पुरुष हिंसाबारे आवाज कहिले उठाउने ?
- उसव बुढाथोकी
हाम्रो समाजमा अधिकांश घटना पुरुष पीडक हुने गर्छन् । महिला कहिल्यै पीडक हुँदैनन् । यो आश्चर्यको कुरा हो । किन सधैँ महिला मात्रै पीडित हुन्छन् ? यसको खोजी हुन आवश्यक छ ।
सार्वजनिक बसमा महिला सिट भनेर छुट्याइएको हुन्छ तर कुनै पुरुष दिनभरी श्रम गरेर वा विसन्चो भएको अवस्थामा त्यहाँ बस्यो भने महिलाले होच्याएर छाडिदिनुस्, यो महिलाको आरक्षण सिट हो भनेर दबाब दिन्छन् । २०, २५ वर्षकी युवतीले वृद्ध र अशक्तलाई पनि सिटबाट उठाउँछन् । त्यति मात्र होइन, कहिलेकहीँ बाइक, साइकल आदिबाट कुनै पुरुष लड्यो वा उकालोमा कुनै ठेलावाला दाइलाई गाह्रो भयो भने महिलाहरू नहेरी हिँड्छन् ।
अहिलेका धेरैजसो युवतीहरू तेक्वान्दो, कराँते, फुटबल खेल्छन् र आफूलाई शारीरिक रूपमा बलियो बनाउँछन् तर पनि उनीहरूको मानसिकता चाहिँ कमजोर नै राख्छन् । सरकारी कार्यालय, यातायात, कर कार्यालय लगायत स्थानमा सेवा लिन ३, ४ घन्टा लाइन बस्नुपर्छ । त्यस्ता ठाउँमा घन्टौँदेखि बसिरहेको पुरुषहरूभन्दा अगाडि २२ वर्षकी केटीलाई आउने बित्तिकै फुत्त अगाडि छिराइन्छ । तर त्यही लाइनमा ६०, ६५ वर्षका पुरुष भित्तो समाउँदै पालो कुरिरहेका हुन्छन् ।
आरक्षण र सहुलियत भनेको कमजोरलाई दिइनुपर्ने हो । के सबै महिला कमजोर छन् ? महिलाहरू किन हरेक कुरामा सहुलियत मात्र खोज्छन् ? घर, समाज, छरछिमेकमा थिचोमिचो हुँदा, बाटोघाटो, मिचिँदा त्यही घरकी छोरीचेली कानुनमा स्नातक भए पनि, नियम कानुन जानेकी बुझेकी भए पनि चुपचाप बस्छन् । तर साँवा अक्षर नजानेका उसका बुबा छलफलमा बसेर बिना गल्ती पनि गल्ती स्वीकारिरहेका हुन्छन् ।
केही समयअघि एक जना महिला कलाकारले नेपालमा कतिवटा जिल्ला छन्, राष्ट्रपति को हुनुहुन्छ भन्ने प्रश्नमा थाहा छैन भनिन् । उनी जस्ताले अभिनय गरेको फिल्मबाट समाजले के ज्ञान सिक्ला ? किनकि उनीहरू नै हामी समाजका ऐना हौँ भन्छन् । केही पहिले संसद्मा एक महिला सभासदले नोट लेखेर पढेको कुरा सामाजिक सञ्जालमा भाइरल भयो । किनकि उनलाई आफैले लेखेको पढ्न निकै सकस परेको थियो । यस्तो अवस्थामा जनताका समस्या संसद्मा कसरी पेस हुन्छन् ? त्यसकारण पढेलेखेका महिलाहरू राजनीतिमा आउनुपर्छ । जनताका पीडाहरूबारे संसद्मा खुलेर बहस गर्नुपर्छ ।
अधिकांश महिला नेतृहरू सिद्धान्त, उद्देश्यभन्दा पनि भोज, पार्टीका सुन्दर फोटो अपलोड गर्नमा बढी ध्यान दिन्छन् । घर, छरछिमेकका अधिकांश छोरीमान्छे सधैँ आश्रित मानसिकतामा रहेका देखिन्छन् । वाईफाईको पासवर्ड चेन्ज गर्न, मोबाइल अपडेट गर्न, कुनै सोसल आईडी बनाउन, अनलाइन एप्लाई गर्न दाजुभाइ वा श्रीमान्लाई गुहार्छन् । यस्तो मानसिकताले महिलालाई म किन सक्दिनँ भन्ने क्षमताको विकास हुन दिँदैन ।
घर व्यवहार चलाउन, ऋण माग्न पुरुष नै अघि सर्नुपर्छ । महिलालाई थाहै हुँदैन पैसा सापटी लिन कति गाह्रो हुन्छ भन्ने । त्यो थाहा भए ती महँगा सरसामान, गरगहनामा खर्च कम हुन्थ्यो ।
अधिकांशका श्रीमतीहरूको सोचाइ बिहे गरेपछि खान, लगाउन, घुमफिर गराउने, छोराछोरी पढाउने जिम्मेवारी श्रीमान्को हो भन्ठान्छन् । फेरि घरपरिवारलाई समय नदिएको भनेर गाली खानुपर्ने पुरुषले नै । घर छाडेन भने श्रीमती छाड्न नसक्ने जोइटिङ्ग्रे भनेर गाली खाने पनि पुरष नै हुन्छ । केही कमाउन भनी परदेशतिर गएर कमायो, यता घरको धन सम्पत्ति लिएर श्रीमती गायब । यस्तो हुँदा पीडा भोग्ने भनेको त्यही पुरुष नै हो ।
यसैगरी बिहेपछि सम्बन्ध बिग्रिएका पुरुषको अवस्था झन् कति कहालीलाग्दो छ । श्रीमतीको आनीबानी नराम्रो भयो भने अरूलाई भन्यो भने आफ्नै बेइज्जती हुन्छ भनेर सहनुपर्ने, नभनौँ त सहि नसक्नु हुन्छ । केटाले केही गर्न खोज्यो भने माइती नेपाल, पुलिस, महिला सेल, महिला अधिकारकर्मी, गाउँ समाज, वकिल लगाएर चेप्छन् । चुप लाग्यो भने कस्तो नामर्द, बूढी तह लाउन नसक्ने भन्छन् । एक थप्पड हान्यो महिला हिंसा, पुरुषले जति कुटाइ पिटाइ खाए पनि पुरुष हिंसा शब्दकोशमै छैन ।
कतिपय महिलाले परपुरुषसँग तालमेल मिलाउँदै सम्पत्ति हडप्छन्, कसैले जग्गा जमिन सम्पत्ति हात परे पछि सुटुक्क अर्कैसँग बिहे गर्छन् । बूढो जागिरे छ भने उल्टै आधा तलब खान्छन् । बिहे गरेपछि अंशको लागि कुनै मापदण्ड नै छैन । आधा अंश दिनुपर्ने, ऋण भाग नलाग्ने अनि बूढीको सम्पत्तिमा बूढाको हक नलाग्ने कस्तो कानुन होला ? हन्नी ट्रयापमा परी बलात्कारका केसमा फसेर धेरै मानिसको जीवन बर्बाद भएका छन् । सहमतिमा गरेका कार्य पनि माग पूरा नभएपछि जबर्जस्ती करणी मुद्दा लगाउँछन् । वास्तविक पीडित हो भने किन पैसामा बिक्छन् ?
लिभिङ टुगेदरमा बसेका, फाइभ स्टार होटलमा गरिएका रेप केसमा पनि जबर्जस्ती करणीको मुद्दा चलाउने गर्छन् । यस्ता कैयौँ केसमा पुरुष बहस गर्न चाहँदैनन् । किनभने उसलाई सबैले पुरुषवादी सोच तथा दास प्रवृत्ति भन्छन् र कतिपय मानिस पपुलर हुन महिलालाई उक्साउने गर्छन् । महिलामैत्री भन्दैमा सही गलत के हो ? गहिरो अध्ययन, अनुसन्धान नगरी बोल्ने, भोट कमाउने, डलर पचाउने कार्यले सोझासीधा र कम पढेका धेरै पुरुष फन्दामा परिरहेका छन् । यस्ता पुरुष हिंसाबारे कहिले आवाज उठाउने ?
भक्तपुर, हालः दुबई