युनियन लाइफले ल्यायो जीवन आवरण बीमा योजना, के–के छन् सुविधाहरु ?
युनियन लाइफ इन्स्योरेन्सले जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट यो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । जीवन आवरणमा बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जिवित रहेमा बीमाङ्क रकम र बोनस उपलब्ध हुनेछ । बीमा अवधि भित्र कालगतिले मृत्यु भएमा थप बीमाङ्क रकम अर्थात दुई गुणा बीमाङ्क रकम र बोनस उपलब्ध हुने कम्पनीले जनाएको छ ।
यसैगरी, दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकमको दुई गुणा बीमाङ्क रकम, अतिरिक्त दुर्घटना लाभ बापत एक करोडसम्म र बोनस रकम उपलब्ध हुनेछ । उक्त योजना लिन चाहनेहरुले न्युनतम एक लाख रुपैयाँदेखि आयस्रोतको आधारमा चाहेअनुसार बीमाङ्क रकमको बीमा गर्न सक्ने व्यवस्था रहेको छ । साथै, न्युनतम ७ वर्षदेखि अधिकतम २५ वर्षसम्मको अवधि कायम गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत स्थायी अंगभंग सुविधासमेत उपलब्ध हुनेछ ।
उक्त बीमा लिएका बीमितहरुले बीमा लेखअन्तर्गत ऋण तथा अन्य सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ । यो योजनाबाट बीमा गर्नेहरुले अधिक लाभ लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बताए ।