अर्को प्रक्रिया हो । वर्गसङ्घर्षको प्रक्रियाले मात्र समग्र समस्याको समाधन गर्नसक्छ । ढुङ्गेल, सापकोटा र सूर्यमान दोङ जस्ता प्रतिनिधिमूलक घटनाहरूमा अदालतसँग मात्र कानुनी लडाइँ लड्नुको कुनै राजनीतिक अर्थ छैन । किनकि अदालत पनि वर्गीय हुन्छ । जनयुद्धकालीन यस्ता घटनालाई राजनीतिक रङ लगाएर योजनाबद्धरूपमा उठाउनु भनेको १० वर्षे महान जनयुद्धको राजनीतिक औचित्यमाथिको ठाडो चुनौती हो । जब क्रान्ति रक्षात्मक वा तुलनात्मक रूपमा कम्जोर हुन्छ । साथै वर्गसङ्घर्षको प्रक्रियाबीच बाटोमा कतै अवरुद्ध हुन थाल्छ । तब देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरू हावी हुन थाल्दछ । यो वर्गसङ्घर्ष सम्बन्धी साश्वत द्वन्द्ववाद हो । वर्गसङ्घर्षमा  वर्गदुस्मनले हमेसा प्रयोग गर्ने राजनीतिक तथा रणनीतिक लीलाहरू हुन् । यसमा कति पनि विचलित र अचम्मित हुनु आवश्यक छैन । राजनीतिक कार्यदिशिा नै गलत वा क्रान्तिकारी विचार विरोधी, सर्वहारा वर्ग विरोधी र जनविरोधी भयो भने वर्गदुस्मनले विभिन्न झुठा मुद्दाहरू उठाएर चौघेरामा पार्दै आत्मसमर्पण गराउन खोज्नु असाध्यै स्वभाविक सवाल हुन्छ । ढुङ्गेल प्रक्ररणको पनि  गाँठी कुरा यही हो । हामी सही छौँ या गलत ? कहाँनेर चुक्यौँ वा चुक्दैछौँ ? इतिहासको गम्भीर राजनीतिक समीक्षा गर्दै बहसको विषय बनाउनैपर्ने देखिन्छ ।

अझ मसिनो गरेर राजनीतिक विश्लेषण गर्ने हो भने जबजब वर्गसङ्घर्ष रक्षात्मक बन्दछ तबतब प्रतिक्रियावादीहरूले चौतर्फी घेराबन्दी सुरु गर्छ । ताकि जहाँ परिवर्तनकारीहरूलाई नामेट गर्न सकियोस् । जनताका एजेन्डाहरूलाई पाखा लगाउन सकियोस् । यो उनीहरूको जन्मजात प्रतिक्रियावादी वर्गचरित्र हो । त्यसैले पनि बहुसङ्ख्यक जनताको पक्षमा, सामाजिक न्याय, समानता र आमूल रूपान्तरणका लागि जीवन मरणको वर्गसङ्घर्षको भट्टीमा होमीएका बालकृष्ण ढुङ्गेल जस्ता तमाम जनता, नेता तथा कार्यकर्ताहरूको उन्मुक्ति समग्र आन्दोलनको प्रक्रियाबाट मात्र सम्भव हुन्छ । यो प्रतिक्रियावादी वर्गीय सत्ता संरचनाहरूले प्रदान गर्ने राजनीतिक, कानुनी, सामाजिक र प्राविधिक उपचार वा दयामायाबाट हल हुने विषय होइन । यस्तो सोच्नु वैचारिक दरिद्रता र गैरराजनीतिक बनिबनाउ इच्छा मात्र हुन्छ ।

त्यसैले भिन्नरूपमा वर्गसङ्घर्षको घनिभूत उठान, सङ्गठन निर्माण गरी सङ्घर्षको अल्पकालीन तथा दीर्घकालीन योजनाहरू तय गर्दै नेपाली समाजको वर्ग–अन्तरविरोधहरूको स्थायी हल गर्ने राजनीतिक कार्यदिशा विकासको अहम् जिम्मेवारी देखिन्छ । यसको हल प्रतिक्रियावादीहरूको खुट्टामा लम्पसार परेर आत्मसमर्पण गर्दै अनुनय विनय आग्रह र विन्ती विसाएर  सम्भव हुँदैन । अदालतको ढोका ढक्ढक्याएर वा रिट हालेर पनि हुँदैन । यता देशी विदेशी विकासे र दलाली कूटनीतिको साहराबाट पनि सम्भव छैन ।  यसको समाधन सही राजनीतिक कार्यदिशासहितको लामो राजनीतिक प्रक्रियाबाट मात्र सम्भव हुन्छ  । किनकि सङ्घर्षको प्रक्रियामा सृजना भएको समस्याहरूको समाधन सङ्घर्षबाट मात्रै सम्भव हुन्छ । यो सार्वभौम नियम हो । तसर्थ भावी कम्युनिस्ट ध्रुवीकरणले सही कार्यदिशा निर्माण गर्न सकोस् । तब मात्र ढुङ्गेललगायत सिङ्गो न्यायपूर्ण आन्दोलनमाथि न्याय गर्न सकिन्छ, जुन सबै उत्पीडितहरूको साझा चाहना हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र किराँती
राजेन्द्र किराँती
लेखकबाट थप