खै राजनीतिक संस्कार ?
आजकल सामाजिक सञ्जाल, भेटघाट, समारोह, चिया पसल, चौतारी जहाँसुकै भेट होओस् । हाम्रो एउटै बिचार आउँछ, नेता र कर्मचारीहरुले देश खत्तम पारे, बर्बादै पारे । अनि अर्को कुरा आफू मात्रै ईमान्दार कार्यकर्ता, देशभक्त, राष्ट्रप्रेमी र राष्ट्रसेवक । आफूबाहेक अरु भने नेताका झोले कार्यकर्ता । त्यस्तै आफ्नो बिरुद्ध सत्य समाचार लेख्ने पत्रकारलगायत सञ्चार जगतलाई झोलेको संज्ञा समेत दिएको दिनहुँ पढ्न र देख्न सकिन्छ ।
के देश वास्तवमै यी नेता, कर्मचारी, पत्रकारहरुले मात्रै बिगारेका छन त् ? यसमा आमजनताको कुनै भूमिका छैन ? यो प्रश्न विगतदेखि नै अनुत्तरित छ । अझ कहिलेसम्म रहिरहने हो थाहा छैन । समाजिक सञ्जालको टिप्पणी हेर्ने हो भने देश बचाउन कि त उनीहरु वा उनीहरुले समर्थन गरेको दल र यिनका नेता आउनु पर्छ कि त भएका नेता र कर्मचारीहरु सबै सखापै हुनुपर्छ भन्ने ज्ञात हुन्छ । हामीले सत्य पचाउन र सत्यको पक्षमा उभिन धौ धौ मानिरहेको संज्ञा हुन्छ ।
अहिलेको सरकारलाई परमादेशको सरकार भनेर व्यापक रुपमा आलोचना गर्ने गरिन्छ र यसैको आलोचनामा रमाउने पनि गरिन्छ । तर त्यो परमादेशजन्य परिस्थिति कसरी आयो भन्नेतर्फ हाम्रो ध्यान भने छैन । फेरि पहिलेको सरकारले उधुमै नराम्रो गर्यो भन्नेहरु नै अहिलेको सरकारले केही नगर्दा पनि चुप बसेका छन् । उहिले केही नगर्दा पनि चुप रहेनहरु अहिले उफ्रिरहेका छन् । यसबाट पनि हाम्रो राजनीतिक संस्कारको अनुभव गर्न सकिन्छ ।
हाम्रो पुस्ता नै होला, थोरै समयमा धेरै राजनीतिक व्यवस्था अनुभव गर्न पाएको । राजनीतिक व्यवस्था परिवर्तन भए पनि नेता र नेतृत्व भने कहिल्यै परिवर्तन भएको छैन, कारण हामी नै हौ । पञ्चायत, प्रजातन्त्र, राजतन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र हुँदासम्म पनि हामीलाई खासमा कुन शासन व्यवस्था चाहिएको हो भन्ने कुरा यकिन हुन सकेको छैन । अर्कोतर्फ हाम्रो राजनीतिक संस्कार र विचारमा हालसम्म पनि कुनै परिवर्तन हुन सकेको छैन । हामीले बनाएको नेतृत्व परिवर्तन हुन नसके झैं हाम्रो संस्कार र विचारमा पनि परिवर्तन नआएको कुरालाई स्वीकार गर्न सकेका छैनौं र दोषारोपण गर्न पनि छोडेका छैनौं । यसको कारण खोज्नु अत्यवश्यक छ ।
अहिले केहीलाई आन्दोलन गरेर फ्याँकेको राजा फेरि चाहिएको छ । गणतन्त्र भन्दा राजतन्त्र प्यारो भन्न परेको छ । यी सबैभन्दा एकदलीय पञ्चायत नै ठीक थियो भन्नसम्म पछि परेका छैनन् । त्यसको कारण भने आफू समर्थन दल र नेतृत्वमा सरकारमा जाँदा मात्र यस्तो सोच्न भने बिर्सिन्छन् । र, आफ्नो अनुकूलको राज्य व्यवस्थामा नेतृत्व गयो भने अहिले सम्मको सबै काम यसले नै गर्यो अर्कोले गर्न सक्दैन भन्ने धाक लगाइन्छ ।
हाम्रो राजनीतिक संस्कार कस्तो छ त ? यसैमा निर्भर भएको छ, हाम्रो राजनीतिक व्यवस्था र नेतृत्व । अहिलेका सरकारका पर्यटन मन्त्री प्रेम आलेको चर्चा परिचर्चा छताछुल्ल भएको छ । त्यस्तै उहाँसगै योगेश भट्टराई पनि चर्चामै हुनुहुन्छ । त्यसै गरी रेणु यादव, सीके राउत, विप्लवका कार्यकर्ता र उनीहरुको कामकार्वाही, केही उदाहरण मात्रै लिँदा पनि हाम्रो राजनीतिक संस्कार प्रष्ट हुन्छ । हामीलाई कहिले रवि लामिछाने, कहिले गगन थापा, कहिले गोकर्ण विष्ट मन पर्छ, कहिले राजा ज्ञानेन्द्र र कमल थापा, ज्ञानेन्द्र शाही मन पर्छ, कहिले चित्रबहादुर केसी, रविन्द्र मिश्र र रञ्जु दर्शना मन पर्छ, कहिले विश्वप्रकाश शर्मा मन पर्छ, कहिले भीम रावल त कहिले रामकुमारी झाँक्री त कहिले डा गोविन्द केसी मनपर्छ भने केही समय पछि फेरि यी लगायत उल्लेखित पात्रहरु मन पर्दैन । मन किन पर्दैन, यसको छोटो उत्तर आफ्नो अनुकूलको समर्थन नगरेको र आफ्नो दल निकट नेतृत्वको विपक्षमा बोलेको भएर । यो हामीले अहिलेसम्म खोट्याएका छैनौ कि उहाँहरु सत्य बोल्नु भएको छ र असत्यको विरोध गर्नु भएको छ भनेर । हामीले देख्ने गरेका छौ, आफू समर्थक राजनीतिक दलको नेता तथा कार्यकर्ताको सुखद र दुःखद क्षणमा जति सञ्जाल रंग्याउछौं, त्यति हाम्रो छिमेकीहरुको सुख दुःखमा लाग्न सकेको हुँदैनौ, कारण फरक आस्था र फरक विचार ।
अब पछिल्ला उदाहरणहरु हेरौ, पर्यटन मन्त्री प्रेम आले पहिले नेकपा एमालेको नेता हुँदै वन मन्त्री बन्नु भयो । त्यतिबेला उहाँ अक्सिजन र कार्वनडाई अक्साईडको विषयका साथै अक्सिजन सिलिण्डरमा आफ्नो फोटो टाँसेर भाइरल हुनु हुन्थ्यो । त्यो बेला उहाँलाई नेकपा एमाले समर्थक कार्यकर्ताहरु उहाँको बचाउमा लागे भने प्रतिपक्ष काँग्रेस लगायतका अन्य कार्यकर्ताहरु उहाँलाई सकेसम्म नंग्याए । तर समय परिवर्तन भयो, उहाँ अहिले माधव नेपाल नेतृत्वको समाजवादीमा प्रवेश गरी पर्यटन मन्त्री बन्नु भएको छ । उहाँले अहिले नारायणहिटीलगायत अन्य सामारिक महत्वका क्षेत्र तथा स्थलमा वतास समूहलगायत पूर्ववर्ती सरकारका निर्णयलाई छर्लङ्ग पार्दै एक्सनमा लाग्दै गर्दा, उहाँले गत विगतमा गरेका नराम्रा कुरालाई र उनै कार्यलाई पहिले विरोध गर्नेहरुले अनदेखा गरेको देखियो । के यही हो त राजनीतिक संस्कार ? यसले अघिल्लो र पछिल्लो सरकारका राम्रा कुरा र नराम्रा कुराहरुलाई कसरी चरितार्थ गरिएको छ र गरिदै छ भन्ने कुरा हाम्रा अभिव्यक्तिहरुले नै प्रष्ट्याउदै आएका छन् ।
आफ्नो पक्षमा लेख्ने र विरोधीको विपक्षमा लेखेका समचार शेयर गरेका हुन्छांै भने त्यसै विपरित भएमा बिक्यो भन्छांै । त्यस्तै, आफ्नो दलमा आए स्वागत रे अर्को दलमा गए कत्तिमा बिक्यो ? लगायत तमाम कुराहरु सुन्दा, देख्दा र भोग्दा लाग्छ, हामीमा राजनीतिक र सामाजिक संस्कारको विकास भएको छैन । अहिलेको ज्वलन्त उदाहरणको रुपमा एमसीसीलाई नै लिँदा पनि हाम्रो राजनीतिक संस्कार र समर्थन प्रष्टै हुन्छ ।
हामीले कहिल्यै राम्रोलाई राम्रो भन्न नसक्नु र नराम्रोलाई नराम्रो भन्न नसक्नु नै यी सबै हुनका कारण हुन् । तर यसलाई हामी आत्मसाथ गर्न भने असमर्थ छौ । हाम्रो राजनीतिक समर्थन यसरी अन्धो भयो कि आफूले समर्थन गरेको बाहेक कुनै पनि ठीक छैन र हैन । अरुले गरेका राम्रा कुराहरु समेतलाई नराम्रो भन्ने र नराम्रोलाई होइन वा ढाकछोप गर्नेतर्फ सधंै अग्रसर रहनुले नै हामीले न नेतृत्व परिवर्तन गर्न सकेका छौं, न त शासन व्यवस्थामा सुधार नै गर्न सकेका छौ ।
कोभिडको कारणले विश्व नै आक्रान्त छ, यसैमा हामीहरुले कति र कस्ता दुःख आपत विपत व्यहोर्नु पर्यो । कहिले मास्क, स्यानीटाइजरमा कालोबजारी भयो, कहिले रोजगारी गुम्यो, कहिले राहतको नाममा भ्रष्ट्राचार भयो । राम्रो उपचार र अस्पताल नपाई कैयौको ज्यान गयो । विपतलाई अवसर पारेर कति अनियमितता, भ्रष्ट्रचार, कत्ति कालोबजारी भए ? तर हामी भने यही उल्काहट र विरोधमा मात्रै सीमित भयौं । न त हामीले हाम्रा नराम्रो गर्ने नेता र नेतृत्वलाई खबरदारी गर्यौं, न तर राम्रो गर्ने विपक्षीको प्रसंशा नै गर्यौं । गर्यौं त एकसरो कि विरोध कि प्रसंशा आस्था र विचारको भरमा । तर हाम्रोमा कहिल्यै पनि त्यो विचार आएन र सायद आउँछ जस्तो पनि लाग्दैन । आस्था र निष्ठाको भरमा कसैलाई देवत्वकरण गर्ने र कसैलाई नंग्याउने पनि ।
हुन त हामी काँग्रेस, कम्युनिष्ट, राप्रपा, साझा, राजमो, मधेसवादी लगायत कुनै दल नै कसरी भयो भन्ने नै थाहा छैन । थाहा के छ भने बाउ, आमा, काका, काकी, मामा माईजु, दाइ भाइ, दिदी बहिनी जता गए, त्यतै गयौं र सनातनी हुँदै आइरहेका छौ कि त हाम्रो विरोधी अर्को दलमा गएको हुनाले हामी अर्को दललाई समर्थन गरेका छौं । त्यो भन्दा अर्को कुनै आधार र प्रमाण देखिदैन राजनीति समर्थनको ।
हामीमा बढी नै विचार अभिव्यक्तिको स्वतन्त्रता प्राप्त गरेको भान हुन्छ । विचार अभिव्यक्तिको स्वतन्त्रता छ भन्दैमा हामीले सधैं नेता र नेतृत्वलाई गाली मात्रै गर्ने कि हामी पनि सुधारिने ? यसमा हामी अग्रसर हुनैपर्छ, होइन भने संस्कार कहिले सुधारिदैन । हरेक पटकको निर्वाचनमा हामीले उनै नेता र नेतृत्वलाई दोह्र्याएका छौं, राम्रो पनि नराम्रो पनि । नराम्रो गर्नेलाई हामीले साथ मात्रै नदिने हो भने मात्रै हाम्रो देश स्वर्ग हुन्छ, अनि बल्ल जनताको पक्षमा काम कार्वाही हुनेछ ।
हामीले सधैं छेपारोले झिक्रो छोपेजस्तै राजनीतिक दल र नेतृत्वलाई छोप्नको कारण नै हो यो अवस्था आएको । हाम्रो यो विवेक र व्यवहार देखेर नै हो नेता र नेतृत्वले मन लगाएर तपाईं हाम्रो पक्षमा काम नगरेको । संस्कार नै सबैभन्दा ठूलो कुरा हो, चाहे पारिवारिक होओस् या राजनीतिक या सामाजिक । हामीले राम्रोलाई राम्रो, नराम्रोको विरोध गर्न सक्यौं भने मात्रै तपाईं हामीले जे सोचेका छौ, त्यो परिवर्तन हुनेछ । परिवर्तन हुने भनेको हाम्रो राजनीतिक विचार र संस्कारको हुनुपर्छ, होइन भने दोषारोपण गर्नुबाहेक केही हुने छैन । हाम्रो जिन्दगी गाली र सराप्दा सराप्दै बित्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा