समले नेपाली नाटकको रूपरेखा नै बदलिदिए : प्राडा कृष्ण गौतम
राणा परिवारभित्र जन्मिएर पनि नेपाली साहित्यको खास गरी नाटक क्षेत्रमा बालकृष्ण समको विशिष्ट योगदान छ । उनका हजुरबा डम्बर शमशेरको घरमा प्रायः सधैँ नाटक देखाइन्थ्यो । त्यसो हुँदा समले नाट्यकारिता घरमै सिके । नाट्य लेखनमा उनको झुकाव बढ्यो ।
२४ माघ, विसं १९५९ सालमा काठमाडौंको ज्ञानेश्वरमा उनको जन्म भएको थियो । बालकृष्ण सम नेपाली साहित्यमा पुनर्जागरण ल्याउने विशिष्ट साहित्यकार हुन् । नेपाली साहित्यमा उनले अलौकिक सत्य (स्वर्ग, नर्क, भूत, प्रेत आदि) बाट छुटाएर यस धर्तीको सत्य (सामान्य जनजीवन) लाई प्रवेश गराउने काम गरे । समालोचक प्राडा कृष्ण गौतम बालकृष्ण समलाई पछ्याउने अर्को नाटककार देख्दैनन् । ती साहित्यिक स्रष्टालाई आधुनिक पुस्ताले कसरी सम्झने ? उनका योगदानबारे प्राडा गौतमसँग रातोपाटीका लागि शिखर मोहनले गरेको साहित्यिक वार्ता :
–नेपाली साहित्यमा बालकृष्ण समलाई कस्ता खालका साहित्यकार भनेर सम्झने ?
बालकृष्ण सम नेपाली साहित्यका पुनर्जागरण कालका श्रेष्ठ नाट्यकार, श्रेष्ठ कवि, श्रेष्ठ लेखक हुन् । विसं १९७५ तिरदेखि नेपाली साहित्यमा नयाँ जागरण आयो, त्यो पुनर्जागरण युग थियो । त्यो नयाँ जागरण पश्चिमको प्रभावले आएको हो । त्यसले पुराना हाम्रा अन्धविश्वासका कुरा, अपशकुनका कुरा, देववादी–देवता नै सबै सबैभन्दा ठूलो हो भन्ने, स्वर्गवादी कुरा र रहस्यवादी कुराहरूलाई उडाइदियो, सखाप पार्दै आयो ।
त्यो पुनर्जागरणले नेपाली साहित्यलाई मानव केन्द्रित बनाउन प्रयत्न गर्यो । सोचलाई, जीवनलाई मानव केन्द्रित बनाऔँ, धर्ती केन्द्रित बनाऔँ, आफूलाई हेरौँ, आफ्नो जीवनलाई हेरौँ, यही जीवनलाई स्वर्ग बनाउन प्रयत्न गरौँ, यही धर्तीलाई स्वर्ग बनाउन प्रयत्न गरौँ, यही जीवनलाई देवता बनाउन प्रयत्न गरौँ भन्ने भावना १९७५ तिरदेखि नै आयो । योभन्दा पहिले पनि अलिअलि आएको हुँदो हो । तर १९७५ मा लेखनाथ पौडेलको ‘सत्यकली संवाद’ निस्कियो । त्यसपछि देवकोटाजी पनि आए, बालकृष्ण सम पनि आए, अरू अरू कवि पनि आए । सबैले के देखाए भने जीवनलाई जीवनकै रूपमा हेरौँ, टाढा स्वर्गतिर ज्यादा ध्यान नदिऔँ । हामी ज्यादा परलोकवादी नबनौँ ।
परलोकमा विश्वास गरे पनि मानवतावादी भावनालाई बालकृष्ण समले उठाए । यो समको महत्त्वपूर्ण योगदान हो । देवकोटा पनि मानववादी देखिए । रुद्रराज पाण्डेहरूले पनि मानववादी दृष्टिकोणलाई लिएर हामीलाई नयाँ सोचको परिभाषा गराए । बीपी कोइरालाले त मानवलाई नै केलाउनुपर्छ भनेर मनोविश्लेषणात्मक पद्धति आवश्यक छ भन्ने देखाए । १९९० तिरको युग त्यति ठूलो जागरणको युग थियो, त्यसबेला ‘शारदा’ पत्रिका पनि निस्कियो । बालकृष्ण समको ‘मुटुको व्यथा’ नाटक पनि १९८६ मै निस्कियो ।
‘तानसेनको झरी’ (विसं १९७७) उनको प्रथम नाटक हो भने प्रकाशित भएको पहिलो नाटक चाहिँ ‘मुटुको व्यथा’ (१९८६) हो । उनका मुटुको व्यथा (१९८६), प्रह्लाद, ध्रुव, अन्धवेग, मुकुन्द–इन्दिरा, भक्तभानुभक्त, म, प्रेमपिण्ड, अमरसिंह, भीमसेनको अन्त्य, तलमाथि, तानसेनको झरी, अमित वासना, स्वास्नीमान्छे, मोतीराम, ऊ मरेकी छैन लगायत धेरै नाटक प्रकाशित छन् । उनको नाट्य यात्रा वि.सं. २०३५ सम्म चलिरह्यो । उनले कविता, कथा, निबन्ध, आत्मसंस्मरण आदिमा पनि सशक्त कलम चलाएका छन् ।
–राणा परिवारमा जन्मिएका व्यक्ति हुन् उनी, त्यसको प्रभाव साहित्यमा देखिन्छ ?
बालकृष्ण समले ‘मेरो कविताको आराधना’मा आफ्नो बारेमा खुलस्त लेखेका छन् । उनले म राम्रो राणाजी पनि बन्न सकिनँ, राम्रो दुनियाँ पनि बन्न सकिनँ भनेर लेखेकै छन् । त्यसबाट उनी राणा परिवारका हुन् भन्ने थाहा हुन्छ । राणा परिवारमा मेरो जीवन कस्तो थियो, खानपान, लवाइ खवाइ आदिबारे सबै लेखेका छन् ।
उनी सम्भ्रान्त परिवारका थिए । त्यसैले सम्भ्रान्त भावना अर्थात् अभिजात भावना उनका कृतिहरूमा जताततै देखिन्छ । गरिबलाई हेर्दा पनि उनले गरिबभन्दा अलि सम्भ्रान्त दृष्टिकोणले नै सोच्न खोजेको हो झैँ देख्छौँ । उनका कविताहरू एकदम माझिएका छन् । लेखनाथका भन्दा पनि माझिएका कविता छन् । उनी सम्भ्रान्त परिवारका भएकाले सुकिलो मुकिलो र चिटिक्क भएर हिँड्ने गर्थे । समका बारेमा देवकोटाले ‘हँसिदिल्लगी’ शीर्षकको कवितामा ‘लम्बा लबेदा लम्फर्दै, यहुदी अनुहारका, सफा नयाँ नास्तिक छन्, अद्र्ध दर्शन तारका’ भनेर लेखेका छन् ।
–समले खास गरी नाटक क्षेत्रमा योगदान दिएका छन्, उनी नाट्य क्षेत्रमा आउनुअघि र पछि नेपाली नाटकको अवस्थामा कति फरक देख्नु भएको छ ?
नेपाली नाट्य क्षेत्रमा उनको आगमन अघिको अवस्थालाई हेर्दा मोतीराम भट्टले केही गरेका छन् । उनले प्रियदर्शिका (१९४९) शकुन्तला, पद्मावती जस्ता नाटक लेखेका छन् तर धेरै चाहिँ अन्य भाषाका साहित्यको बढी अनुवाद र प्रकाशन गरे । उनले आफ्नो मैलिकता त त्यति धेरै दिएनन् । यस्तै पहलमान सिंह स्वाँरले अटल बहादुर, लालुभागा, विष्णुमाया, जगत सिंह जस्ता नाटक लेखे । अटलबहादुर पहिलो नेपाली नाटक हो । यसमार्फत् केही गर्न खोजे जस्तो देखिन्छ तर बालकृष्ण समको उचाइमा उनी आउन सकेनन् ।
त्यो समय भनेको राणा शासनको युग थियो । बालकृष्ण समको घरमा पूरै नाट्य प्रदर्शन हुने गथ्र्यो । हजुरबा डम्बर शमशेरको घरमा प्रायः सधैँ नाटक देखाइन्थ्यो । त्यसो हुँदा समले नाट्यकारिता घरमै सिके । साथै अङ्ग्रेजी साहित्यकार सेक्सपियरका सहित्यको गहन अध्ययन गर्ने वातावरण पनि उनले पाए । सेक्सपियरका नाटकहरु धेरै अध्ययन गरे, त्यसले पनि उनलाई नाटकबारे विशेषज्ञता प्राप्त हुँदै गयो ।
उनका पद्य नाटक ज्यादै प्रसिद्ध छन् । मुटुको व्यथा, मुकुन्द इन्दिरा, प्रह्लाद, अमरसिंह प्रसिद्ध पद्य नाटक हुन् भने प्रेमपिण्ड जस्ता गद्य नाटक पनि लेखेका छन् । तर उनले नाट्यकारितालाई एकदमै परिवर्तन गरेका छन् । त्यसैले बालकृष्ण समले नेपाली नाटकको रूपरेखा नै बदलिदिए । मुटुको व्यथामा आउँदाखेरि नयाँ आस्वाद पाठकहरूले पाए ।
मुटुको व्यथा सेक्सपियरको ब्ल्याङ्कभर्सको अनुसरणमा लेखिएको भए पनि त्यसमा प्रयोग भएका पात्रहरू, परिवेश नेपाली नै छन् । नेपालकै जनजीवनको चित्रण छ । तर पनि समालोचकहरुले बालकृष्ण सम सामान्य जनजीवनका चित्रकार होइनन् भन्छन् । मुकुन्द इन्दिरामा नेवार पात्रलाई ल्याएका छन् तर उनले नेवारी जनजीवनलाई चिन्दै चिनेका छैनन् ।
–उनलाई नाट्य सम्राट चाहिँ किन भनियो ?
सरकारी तह वा संस्थागत तहबाट या कुनै विशेष संस्थाले नाट्य सम्राट भनेर उनलाई सम्मान दिएको छैन तर पढ्दा, पढाउँदा चाहिँ भन्ने गरेको पाइन्छ । हामीले भन्ने त लेखनमा न हो । तर उनलाई त्यो सम्मान दिँदा राम्रै हुन्छ । किनभने नाटकप्रति उनको गहन अध्ययन र चिन्तन छ ।
नाटककर्ममा पनि उनका मीठा मीठा कविता छन् । जब हामीहरूलाई अधोपतन सिन्धुका लहराहरूले बेरी थाल्नेछन् गाड्न तलतिर, त्यसबेला समातेर तिम्रै अमर सम्झना, नडुबीकन उत्रेर रहने छौँ सबैजना । यस्ता मीठा मीठा कविता नाटकमै रचना गरेका छन् । अबगाल नै पर्यो नाक राखी राजा रैति सुखौ, फेरि ज्वालामुखी घन्क्यो सुनौला तरबार भो, यस्तो यस्तो लेख्न जो कसैले सक्दैन । कि देवकोटाले सक्थे, कि समले सक्थे ।
चिसो चुल्हो महाकाव्य हेर्दाखेरि त्यहाँका कविता चाहिँ गजबका छन् । त्यसको नायक मात्र हामीलाई मन पर्दैन । किनभने त्यसमा उनले जातजातिका आधारमा नायक बनाए, नायक हुने व्यक्तित्व वा योग्यता दिलाएनन् । महाकाव्यको नायक त महान् व्यक्तित्व भएको हुनुपर्छ नि । जस्तो देवकोटाले प्रमिथसमा नायक बनाए, प्रमिथस त महान् व्यक्ति हुन् । ग्रिसको मिथकमा स्वर्गको आगो धर्तीमा ल्याएर मानव जातिको कल्याणका लागि धर्तीमा फिँजाउने प्रमिथस हुन् । त्यो सामाथ्र्य पनि चिसो चुल्होको नायकमा हुनुपथ्र्यो । तसर्थ भर्खर प्रजातन्त्र आएको बेला सबै जातजातिलाई सम्मान गर्नुपर्छ भन्ने भावनामा आएर त्यस्तो गरेका हुन सक्छन् ।
–अहिले नाट्य क्षेत्रमा उनलाई पछ्याउने सशक्त नाटककार आएका छन् ?
बालकृष्ण समलाई पछ्याउने नाटककार छैनन् । किनभने अहिले पद्य नाटक लेखिँदैनन्, गद्य नाटक मात्र लेखिन्छ । नाटक भनेको देखाउने, मञ्चन गर्ने कुरा हो; साहित्यिक होइन भनेर गलहत्याइ पनि दिए । नाटकमा साहित्य हुनैपर्छ भन्ने होइन, गद्य नाटक हुनुपर्छ, देखाउन र हेर्न लायक हुनुपर्छ । दर्शकमा प्रभाव जगाउने खालको हुनुपर्छ भन्ने कुराको विकास भयो । त्यसैले यो युगमा पद्य नाटक लेखिँदैन, यो उत्तर आधुनिक युगमा त जे पनि साहित्य बन्छ; जहाँ पनि साहित्य छ । साहित्य यो हो, त्यो होइन भन्ने नै छैन ।
–पद्यमा नाटक लेखेर पनि किन सम नेपाली नाटकमा सर्वोत्कृष्ट छन् ?
संस्कृत नाटक पनि पद्य र अद्र्ध पद्यमा नै हुन्थे । लेखनाथ संस्कृत नाटकमै शिक्षित थिए । उनका भर्तृहरि निर्वेद, लक्ष्मीपूजा, गौरी–गौरव नाटक भन्ने पनि छन् । लक्ष्मी पूजा चाहिँ अलि गद्यात्मक छ । संस्कृत साहित्यमा ठाउँ ठाउँमा पद्य हालेर मीठो नाटक लेख्ने चलन थियो । त्यसकारण पद्य नाटकमा नेपाली परिचित छन् ।
तर पछि पश्चिममा सेक्सपियरको पद्य नाटकलाई कृत्रिम हो भनेर इब्सेनले गद्यमा लेख्न थालेका हुन् । उनले सन् १८७९ तिरदेखि यथार्थवादी नाटकको प्रवर्तन गरेका हुन् । इब्सेनबाटै प्रभावित भएर रिमालले मसान नाटक लेखेका हुन् । यथार्थवादी नाटकको प्रवर्तन गर्ने गोपालप्रसाद रिमालले धेरै लेख्न पाएनन्, उनको नाटक पनि धेरै तार्किक छ । माधव घिमिरेले पनि मालती मङ्गले, हिमालपारि हिमालवारि जस्ता अलि अलि पद्यात्मकता भएका गीति नाटक लेखेका छन् ।
त्यसपछि विजय मल्लले कोही किन बर्बाद होस, जिउँदो लास, पत्थरको कथा, बौलाहा काजीको सपना, स्मृतिका पर्खालभित्र–मानिस र मुकुन्डो लगायत निकै दरिला नाटक लेखेका छन् । ध्रुवचन्द्र गौतमले त्यो एउटा कुरा जस्ता विसङ्गतिका नाटकहरू लेखे । तर नाटक लेख्नु जटिल कार्य हो, जो पायो त्यहीले नाटक लेख्न सक्दैनन् । त्यसैले अहिले बालकृष्ण सम जत्तिको बौद्धिक उचाइमा लेख्ने नाटककार भन्दा आधुनिक र उत्तर आधुनिक नाटक लेख्नेहरू बढी छन् ।
बालकृष्ण सम नेपाली साहित्यका मूर्धन्य नै हुन् तर पनि उनको पद्य लेखनलाई कृत्रिम भन्ने गरिन्छ । पद्यमा बोल्दा दर्शकले त्यति राम्ररी बुझ्दैनन्, नबुझिने हुन्छ । उनका पद्य नाटक सुन्दैमा नयाँ दर्शकले बुझ्दैन पनि, मञ्चन गर्न पनि केही अफ्ठ्यारा छन् । त्यसैले दृश्यमा अलि कम भए पनि पाठ्य नाटकमा सम सर्वोत्कृष्ट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झारखण्डको विधानसभा निर्वाचनमा भाजपा र जेएमएमको प्रतिस्पर्धा, काङ्ग्रेस पछिपछि
-
नवलपुरमा गैँडाको आक्रमणबाट एक पुरुषको मृत्यु
-
दोस्तोयभ्स्कीका पाँच उपन्यास
-
आइपीटीपी बैठकमा सहभागी हुन सभामुख घिमिरे कम्बोडियामा
-
तेक्वान्दो प्रशिक्षक अधिकारीलाई आउटस्टयान्डिङ सम्मान
-
धरहरा परिसरमा व्यावसायिक भिडियो छायाङ्कन गर्न प्रतिघण्टा ५ हजार