आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार : विश्वकर्मा

सोमबार, २४ माघ २०७८, १८ : २५
सोमबार, २४ माघ २०७८

नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने डरले पाँच दलीय गठबन्धनका नेताले गठबन्धनलाई चुनावसम्मै लैजाने कुरा गरिरहेको भन्दै उनले आफ्नो दल एक्लै निर्वाचन लड्न तयार रहेको बताए ।

एमाले तिलोत्तमा नगर कमिटीद्वारा सोमबार शंकरनगरमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सचिव विश्वकर्माले यस्तो बताएका हुन् । 'एमाले कुनै शक्तिसँग झुक्दैन, आगामी निर्वाचनमा जुनसुकै गठबन्धन गरेर आए पनि एमाले एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार छ,' उनले भने ।

विश्वकर्माले एमाले नै मुलुक र जनताको आशा तथा भरोसाको केन्द्र बनेको भन्दै अहिलेको सरकार केन्द्र वा प्रदेश कतै पनि देखिन छाडेको बताए । 'सरकार छ कि छैन भन्ने कुराको जनतालाई वास्ता छैन र सरकारप्रति आम विश्वास पनि छैन,' विश्वकर्माले भने । 

उनले एमसिसीबारे दोहोरो कुरा गरेर सत्तारुढ दलका नेताले जनतामा भ्रम फैलाउने काम गरेको पनि आरोप लगाए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकातिर एमसिसीमा सहमति जनाउँदै अमेरिकालाई पत्र लेख्ने अर्कोतिर जनतामा आफूलाई एमसिसी विरोधी देखाएर दोहोरो चरित्र प्रदर्शन गरेको उनको टिप्पणी छ ।

कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य लीला गिरीले पार्टीमा योगदान र क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताए । पार्टीमा कसैलाई काखापाखा वा भेदभाव नगरिने पनि  गिरीले बताए ।

अर्का पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले देशव्यापीरुपमा एमालेप्रतिको आकर्षण बढेको  भन्दै अहिले सबैतिर पार्टी प्रवेशको लहर चलिरहेको उल्लेख गरे । आफ्नो दलमा प्रवेश गर्नेहरूलाई नयाँ र पुरानोको आधारमा भेदभाव नगरिने,  कामको आधारमा मूल्यांकन तथा जिम्मेवारी प्रदान गरिने न्यौपानेले बताए ।

त्यस अवसरमा न्यू सिर्जना युवा क्लबका अध्यक्ष लप्सन गुरुङसहित करिब एक सय जना युवालाई एमाले सचिव विश्वकर्मासहितका नेताहरूले पार्टी प्रवेश गराउँदै स्वागत गरेका थिए ।

एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामानाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा  जिल्ला अध्यक्ष तेजेन्द्र केसी, तिलोत्तमा नगर उपाध्यक्ष नेत्रलाल बन, सचिव मीनप्रसाद पोखरेल, नवप्रवेशी लप्सन गुरुङलगायतले आआफ्नो धारणा राखेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप