माओवादीको बैठकमा प्रचण्डले एमसीसीबारे जवाफ दिनुपर्ने
नेकपा माओवादी केन्द्रले महासचिव छनोट लगायतका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक माघ २८–२९ बोलाएको छ । बैठकमा स्थानीय तहको निर्वाचन लगायतको विषयमा छलफल हुने भनिएको छ ।
पछिल्लो समय मेलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को विवादमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मुछिएका छन् । पार्टीको बैठकमा यसलाई विशेषरुपमा उठाउने केही नेताहरूको तयारी रहेको बुझिएको छ । एमसीसीकाबारे नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरी अमेरिकालाई पठाएको पत्र बाहिरिएपछि पार्टीभित्रै उनीमाथि प्रश्न गर्न थालिएको छ ।
एमसीसीका बारेमा एकातिर चर्को कुरा गर्ने अर्कोतिर त्यसलाई पास गराउन पहल गर्ने भन्ने कुराले पार्टीभित्र नै आशंका उब्जाएको छ । यस विषयमा पार्टीभित्र कुरा उठ्ने बताइएको छ । केन्द्रीय सदस्य हरिबोल गजुरेलले पत्रका बारेमा बाहिर कुरा उठेको कारणले पार्टीको बैठकमा अध्यक्षले त्यस विषयमा स्पष्ट पार्नुपर्ने बताए ।
देउवा र प्रचण्डको संयुक्त हस्ताक्षरबाट पठाएको पत्रबारे जसरी कुरा उठेको छ, त्यो कुरालाई प्रष्ट पार्ने दायित्व अध्यक्ष हो, उनले भने, तर त्यो पत्र पार्टीका लागि ठूलो इस्यु होइन, दुईजनाको साझा पत्र हो, त्यो पत्रमा एउटा अध्यक्षले एउटा कुरा र अर्को अध्यक्षले अर्को कुरा लेख्न मिल्दैनथ्यो । एमसीसी पारित गराउन पहल, प्रयास गर्छु र त्यसका लागि राष्ट्रिय सहमति बनाउने प्रयास गर्छु भन्नु ठूलो कुरा होइन ।’
पहल र प्रयास गर्छु भनेको पारित नै गराइदिन्छु भनेको होइन भन्ने तर्क गर्दै नेता गजुरेलले भने, ‘पहल र प्रयास गर्छु भनेको त्यसका लागि पार्टीभित्र र बाहिर छलफल चलाएर राष्ट्रिय सहमति बनाउने प्रयास गर्ने हो, राष्ट्रिय सहमति बन्यो भने पारित हुन्छ, सहमति नबने हुँदैन भनी स्पष्ट रहेको विषयलाई विवादको विषय बनाउन हुँदैन ।’
अध्यक्ष प्रचण्डको एकल हस्ताक्षरबाट मात्र त्यो पत्र गएको भए पार्टीमा ठूलो एजेण्डा बन्न सक्ने गजुरेल बताउँछन् । गठबन्धन दलको हिसाबले संयुक्त पत्र गएका कारण यो त्यति ठूलो एजेण्डा बन्छ जस्तो आफूलाई नलागेको उनले रातोपाटीलाई बताए । पार्टीको बैठकमा चासोको रूपमा एमसीसीको कुरा आउन सक्ने देखिए पनि एजेण्डा नै बन्न नसक्ने उनको दाबी छ ।
नेता गजुरेलले यसो भनिरहँदा पार्टीभित्रकै अर्कोपक्ष यसलाई एजेण्डा बनाएर गम्भीररुपमा कुरा उठाउने तयारीमा छ । खासगरी माओवादी केन्द्रभित्र रहेका नारायणकाजी श्रेष्ठ पक्षका नेताहरुले प्रचण्डले पठाएको पत्रका बारेमा जोडतोडले कुरा उठाउने तयारी गरेका छन् । एमसीसीको विपक्षमै रहे पनि प्रचण्डनिकट नेताहरू भने बैठकमा यसलाई एजेण्डाकै रूपमा नउठाउने र यस विषयलाई थामथुम पार्ने पक्षमा देखिएको एक नेताले बताए ।
केन्द्रीय सदस्य लीलामणि पोखरेलले केन्द्रीय समितिको बैठकमा एमसीसी एजेण्डाकैरुपमा नआए पनि छलफलको विषय बन्न सक्ने बताए । उनले भने, ‘केन्द्रीय समितिको बैठक बस्नुअघि पनि यो कुरा पार्टीमा उठ्न सक्छ, कार्यालयको बैठक बस्ने तयारी भइरहेको छ, त्यसमा पनि यस विषयमा छलफल हुने सम्भावना छ ।’
उनले भने, ‘एमसीसीबारे पार्टीको लाइन क्लियर थियो, तर अध्यक्ष प्रचण्डको पत्र बाहिर आएपछि पार्टीमा केही कुरामा कन्फ्युजन भएको हुनाले यसलाई प्रष्ट पार्नु आवश्यक छ र अध्यक्षले प्रष्ट पार्नुपर्ने देखिएको छ ।’
अर्का केन्द्रीय सदस्य गणेश साह भन्छन्, ‘प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले संयुक्तरुपमा पठाएको पत्र अन्तिम होइन, प्रारम्भिक हो, त्यसैलाई पार्टीभित्र ठूलो इस्यु बनाइएला जस्तो मलाई लाग्दैन । तर समसामयिक विषय भएकाले बैठकमा यो कुरा पनि उठ्न सक्छ । छुट्टै एजेण्डाको रूपमा भने एमसीसीको विषय नआउन सक्छ ।’
साहले अगाडि भने, ‘महाधिवेशनले नै एमसीसी परिमार्जन गरेर मात्र पारित गर्ने निर्णय गरिसकेको छ भने त्यसका बारेमा पार्टीले थप केही निर्णय गर्नुपर्छ जस्तो लाग्दैन । पछिल्लो समय अध्यक्ष प्रचण्डको विषयमा कुरा उठेका कारण उहाँले केही स्पष्ट पर्नुहुन्छ होला ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित