काँग्रेस कार्यसम्पादन समिति बैठकअघि शेखर कोइराला समूहका तीन निष्कर्ष
नेपाली काँग्रेसको शेखर कोइराला समूहले पार्टीको कार्यसम्पादन समिति बैठकअघि आन्तरिक छलफल गरेको छ । कोइराला समूहले २७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकको एजेण्डाका सन्दर्भमा समूहगत धारणा बनाएको हो ।
२७ गते बस्ने बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला लगायतको विषय छलफलका एजेण्डा छन् । यस विषयमा समूहगत धारणा बनाउन सोमबार बसेको कोइराला समूह निकट पदाधिकारीसहितको बैठक बसेको थियो ।
महामन्त्री गगन थापाको सचिवालय नक्सालमा प्रदेशमा भएका सरकार विस्तार र कार्यसम्पादन समिति बैठकका एजेन्डामाथि आन्तरिक छलफल गर्न बसेको बैठकको संयोजन नेता गुरुराज घिमिरेले गरेका थिए । बैठकमा महामन्त्री थापा, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्य गोविन्दराज पोखरेल, अजयबावु सिवाकोटी सहभागी थिए । उपसभापति धनराज गुरुङ भने बैठकमा सहभागी थिएनन् ।
बैठकले नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ र मुस्लिम संघमा नयाँ कमिटी ल्याउनुपर्ने निष्कर्ष निकालेको हो ।
महिला संघका अध्यक्ष उमा रेग्मी, दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्मा, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेविसंघका अध्यक्ष राजीव ढुंगाना र मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तार केन्द्रीय सदस्य भएपछि विधानत स्वतः पद रिक्त छ ।
त्यसमा विधानसम्मत नयाँ कमिटी ल्याउन पर्ने कोइरालको समूहको जोड छ । घिमिरले रातोपाटीसँग भने, ‘भ्रातृ संस्थामा पद रिक्त भएको छ । त्यहाँ विधान बमोजिम नयाँ कमिटी आउनुपर्छ भन्ने हाम्रो निष्कर्ष रह्यो ।’
उनले नेविसंघमा ३२ वर्षभन्दा माथिको नहुने बताए । नेविसंघको विधानमा ३२ वर्षे उमेर हद लागू हुने व्यवस्था छ । तरुण दल, महलिा संघ, दलित संघ र मुस्लिम संघमा पनि नयाँ कमिटी ल्याउनुको विकल्पन नरहेको उनीको निष्कर्ष छ । ‘त्यो रिक्त भएको छ । ६ महिनाभित्र अधिवेशन हुने गरी पाँच वटा भ्रातृ संस्थामा विधानसम्मत नयाँ कमिटी गठन हुनुपर्छ,’ उनले भने ।
जिल्ला अधिवेशन तत्काल गर्न जोड
अधिवेशन हुन बाँकी १६ जिल्लामा तत्काल अधिवेशन गर्नुपर्ने शेखर समूहको जोड छ । घिमिरेले भने, ‘स्थानीय तह निर्वाचनको मिति घोषण भएको छ । अब तत्काल १६ जिल्लामा अधिवेशन हुनुपर्छ ।’
काँग्रेसले चितवन, सिन्धुली, मकवानपुर र सिन्धुपाल्चोक, कैलाली, अछाम, नवलपरासी पूर्व र बाँकेमा हुने अधिवेशन बाँकी छ । यस्तै मधेस प्रदेशका आठ जिल्ला धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिराहा, रौतहट , बारा र पर्सामा पनि काँग्रेसको जिल्ला अधिवेशन भएको छैन ।
प्रदेशमा मनोमानी सरकार विस्तार भएको निष्कर्ष
बैठकमा प्रदेश एक र कर्णाली प्रदेको सरकार विस्तारका सन्दर्भमा छलफल भएको छ । ‘प्रदेश एकको सरकार विस्तारमा पार्टीभित्र कुनै पनि सरसल्लाह भएन । पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाउने निर्णय भएन,’ उनले भने ।
महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले ‘सबैलाई समेट्छु’ भन्ने अभिव्यक्तिको निर्णयबाट खण्डित गरेको उनको भनाइ छ । ‘प्रदेश एक र कर्णाली प्रदेशमा मनोमानीपूर्ण ढंगले सरकार विस्तार भयो,’ उनले भने, ‘आफ्नो गुट मात्र बलियो बनाउने काम भयो । यस विषयमा कार्यसम्पादन समितिमा बैठक कुरा उठाउन भनेका छौं ।’
पार्टीमा निर्णय हुँदा शेखर कोइरालासँग परामर्श नगरिएको विषयमा पनि बैठकमा कुरा उठाउनुपर्ने निष्कर्षमा पुगिएको घिमिरेले बताए ।