३२ वटै वडा भवन मौलिकता झल्किने खालका हुनेछन् : मेयर शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले आफ्नै कार्यकालमा ३२ वटै वडाका आफ्नै कार्यालय भवन निर्माण–पुर्ननिर्माण कार्य सम्पन्न गर्ने नीतिलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन् ।
आइतबार वडा नम्बर २७ को वडा भवन शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् । ‘२०७४ सालको स्थानीय निर्वाचन पछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो,’ शाक्यले भने, ‘महानगरपालिकाले जीर्ण अवस्थामा रहेका भौतिक संरचनालाई अहिलेको आवश्यकता अनुसार सेवामैत्री बनाउने र जहाँ भवन छैनन् त्यहाँ नयाँ भवन निर्माण गर्ने नीति नै लिएको थियो । पहिलो बैठकबाट गरेको त्यो निर्णय अहिले हाम्रै कार्यकालमा कार्यान्वयनको चरणमा छ ।’
उनले त्यहि नीतिअनुसार अघि बढ्दा जनप्रतिनिधि मात्रै होइन सेवाग्राही पनि खुशी भएको बताए । ‘हामीले कतै नयाँ भवन निर्माण गरेका छौँ । कतै तला थपेका छौँ । अनि कतै सार्वजनिक र केही आफ्नै स्वामित्वमा रहेका जग्गामा भवन निर्माण गरिरहेका छौँ । केही ठाउँमा स्थानीयसँग सहकार्य गरेर पनि अघि बढेका छौँ ।’
उनले अहिलेको कार्यकाल संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि स्वर्ण युग भएको पनि स्मरण गराए । ‘मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि हाम्रो कार्यकाल स्वर्ण युग हो,’ शाक्यले भने, ‘अहिले जति सम्पदा निर्माण–पुनर्निर्माणको काम यसअघि भएको थिएन । हामी गौरवका साथ भन्न सक्छौँ । हाम्रो पालामा जति सम्पदा निर्माण, पुनःनिर्माणको काम यस अघिका जनप्रतिनिधिबाट भएको थिएन ।’
प्रमुख शाक्यले वडा नम्बर ३, ४, ९, १४, १८ र २६ ले नयाँ भवनबाट सेवाग्राहीलाई सेवा सुरु गरेको जानकारी समेत दिए । ‘वडा–२, ६, १२, १६, २०, २१, २२, ३१ को निर्माण कार्य भैरहेको छ,’ उनले भने, ‘५, ७, १०, १५, १७, ३२ को तला थपेर सञ्चालनमा छन् ।’ वडा ८ र ११ को खरिद प्रक्रिया अघि बढेको उनले जानकारी दिए । ‘वडा–२७ को आज शिलान्यास भयो । २९ र ३० को जग्गा खरिद प्रक्रिया अघि बढेको छ ।’
उनले वडा–१९ को जग्गा खरिद प्रक्रियामा केही समस्या भएकाले ढिलाई भैरहेको भन्दै वडा–१३, २४ र २५ बन्न बाँकी रहेको बताए । महानगरपालिकाले दिएको जानकारीअनुसार २८ को भवन निर्माणका लागि जग्गा खोजिरहेको छ भने वडा–२३ भाडामा सञ्चालित छ ।
शाक्यले अहिले जति पनि वडा कार्यालय भवन बनेका छन् ती मेयर, उपमेयर वा वडाध्यक्ष– सदस्यका लागि नभई स्थानीय जनताका भएको पनि बताए । ‘हामीले हाम्रो जिम्मेवारी पूरा गरेका छौँ । हामी कहिलेकाँही मेयर वा वडाध्यक्षका पालामा बनाएपछि उसैको हुने हो कि भन्ने भ्रममा पर्ने गर्छौ,’ उनले भने, ‘जुनसुकै वडा कार्यालय बन्दा मेयर वा वडाध्यक्षले हाम्रो पालामा काम सम्पन्न गर्न पायौँ भन्ने आत्मसन्तुष्टि मात्रै लिने हुन् । सेवा–सुविधा त स्थानीयले लिने हो नि ?’
शाक्यले काठमाडौँ महानगरपालिकाले सबै वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि जानकारी दिए । ‘हामीले निर्माण गरेका र गर्ने तयारी गरेका सबै वडा भवनको बाहिरी स्वरुप एकै खालको र मौलिकता झल्किने हुनेछ,’ उनले भने, ‘भवन परम्परागत नेपाली शैलीको भए पनि भित्र सेवाग्राहीको सेवालाई ध्यानमा राखेर निर्माण गरिरहेका छौँ ।’
कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडा–२७ का अध्यक्ष चिनियामान बज्राचार्यलगायतले पनि सम्वोधन गर्नुभएको थियो । करिब ४ आना क्षेत्रफलमा निर्माण हुने वडा–२७ को भवनको इष्टिमेट रकम ३ करोड ७९ लाख २७ हजार ७ सय १८ रुपैँया रहेको र कार्यादेश रकम भ्याट समेत २ करोड ८० लाख ८१ हजार ६ सय ३१ रुपैयाँ रहेको छ । लिफ्टसहितको अपाङ्गमैत्री भवन ६ तलाको हुनेछ । सोही भवनमा क्लव पनि रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी वायुको सामान्य प्रभाव : यी प्रदेशमा हल्का वर्षादेखि हिमपातको सम्भावना
-
काठमाडौंका यी स्थानमा कतिबेर जाँदैछ विजुली ?
-
आज पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
-
अमेरिकी डलरको मूल्य उच्च विन्दुमा, अन्य विदेशी मुद्रा कसको भाउ कति ?
-
शनिबार आज कसको भागमा कति लाभ ? हेर्नुहोस् राशिफल
-
ला लिगामा रायो भायकानो विजयी