शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा विवाद : ‘नयाँ निर्णय’ लिने तयारीमा कमल थापा

सोमबार, २४ माघ २०७८, ०७ : ११
सोमबार, २४ माघ २०७८

शनिबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्व अध्यक्ष कमल थापाबीच जारी विवादका सन्दर्भमा करिब डेढ घण्टा वार्ता भए पनि कुनै सकारात्मक सङ्केत देखिएको छैन । बरु पूर्व अध्यक्ष थापा आफ्नो माग सम्बोधन नहुने देखेर एक दुई दिनभित्रै ‘नयाँ निर्णय’ लिने गरी अघि बढेका छन् ।

गत महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे पार्टीभित्र छानबिन हुनुपर्ने एक सूत्रीय माग अघि सारेका थापाले अध्यक्ष लिङ्देनले आफ्नो मागबारे सुनुवाइ नगरे ‘नयाँ निर्णय’ लिएर अघि बढ्ने तयारीमा जुटेका हुन् । शनिबार थापा निवास बूढानीलकण्ठमा थापाले उठाएका मागबारे छलफल भएपछि यो विषयमा छलफल हुन नसक्ने धारणा लिङ्देनले राखेको एक नेताले रातोपाटीलाई बताए । निर्मल निवासको हस्तक्षेपबारे छलफल भए आफ्नो वैधानिकतामाथि नै प्रश्न चिन्ह खडा हुने लिङ्देनको जिकिर थियो । यता राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थितिमा छलफल प्रारम्भ भए पनि विस्तृतमा छलफल भइनसकेको जिकिर गरे । उनले अझै पनि पार्टी एकढिक्का भएर जानेमा विश्वास व्यक्त गरे । 

बूढानीलकण्ठ छलफलपछि थापाले लिङ्देनमाथि आफ्नो मागबारे थप दबाब बढाउने नीति अख्तियार गरेका छन् । केही नलागे छुट्टै बाटो लागेर राजनीतिक गतिविधि अघि बढाउने तयारी थापामा देखिन्छ । कोरोना महामारी र स्वास्थ्यमा प्रतिकूलता भएपछि केही साता निष्क्रिय जस्तै रहेका थापा अब भने चुप लागेर नबस्ने निर्णयमा पुगेको उनी निकटस्थ नेताको भनाइ छ  । कमल थापा निकट नेता राजाराम बर्तौलाले आफूहरूले उठाएका माग सम्बोधन गर्न पार्टी नेतृत्वलाई अब धेरै समय नभएको भन्दै एक दुई दिन भित्र सुनुवाइ नभए नयाँ बाटोबाट अघि बढ्ने गरी छलफल प्रारम्भ हुने रातोपाटीलाई बताए । उनले नयाँ पार्टी गठन गरेर जाने, समानान्तर गतिविधि गर्ने वा यसअघि घोषणा गरिएजस्तै ‘राष्ट्रिय एकता अभियान’ सञ्चालन गर्ने भन्नेबारे भने स्पष्ट खुलाएनन् । तर, आफ्नो समूहभित्र छलफलपश्चात् निस्कने निष्कर्षका आधारमा कदम चालिने उनको भनाइ थियो । ‘सबै विकल्पमा छलफल हुन्छ । जुन विकल्प उपयुक्त हुन्छ त्यही आधारमा अघि बढ्ने हो’, उनको भनाइ छ ।  

‘उहाँ (कमल थापा)ले उठाउनुभएको विषयलाई पार्टीले सम्बोधन गर्ने धेरै समय छैन । एक दुई दिनभित्र सम्बोधन भएन भने छलफल प्रारम्भ हुन्छ’, उनले रातोपाटीसँग अगाडि भने, ‘तत्काल त्यो विषयको सम्बोधन वा किनारा लाग्यो भने र पार्टीमा सुनुवाइ भएको खण्डमा सँगै काम गर्ने अवस्था बन्छ नत्र भने समस्या त बढ्छ ।’

 उनले पहिलो प्राथमिकता पार्टीमा आफूहरूको मागको सुनुवाइ होस् नै भन्ने रहेको पनि बताए । ‘हामी यही पार्टीभित्रै समस्याको समाधान हुन्छ भन्नेमा आशावादी छौँ’, उनले भने, ‘माग सम्बोधन नभएको सन्दर्भमा नतिजा निकै दुःखदायी र पीडादायी हुन्छ ।’  

आफ्नो मागसम्बन्धी अडानकै कारण कमल थापा लामो समय पार्टीमा सक्रिय छैनन् । थापाको स्वभाव लामो समय निष्क्रिय बस्ने नरहेकाले छिटो निर्णय लिनुपर्ने अवस्था रहेको राप्रपाभित्रका थापा निकटस्थ नेताहरु बताउँछन् ।  थापाले आफू निकटस्थलाई कुरा नमिले चुनावको घोषणासँगै नयाँ पार्टी निर्माण गरेर अघि बढ्न सकिनेबारे पनि बताएका छन् ।

बर्तौला पनि मागको सम्बोधन नभए कुनै न कुनै रूपमा सक्रियता जरुरी हुने बताउँछन् । त्यसका लागि स्थानीय निर्वाचनको घोषणापछि निर्णय लिन सहज हुने उनको धारणा छ ।

‘मागको सम्बोधन नभए त यत्तिकै सक्रिय हुने अवस्था आउँदैन । उहाँले निष्क्रियतालाई कसरी सक्रियतामा रूपान्तरण गर्ने भन्ने विषयमा पनि विभिन्न मोडलहरूमा समूहभित्र छलफल गर्नुहुन्छ’, बर्तौलाले भने, ‘आज त चुनाव पनि घोषणा हुन्छ होला ।  त्यसपछि आफ्नो माइन्ड मेकअप गरेर अगाडि बढ्छु भन्नुभएको छ । पहिला निर्वाचन घोषणापछिको अवस्थालाई अघि बढ्छु भन्नुभएको छ ।’

थापाले एक दुई दिन पर्खेर त्यसपछि अघि बढ्ने बताउँदै गर्दा संस्थापन पक्ष भने कुनै पनि हालतमा निर्मल निवासको हस्तक्षेपबारे छानबिन हुन नसक्ने अडानमा रहेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे छानबिन माग गर्नु भनेको आफू निर्वाचित भएको विषयमै पनि प्रश्न उठाइनु भएकाले यो विषयमा छलफल हुन नसक्ने स्पष्ट गरे । गत मङ्सिर दोस्रो साता भएको राप्रपाको महाधिवेशनका क्रममा आफूलाई हराउन निर्मल निवास लागिपरेको थापाले जिकिर गर्दै आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप