आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

फागुन १ गतेदेखि स्मार्ट लकडाउन खुकुलो : विद्यालयदेखि रात्रिकालीन व्यवसाय खुल्ने

आइतबार, २३ माघ २०७८, २१ : ३९
आइतबार, २३ माघ २०७८

सवारी साधनमा हाल कायम रहेको जोरबिजोर प्रणाली भोलि सोमबारदेखि हट्ने भएको छ । सीसीएमसीसीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

आइतबार नै बसेको सीसीएमसीसीको बैठकले कोरोनाको जोखिम कम भएको भन्दै जारी स्मार्ट लकडाउन थप खुकुलो बनाउन सिफारिस गरेको थियो । सो सिफारिससँगै उपत्यकाका सीडीओहरूले गृह मन्त्रालयको निर्देशनमा सिफारिसलाई कार्यान्वयनमा लागेका हुन् ।​

विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी आगामी फागुन १ गतेदेखि सञ्चालन गर्ने पनि निर्णय गरिएको छ ।  १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने प्रशासनद्वारा जारी आदेशमा भनिएको छ ।

 


सोही दिनदेखि रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै सञ्चालन गर्न पाइने भएको छ । डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १ गतेदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन गर्न पाइने भएको हो ।

खेलकुद कार्यक्रम सञ्चालन गर्दा एक पटकमा कूल दर्शक क्षमताको ५० प्रतिशतमात्र उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड र सम्बन्धित खेलको अन्तर्राष्ट्रिय नियम परिपालन गरी सञ्चालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्थाका गर्ने निर्णय गरिएको छ । त्यस्तै सोमबारदेखि पार्टी प्यालेसमा खोप लगाएका बढीमा सय जना भेला हुन पनि पाइने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप