मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका छिट्टै कार्यान्वयनमा ल्याइने

मङ्गलबार, २५ माघ २०७८, १७ : ०३
मङ्गलबार, २५ माघ २०७८

प्रेस काउन्सिल नेपालले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ छिट्टै कार्यान्वयनमा ल्याउने भएको छ । तयार भएको निर्देशिका हस्तान्तरण कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सोमबार उक्त जानकारी दिएका हुन् । 

निर्देशिका हस्तान्तरण गर्दै काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष एवं सदस्य गोपाल बुढाथोकीले पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन, २०७६)को दफा १५ लाई टेकेर सो निर्देशिका तयार पारिएको बताए । उनले समाजका हरेक पक्ष र क्षेत्रप्रति पत्रकारिता जगत् जिम्मेवार हुनुपर्ने भएको भन्दै ज्येष्ठ नागरिकप्रति समाजको दृष्टिकोण सकारात्मक र सम्मानपूर्ण बनाउन भूमिका खेल्न ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका जारी गरिएको प्रस्ट पारे ।

गत मङ्सिर ८ गते बसेको काउन्सिलको बोर्ड बैठकले ज्येष्ठ नागरिकका सम्बन्धमा नेपाली मिडियामा सम्मानजनक भाषाका लागि यससम्बन्धी निर्देशिका तयार गर्न सदस्यद्वय बुढाथोकी र ठाकुरप्रसाद बेलबासे तथा वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाललाई जिम्मेवारी दिएको थियो ।

निर्देशिकामा सञ्चार माध्यम र सञ्चारकर्मीले समाचार सामग्री प्रकाशन÷प्रसारण गर्दा ध्यान दिनुपर्ने, विषय, शब्दावली, उखानटुक्का, ज्येष्ठ नागरिकको हेरचाह, पालनपोषण, अधिकार संरक्षण, सामाजिक संस्कार आदिका बारेमा उल्लेख गरिएको छ । सञ्चार माध्यमले ज्येष्ठ नागरिकसम्बन्धी समाचार वा सामग्री प्रकाशन÷प्रसारण गर्दा समाजमा ज्येष्ठ नागरिकप्रति सकारात्मक भाव जगाउने, ज्येष्ठ नागरिकका अधिकारको संरक्षण, संवर्द्धन र सुविधाबारे सुसूचित गर्ने गरी गर्नुपर्ने विषय निर्देशिकामा प्रस्ट पारिएको संयोजक बुढाथोकीले जानकारी दिए । सञ्चार माध्यमहरू ज्येष्ठ नागरिकको मर्यादा, समाज र राष्ट्रका लागि ज्येष्ठ नागरिकको योगदानलगायतका विषयमा गम्भीर बन्नुपर्नेमा निर्देशिकाले प्रेरित गर्ने उनको भनाइ छ ।

यसै प्रसङ्गमा काउन्सिलको कार्यभार, कार्यक्षेत्र र दायर बढ्दै गएको भन्दै अध्यक्ष बालकृष्ण बस्नेतले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका तयार पार्ने टोलीलाई धन्यवाद दिए । काउन्सिलले बालमैत्री सञ्चार निर्देशिका – २०७३, अपाङ्गतामैत्री सञ्चार निर्देशिका – २०७३ र महिला उत्तरदायी सञ्चार निर्देशिका – २०७६ जारी गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप