आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘गठबन्धन सरकार चलाउनको लागि हो, काँग्रेस एक्लैले चुनाव लड्नुपर्छ’

सोमबार, २४ माघ २०७८, १३ : ५६
सोमबार, २४ माघ २०७८

काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश अधिवेशनबाट अमरसिंह पुन लुम्बिनी प्रदेश सभापतिमा विजयी भएका छन् । अहिले नेपाली काँग्रेसको नयाँ पार्टी संरचना अन्तर्गत विभिन्न काम प्रदेश समितिले काम सुरु गरेको छ । पार्टी कार्यालय बुटवल स्थापना गर्ने, प्रदेशमा निर्वाचन भएपछि विधान बमोजिम सदस्यहरु मनोनयन गर्ने काम भएको छ । प्रदेशमा पार्टीको काम तीब्र गतिमा अघि बढेको मान्छन् सभापति पुन । प्रस्तुत छ, उनीसँग नयाँ संरचना अन्तर्गत प्रदेश समितिको कामकारबाही, प्रदेश सरकारप्रतिको दृष्टिकोण, पार्टीको आगामी निर्वाचनमा वर्तमान गठबन्धनलाई निरन्तरताको सवाल लगायतका विषयमा गरिएको कुराकानी 

नयाँ संरचनाको पार्टीको प्रदेश सभापति बन्दै गर्दा के कस्तो चुनौती देख्नु भएको छ ?

हामीलाई यो नयाँ संरचना प्रदेशमा आउँदा जीरो लेवलबाट काम गर्दा धेरै चुनौती छ । कार्यलय स्थापनादेखि पार्टी कामकारबाही अगाडि बढाउनु पर्ने हुन्छ । हामी संस्थापक भएर काम गर्दा पछि आउने पिढीलाई सहज तरिकाले काम गर्ने अवसर पनि छ । हामीले यसलाई चुनौतीसँगै अवसरका रुपमा पनि लिएका छौँ । 

पार्टीका तल्लो तहका संरचनालाई प्रदेशसँग कनेक्सन गर्ने र प्रदेशले माथिल्लो तहसँग समन्वय गर्ने, केन्द्रीय नेताहरु प्रदेश समितिलाई अझै स्पष्ट रुपमा बुझाउन र  समन्वयन गर्नका लागि विधानअनुसार जुन परिकल्पना गरिएको छ । त्यसअनुसार कार्यान्वयनको लागि व्यापक प्रयास गर्नुपर्छ । केन्द्रीय नेताहरुसँग पनि थप छलफल र समन्वय गर्नुपर्ने आवश्यता पनि छ । किनकि यो नयाँ संरचना भए पनि विधानमा उल्लेख भएअनुसार काम गर्ने वातावरण या परिस्थिति निर्माण गर्नुपर्ने हुन्छ ।

हामीले केन्द्रीय नेतृत्वलाई विश्वासमा लिएर जानुपर्ने  र तल्लो तहका समितिहरुलाई प्रदेश समितिले हाम्रोबारे, हाम्रो हितमा काम गर्छ भन्ने विश्वास दिलाउँदै प्रदेश समितिसँग सहकार्य गरेर काम गर्ने वातावरण तयार पार्नुपर्छ । उनीहरुलाई हाम्रा समस्या प्रदेश समितिमार्फत् जाँदा केन्द्रवाट पनि समाधान हुन्छ भन्ने भावना विकास गर्न जरुरी छ । त्यसको लागि हामीले थप मेहनत गर्नुपर्छ । 

लुम्बिनी प्रदेशका पार्टीका योजनाहरु कसरी तयार पार्दै हुनुहुन्छ ? 

लुम्बिनी प्रदेशमा ४ वर्षे कार्यतालिका बनाउन महामन्त्रीको नेतृत्वमा ७ सदस्य टिम बनाएका छौँ । त्यो टिमले काम सुरु गरेको छ । त्यसको प्रारम्भिक मस्यौदा लिएर हामी साथीहरु माझ राख्ने छौँ । केही सच्याएर संगठनको लागि के गर्नुपर्ने हो, विकास निर्माणको लागि के गर्नुपर्ने, अन्य के के गर्नुपर्छ सबै विषय राखेर अगाडि जाने छौँ । सोही आधारमा पार्टीलाई अगाडि बढाइने छ । 

लुम्बिनी प्रदेश सरकारमा यहाँको पार्टी पनि सरकारमा रहेको छ । यो गठबन्धनको सरकारको काम कारबाहीप्रति पार्टीले कसरी मूल्याङ्कन गरेको छ ?

सहमति सरकार बनेको छ । कतिपय कुरा हाम्रो पार्टीले भनेको भन्दा सरकार प्रमुख फरक पार्टीको भएकोले फरक ढंगले चल्न सक्छ नै । पार्टी फरक हुँदा नेपाली काँग्रेसलाई कतिपय कुरा मन नपर्न सक्छ । कतिपय काम मन परेको पनि  छैन । तर मनपर्ने वातावरण पनि बनेको छैन किनभने बजेट आउँदा विभिन्न समस्या थिए, त्यही बीचमा उहाँहरुले बजेट ल्याउनु पर्यो । पुरानो सरकारबाट नियुक्त भएका कर्मचारी, कहिले अदालतका स्टे अडर आदिले कारणले पनि तीव्र रुपमा काम गर्न नपाएको होला । यद्यपि गठबन्धन सरकार भएकाले गठबन्धनका साथीहरुलाई चित्त नदुख्ने गरी काम गर्नुपर्छ । यहाँ मुख्यमन्त्रीले आफ्नो कार्ययोजना अनुसार काम गर्ने त छँदै छ, त्यसलाई सफल बनाउन सबै दलका नेताहरुलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ । 

यो सरकार गठन हुँदा एउटा भद्र सहमतिमा आलोपालो सरकारको नेतृत्व माओवादी र नेपाली काँग्रेसले गर्ने भन्ने थियो । त्यो कार्यान्वयन हुन्छ कि हुँदैन ?

भद्र सहमतिअनुसार उहाँहरु पनि चल्नुपर्छ, हामी पनि चल्नुपर्छ, सोही रुपमा जान्छ भन्ने विश्वास रहेको छ । लगत्तै स्थानीय तह, प्रदेश चुनाव हुने विषय छ । त्यो अवस्थामा यो सरकार चेन्ज हुँदा अर्को असर पर्ला, त्यसको छलफल होला । हामीले बुझेको त्यो हो । तर, यो बीचमा कुनै राजनीतिक उथलपुथल नभएमा, यो बीचमा भद्र सहमति अनुसार सरकार चेन्ज हुनुपर्छ भन्ने मान्यता हाम्रो हो ।

चुनावको बेलासम्म गठबन्धन परिवर्तन हुन्छ कि जारी रहन्छ ?

यो गठबन्धन सरकारमा जाने बेलासम्म सही छ । गठबन्धन सरकारले नै चुनाव गराउने हो । तर चुनावमा नै गठबन्धन रुपमा जाने विषयमा म  सहमत छैन । आफ्नो एजेन्डा लिएर जनताका बीच जानुपर्छ, जनताका बीचमा काँग्रेसका मुद्दा लगेर जाने हो । काँग्रेस एक्लै जानुपर्छ । अरूसँग मिलेर जाने होइन । काँग्रेस एक्लैले स्थानीय, प्रदेश र संघीय चुनाव लड्नुपर्छ । अरूसँग कुनै खालको गठबन्धन गर्नु हँुदैन । 

विगतको चुनावमा माओवादी र अन्य दलहरु मिलेर इतिहास छ । त्यसलाई भत्काउँदै अहिले एक्लै जानुपर्छ भन्ने यहाँको भनाई हो ? 

विगतमा नेपाली काँग्रेसले गठबन्धन गरेको थियो । कतिपय ठाउँमा हामीले भोट दियौँ । तर हामीले दिने, उताबाट कति मत आएन । हामीलाई कसले सहयोग गरे निश्चित भएन । डा बाबुराम भट्टराई, कमल थापा, महन्थ ठाकुरलाई हामीले सहयोग गरेका हौँ तर हामीलाई गरे कि नगरेनन् ? त्यो थाहा नि भएन । त्यसकारण काँग्रेस कुनै खालको गठबन्धनमा जानु हुँदैन ।  कसैलाई सहयोग गर्नु छ भने व्यक्तिगत रुपमा एउटा कुरा होला तर सिंगो पार्टी कुनै पनि गठबन्धनको रुपमा जानु हुँदैन भन्ने मेरो मान्यता हो । 

गठबन्धन भनेको सरकार चलाउनको लागि हो, चुनावमा आ आफ्नो पार्टी  नै जाने हो । हिजो काँग्रेसले माओवादीलाई सहयोग गरेको हो, हिजो चितवनमा रेणु दाहाललाई भोट हाल्दा नेपाली काँग्रेसलाई कति पीडा भयो होला । त्यसैले, नेपाली काँग्रेस सिङ्गल चुनावमा जानुपर्छ । स्थानीय, प्रदेश, संघीय चुनावमा जनताले जे बुझ्छन्, नेपाली काँग्रेसलाई त्यही रुपमा स्वीकार गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप