आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘भ्यालेन्टाइन डे’मा २ लाख ३० हजार गुलाबको फूल, ९० प्रतिशत आयात

मङ्गलबार, २५ माघ २०७८, १३ : ०८
मङ्गलबार, २५ माघ २०७८

प्रणय दिवस अर्थात ‘भ्यालेन्टाइन डे’मा खपत हुने ९० प्रतिशत गुलाबको फूल भारतबाट आयात हुने जनाइएको छ । नेपालको उत्पादनले माग नधानेपछि प्रणय दिवसलाई चाहिने गुलाबको फूल भारतबाट आयात गर्नुपरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको हो ।

एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले यस पटकको प्रणय दिवसमा २ लाख ३० हजार वटा गुलाबको फूल खपत हुने अनुमान गरेको बताए । उनले यसमध्ये ९० प्रतिशत फूल भारतबाटै ल्याउनुपर्ने बाध्यता रहेको समेत बताए ।

‘यो वर्षको जाडोयाममा धेरै चिसो बढ्यो । निरन्तर पानी पर्दा धेरै बोट मर्यो । बचाइएका बोटबाट पनि कमसल फूल फुल्यो,’ उनले रातोपाटीलाई भने, ‘जसकारण, यो पटक ९० प्रतिशत फूल आयात गर्नुपर्ने स्थिती बन्यो ।’ यसका साथै, गत वर्षको लकडाउनमा समेत धेरै गुलाबको बोट मरेकाले यसपटक उत्पादन घट्दा आयात बढ्ने उनको भनाइ छ । 

यसैगरी, गत वर्षको भ्यालेन्टाइन समयमा कोरोना महामारी विकराल स्थितीमा थियो । जुन, यतिबेला कम प्रभावित छ । यस्तै, सरकारले समेत खुला गरिसकेको स्थितीमा गुलाबको फूल किन्नेको संख्या बढ्ने र खपत समेत बढ्ने उनको भनाई छ । गत वर्षको भ्यालेन्टाइनमा करिब १ लाख ८० हजार वटा गुलाबका फूल खपत भएको एसोसिएशनको आँकलन छ ।

नेपालमा ७०० भन्दा बढी व्यवसायीले वगुलाब खेती गर्दै आएका छन् । उनीहरूबाट उत्पादित गुलाबको फूलले भ्यालेन्टाइन बाहेकको माग धान्दै आएको अध्यक्ष तामाङले बताए । भ्यालेन्टाइन बाहेकको समयमा दैनिक १० हजार गुलाबको फूल खपत हुँदै आएको छ । जुन माग स्वदेशी उत्पादनले नै धान्दै आएको छ ।

यद्यपी, भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा विदेशबाट न्यून मात्रामा गुलाबको फूल भित्रिएको छ । यस अवधिमा जम्मा एक लाख ५८ हजार रुपैयाँको फूल भित्रिएको विभागको तथ्यांकले देखाएको छ ।

‘भ्यालेन्टाइन माघ महिनामा पर्ने भएकाले माघ महिनाको पहिलो सातादेखि आयात हुन्छ,’ तामाङले भने, ‘पहिलो सातादेखि मध्य माघसम्म खपत हुने भएकाले माघको सुरुवाती महिनामा आयात सुरू हुन्छ ।’ गत आर्थिक वर्ष २०७७/७८ मा भारतबाट जम्मा तीन लाख ४७ हजार रुपैयाँ बराबरको गुलाब फूल भित्रिएको तथ्यांकले देखाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप