बालकथा : सिंह र लामखुट्टेको शत्रुता

person explore access_timeमाघ २४, २०७८ chat_bubble_outline0

भाइबहिनीहरूलाई कसैले सिंह र लामखुट्टे कुन ठूलो भनेर सोधे भने के भन्छौ ? पक्कै सिंह भन्छौ होला होइन ? हो, तत्काल सबैलाई लाग्ने त्यही हो, दिने उत्तर पनि त्यही हो । कहाँ जङ्गलका राजा सिंह कहाँ सानो जङ्गली जीव लामखुट्टे । तर, यो रूपामा मात्र हो सारमा होइन । सारमा त यही हो कि सिंहको स्थानमा सिंहै ठूलो लामखुट्टेको स्थानमा लामखुट्टे नै ठूलो । समग्रमा आ–आफ्ना स्थानमा सबै ठूला, सबै बलिया । सिंहले गर्ने काम सिंहले मात्रै गर्न सक्छ लामखुट्टेले गर्ने काम लामखुट्टे मात्रै गर्न सक्छ । न सिंहको काम लामखुट्टेले गर्न सक्छ न लामखुट्टेको काम सिंहले गर्न सक्छ । यहाँ यसै सम्बन्धी एउटा रोचक कथा प्रस्तुत गरिएको छ, जसलाई पढेपछि तिमीहरू आफैँ प्रष्ट हुनेछौ ।


धेरै पहिलेको कुरा हो । कुनै जङ्गलमा एउटा घमन्डी सिंह बस्थ्यो । सिंहको जात यसै पनि घमन्डी नै हुन्छ । त्यसमा पनि ऊ अरूभन्दा बढी नै घमन्डी थियो । उसले आफूलाई संसारकै राजा हुँ भन्ने ठानेको थियो । न कसैलाई गन्थ्यो न कसैलाई भाउ नै दिन्थ्यो । जो भेटे पनि सिंहनाद गरी तर्साउँथ्यो र कच्याककुचुक पारी एकैगाँस बनाउँथ्यो । उसका डरले जङ्गली जनावर भागीभागी हिँड्थे । तैपनि कतिपय अभागी जनावर यस्ता हुन्थे, जो जति नै लुकिछिपी हिँडे पनि कुन सड्को सिंहको आहार बन्न पुगिन्थ्यो पत्तै पाउँदैनथे ।  



एक दिन सिंह सिङ्‍गै बाख्रो खाएर ओडारमा भर्खर सुतेको मात्र थियो एउटा लामखुट्टेले कानमा भुनभुन गर्न थाल्यो । संसारकै राजा हुँ जस्तो गर्दै आएको सिंहलाई जाबो लामखुट्टेले निद्रा बिथोलेको मन पर्ने कुरै भएन । तर यतिबेला ऊ पहिलो कुरा कसैसँग झगडा गर्ने मुडमा थिएन । दोस्रो कुरा उसलाई नाथे लामखुट्टेसँग झगडा गरेर के इज्जत फाल्नु जस्तो लागि रहेको थियो । त्यसैले वास्ता नगरेजस्तो गरी बिस्तारै भन्यो–



‘चुप लागन यार ! निद्रा लागेको छ, सुत्न चाहन्छु । सुतेकाको निद्रा बिथोल्नु पाप हो भन्ने थाहा छैन ?’

तर लामखुट्टले भने नसुनेजस्तो गरी आफ्नो काम जारी राख्यो । हुनसक्छ सुनेको पनि थिएन कि । किनभने सिंहले निद्रित स्वरमा बिस्तारै जो भनेको थियो ।

सिंहलाई लामुखुट्टेले आफ्नो आदेश नटेरेको जस्तो लाग्यो र कटकिँदै भन्यो–

‘ओ तुच्छ प्राणी ! भनेको सुन्दैनस् । मलाई कडा निद्रा लागेको छ, बिथोल्ने काम नगर भनेको होइन ? भुँनभुँन गर्न तत्काल बन्द गर्छस् कि ठेगान लगाइदिऊँ ?’

सिंहको व्यवहार लामखुट्टेलाई मन परेन । उसले विनम्रतापूर्वक भन्यो–

‘रिसानी माफ पाऊँ महाराज ! मेरो कारण निद्रा बिथोलिन पुगेकोमा तर यो कुरा मीठो तरिकाले सम्झाउन पनि त सक्नुहुन्थ्यो नि, यति बढी रिसाउन पर्छ त ? रिसले आफैँलाई खान्छ भन्छन् । होस गर्नुहोस् नै महाराज ! पछि पछुताउनुपर्ला ।’

लामखुट्टेले ठीकै कुरा गरेको भए पनि सिंहले पचाउन सकेन र रिसले चुर हुँदै भन्यो–

‘कस्ताकस्ता कहाँ गए मुसाको चल्ला दरबारमा भनेको यही हो । तँ को होस् ए पाजी ! मलाई अर्ती दिने । आफ्नो अर्ती आफैँसँग राख र ज्यानको माया छ भने तुरुन्त गइहाल । होइन जे पनि हुन सक्छ बुझिस् ।’

सिंहको कुरा लामखुट्टेले पनि पचाउन सकेन । पचाओस् पनि कसरी सिंहले यति बढी तुच्छ शब्द बोलेर गाली गरेको थियो कि जति बिर्सौँ भने पनि उति ताजा भएर आउँथ्यो । भनिन्छ– मनको घाउको औषधी हुँदैन । उपचार भनेको एकमात्र आफन्त र साथीभाइहरूलाई दुःख बाँड्नु नै हो । लामखुट्टेलाई पनि त्यस्तै भयो । उसले आफ्नो समूहको बैठक बोलायो र सिंहको धम्की सुनायो । यो कुरा उसको समूहले पनि पचाउन सकेन र सिंह समक्ष गएर भने–

‘महाराज ! घमन्डले सीमा नाघे जस्तो छ । तपाईँलाई लागेको होला भभन्दा ठूलो कोही छैन, जे पनि गर्न सक्छु, जे गर्दा पनि हुन्छ । त्यसो हो भने बुझ्नोस् त्यो तपाईँको भ्रम हो । समयभन्दा शक्तिशाली कोही पनि हुँदैन । जस्तोसुकै मैहँु भन्नेलाई पनि समयले कुनै पनि बेला उसको हैसियत देखाएकै हुन्छ । हामी झगडा चाँहदैनौ त्यसैले सम्झाउन आएका हौँ । भलाइ यसैमा छ कि विगतलाई बिर्सेर वानी र व्यवहारलाई सुधार्नुहोला । होइन भने हामी पनि बिर्सन बाध्य हुनेछौ कि तपाईँ जङ्गलको राजा हुनुहुन्छ भनेर ।’

लामखुट्टेहरूको कुरा सुनेर सिंह मुरमुरियो । आफू जस्तो सिंहलाई नाथे लामखुट्टेले चुनौती दिएको सहन सकेन र मेघ गर्जेझैँ गर्जदै भन्यो–

‘अए तुच्छ प्राणी ! अनावश्यक बकबक गरी किन काल खोज्दै छस् । कमिलालाई कालले कुतकुत्याएपछि पखेटा आउँछ भन्थे तिमीहरूलाई पनि त्यस्तै भए जस्तो छ । मेरो अगाडिबाट तुरुन्त हिँििडहाल्छस् कि मैले नै ठेगान लगाऊँ ?’

लामुखुट्टेहरू पनि के कम थिए र । लातको भुत वातले मान्दैन भन्दै एकैसाथ खनिए । सिंहले सकेसम्म धपाउने प्रयास ग¥यो तर केही लागेन र त्यो ठाउँ छाडेर अन्यत्रै लाग्यो तर लामखुट्टे न हुन् के बाँकी राख्थे र सिंह जता जान्थ्यो उनीहरू पनि त्यतै लाग्थे ।

यसरी कतै पनि सुरक्षित हुने ठाउँ नपाएपछि सिंहले हार मान्दै भन्यो–

‘हे वन्य बन्धु ! मलाई माफ गर । तिमीहरूलाई पनि बुझेँ, तिमीहरूको क्षमतालाई पनि बुझेँ । संसारमा कोही पनि ठूलो र सानो भन्ने हुँदोरहेनछ । अहङ्कारका कारण अहिलेसम्म यस्तो कुरा बुझ्नै सकेको रहेनछु । आज तिमीहरूले आँखा खोलेर ठूलो गुन लगाएका छौ । मबाट भएको गल्तीप्रति माफी माग्दै आइन्दा यस्तो नहुने किरिया खान्छु । सक्छौ भने एक पटलाई क्षमा देऊ ।’

एउटै धक्काले सिंहलाई ठेगान लगाउन सकिएकोमा लामखुट्टेहरू खुसी हुँदै आफ्नो निवासतिर लागे । सिंहले पनि त्यस दिनदेखि कहिले पनि कसैलाई हेप्ने र कसैप्रति दुव्र्यवहार गर्ने  धृष्टता गरेन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।