बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस प्रदेश : प्रदेशसभामा रिक्त समिति सभापति पदका लागि उम्मेदवारी दर्ता हुँदै

सोमबार, २४ माघ २०७८, ०९ : ५५
सोमबार, २४ माघ २०७८

मधेस प्रदेशको प्रदेशसभामा रिक्त विभिन्न समितिका सभापतिहरू चयनका लागि आज प्रदेशसभामा उम्मेदवारी दर्ता हुँदैछ । यसका लागि दलहरूबीच छलफल अहिलेसम्म पनि जारी रहेको छ ।

प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले प्रदेशसभा अन्तर्गतको रिक्त सार्वजनिक लेखा समिति, प्राकृतिक श्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको रिक्त रहेका सभापति पदका लागि उम्मेदवारी आह्वान गरेका थिए ।

सत्तारुढ दलहरूले सर्वसम्मतिमै सभापति चयन हुने जनाएका छन् । आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले माओवादी केन्द्रले पनि एउटा समितिको सभापति पाउनुपर्ने दाबी गरेको बताए । सत्तारुढ नेपाली काँग्रेसले सार्वजनिक लेखा समिति, नेकपा एकीकृत समाजवादीले कृषि तथा भूमि व्यवस्था समिति र माओवादीले प्राकृतिक स्रोत तथा वातावरण समितिमा आ–आफ्नो दाबी गर्दै आएको छ ।

यता प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीले सार्वजनिक लेखा समितिको सभापति पाउनु पर्ने दाबी गर्दै आएको छ । संसदीय व्यवस्थामा सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दलको रूपमा लोसपा नेपालले पाउनुपर्ने प्रमुख सचेतक परमेशर साहको दाबी छ  ।

यता विभिन्न समितिहरूमा रहेका सदस्यहरू समेत हेरफेर गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार नेकपा एकीकृत समाजवादीले कृषि तथा भूमि व्यवस्थामा समितिमा रहेका सदस्य रवीन्द्र बैठा धोवीलाई अर्थ तथा योजना समितिमा ल्याइएको जनाएको छ । त्यस्तै बैठाको स्थानमा अर्थ तथा योजना समितिमा रहेका मदन सेन श्रीवास्तवलाई कृषि तथा भूमि व्यवस्थामा ल्याइएको प्रदेशसभा सचिवालयले जनाएको छ । कृषि तथा भूमि व्यवस्थामा एकीकृत समाजवादीका दुई जना सदस्य मञ्जु यादव र अर्का एक सदस्यमा श्रीवास्तवलाई ल्याइएको छ ।

स्रोतका अनुसार दलहरूबिच भएको सहमति अनुसार कृषि तथा भूमि व्यवस्था समितिको सभापति श्रीवास्तवलाई नै बनाउने भएकाले उनलाई यस समितिमा ल्याइएको जनाएको छ । त्यस्तै माओवादीले जगतप्रसाद यादवलाई प्राकृतिक श्रोत तथा वातावरण समितिको सभापति बनाउने तयारी गरेको छ ।

काँग्रेसको भागमा परेको सार्वजनिक लेखा समितिमा नरेश कुमार यादव वा शिवचन्द्र चौधरी मध्ये कुनै एकलाई सभापति बनाउने योजना रहेको काँग्रेसका एक नेताले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप