शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाको महत मोह

सोमबार, २४ माघ २०७८, १९ : ०८
सोमबार, २४ माघ २०७८

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्तामा डा. प्रकाशशरण महत रोजेका छन् । निवर्तमान सह–महामन्त्री महतलाई देउवाले प्रवक्तामा मनोनीत गरेका हुन् । देउवाका विश्वास पात्र केन्द्रीय सदस्य रमेश लेखक प्रवक्ता बन्ने चर्चाका बीच महामन्त्रीमा पराजित महतले प्रवक्तामा बाजी मारेका हुन् ।

महामन्त्री विश्वप्रकाश शर्मा लगायतले लेखकलाई प्रवक्ता बनाउन लबिङ गरे पनि महत प्रवक्ता बन्न सफल भए । देउवा टीममा विद्रोह गरेर महामन्त्रीमा महतलाई रोक्न सफल भएका शर्मा प्रवक्तामा रोक्न भने असफल भए ।  लामो समयदेखि देउवाको निकट भएर राजनीति गरेका महत प्रवक्ता भएर पदाधिकारीमा समेटिएका छन् । देउवाको विश्वास पात्रमध्ये महत सर्वाधिक अवसर पाउने नेताको अग्रपंक्तिमा परेका छन् ।

मुलुक र पार्टीको नेतृत्व सम्हालेको कालमा देउवाले महतलाई सधैँ जसो अवसर दिएका छन् । नेविसंघ कालमा संघर्षबाट उदाएका महतलाई पार्टी राजनीतिमा देउवाले दह्रोसँग हात दिएको अवस्था छ । नेविसंघमा हुँदा पनि देउवाको महतप्रति विशेष सद्भाव थियो । कक्षा ७ मा पढ्दादेखि नै नेविसंघको राजनीतिमा आबद्ध महत देउवासँग निकट थिए ।

२०३६ सालको विद्यार्थी आन्दोलन, २०३७ सालको जनमत सङ्ग्रह र २०४२ सालको सत्याग्रहमामा  महत आफैले पनि राजनीतिक स्थान बनाएका थिए । यही बीचमा २०४० देखि २०४४ सम्म उनी नेविसंघको महामन्त्री पनि बने । उनलाई महामन्त्री बनाउने विषयमा पनि देउवाको हात रहेको जानकारहरू बताउँछन् । नेविसंघका महामन्त्रीबाट बाहिरिएपछि केही वर्ष उनी अध्ययनका लागि विदेश गएका थिए ।

पछि २०४६ सालको जनआन्दोलनमा महतले एक्सन कमिटीमा रहेर काम गरे । २०५५ देखि २०५६सम्म काँग्रेसको केन्द्रीय आर्थिक नीति निर्माण समितिमा रहेर काम गर्ने मौका पाए । तर पार्टी राजनीतिमा उनको इन्ट्री हुन सकेको थिए । देउवाले काँग्रेस फुटाएर काँग्रेस (प्रजातान्त्रिक) बनाएपछि पार्टी राजनीतिको बाटो खुल्यो । उनको दाजु रामशरण महतले काँग्रेस नछोडेपनि महतले देउवालाई साथ दिए । देउवाले पनि महतलाई काँग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्य बनाए ।

२०५९ सालदेखि महत काँग्रेसको केन्द्रीय समितिमा निरन्तर छन् । ०६४मा काँग्रेस र काँग्रेस प्रजातान्त्रिकबीच एकता हुँदा पनि उनी केन्द्रीय सदस्य रहेका थिए । त्यसपछि भएको १२ औँ महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य बने । ०७२ मा भएको १३ औँ महाधिवेशनबाट देउवा सभापति भएपछि ०७५ वैशाखमा सहमहामन्त्री बनेका थिए ।

 १४ औँ महाधिवेशनमा पनि देउवाको पहिलो रोजाइ प्रकाशशरण नै भए । महामन्त्रीको एक दर्जन आकांक्षीलाई पछि पारेर उनी देउवाको टीमको महामन्त्रीको उम्मेदवार बने । तर देउवाको रोजाइ कार्यकर्ताको रोजाइ बन्न सकेन ।

महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुँदा उनी तेस्रो भए । सभापतिमा निर्वाचित देउवामा महामन्त्रीमा पराजित महतप्रति सद्भाव घटेन । देउवाले महतलाई केन्द्रीय सदस्य मात्र मनोनीत गरेनन् कार्यसम्पादन समितिमा समेत समेटे । देउवाको महत मोह यतिमै रोकिएन । देउवाले सहमहामन्त्री समेत भइसकेका महतलाई प्रवक्ता समेत बनाइ दिए ।

महाधिवेशनमा देउवाले महतलाई उत्तराधिकारीको सङ्केत समेत दिएको काँग्रेस वृत्तमा चर्चा छ । देउवाको सोही सङ्केतले संस्थापन पक्षबाटै महतमाथि अन्तर्घात भएको काँग्रेस नेताहरू बताउँछन् ।

महत पार्टीमा मात्र होइन राज्य सत्तामा पनि देउवाको रोजाइमा पर्ने मध्येका एक हुन् । २०५५ सालमा सरकाले गठन गरेको माओवादी समस्या समाधान समितिमा महत सदस्य सचिव थिए । महतले २०५८ असोजदेखि २०५९ वैशाखसम्म  तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको  सल्लाहकारका रूपमा भूमिका निर्वाह गरे । त्यसपछि महतलाई देउवाले राष्ट्रिय योजना आयोगको सदस्यमा पनि बनेका थिए ।

२०६१ सालमा देउवा तेस्रो पटक प्रधानमन्त्री हुँदा उनी परराष्ट्र राज्य मन्त्री भएका थिए । तत्कालीन द्वन्द्वरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन २०६३ सालमा गठित  राष्ट्रिय शान्ति समिति सदस्य  रहेर थिए । उनी त्यतिबेला देउवा नेतृत्वको काँग्रेस प्रजातान्त्रिकबाट सहभागी भएका थिए । त्यसपछि ०६४ विभिन्न विद्रोही समूहसँग वार्ता गर्न गठित सरकारी वार्ता समितिको पनि सदस्य भए ।

देउवाको सिफारिसमा माधव नेपाल नेतृत्वको सरकारमा महत २०६६ मा ऊर्जा मन्त्री बने । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बन्दा महत परराष्ट्रमन्त्री भए । देउवाकै सिफारिसमा उनी पटक पटक मन्त्री बनेको पाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप