बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : एमसीसीको पत्रले तरङ्ग, अब के होला ?

आइतबार, २३ माघ २०७८, २१ : १५
आइतबार, २३ माघ २०७८

 

आज २०७८ माघ २३ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

१. एमसीसीबारे बालुवाटारमा वार्ता

नेकपा एमालेले एमसीसीबारे सत्तापक्षमै स्पष्टता जरुरी रहेको बताएको छ। सत्तापक्षभित्रै एमसीसीबारे समान धारणा नरहेको एमालेको भनाइ छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकमा एमालेले एमसीसीबारे सत्तापक्षबाट स्पष्ट दृष्टिकोण आएपछि मात्रै पार्टीले पनि आफ्नो धारणा ल्याउने बताएको हो । 

२. प्रचण्ड नैतिक संकटमा

झण्डै पाँच महिनाअघि प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकालाई एमसीसी पास गर्ने प्रतिवद्धतासहितको पत्र पठाएकोमा त्यसअनुरुप काम नभएको भन्दै एमसीसी बोर्डले पुनः ताकेता गरेको छ । एमसीसीको यस्तो ताकेताले सबभन्दा बडी नैतिक संकट माओवादी अध्यक्ष प्रचण्डलाई परेको छ ।

३. कोरोना संक्रमणदर निरन्तर ओरालो 

पछिल्लो साता कोरोनाभाइरस संक्रमित हुनेको संख्या निरन्तर घट्दै गएको छ । स्वास्थ्य जना जनसंख्या मन्त्रालयले संक्रमणदर घट्दै गएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  १३८६ जनामा संक्रमण पुष्टि भएको छ भने सोही अवधिमा ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । ​

४. प्रदेश १ मा सरकार विस्तार

प्रदेश नम्बर १ का नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री राजेन्द्र राईको सिफारिसमा प्रदेश प्रमुखले नवनियुक्त मन्त्रीहरुलाई नियुक्त गरेसँगै आइतबार नै शपथ ग्रहण सम्पन्न भएको हो । प्रदेश १ मा भागबण्डाकै लागि मन्त्रालय फुटाएर १४ सदस्यीय बनाइएको छ ।

५. लता मङ्गेशकरको निधन​

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेकी छन् । विश्वप्रसिद्ध गायिका मङ्गेशकरको आज ९२ वर्षको उमेरमा निधन भएको हो । राष्ट्रपतिले मङ्गेशकरले नेपाली गीत सङ्गीतमा दिएको योगदानको स्मरण गर्दै शोक प्रकट गरेकी हुन् ।​

 

६. विजय चौधरी हत्या प्रकरण 

गत माघ ८ गते नवलपरासीको रामग्राम नगरपालिका ९ पिपरहिया र जोकवारी सडक खण्डमा एकजना पुरुषको शव फेला पर्‍यो । हात बाँधेर घाँटीमा कपडाले बेरी हत्या गरी सडक छेउको नालीमा फालिएको अवस्थामा फेला परेको शव थियो, विजय चौधरीको । काठमाडौँको असनमा डेरा गरी बस्ने चौधरीको असनमा भाँडाकुँडा, हार्डवेयर लगायतको व्यवसाय थियो । विजयका छिमेकीका अनुसार उनले असन लगायतका क्षेत्रमा तीनवटा पसल सञ्चालन गरेका थिए र पसलबाट आम्दानी पनि राम्रो भइरहेको थियो । 

७. नेप्सेमा एकैदिन ४० अङ्कको गिरावट

अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट सम्झौता संसदबाट अनुमोदन गर्नेबारे विवाद चुलिँदा नेपालको पुँजीबजारसम्म परेको छ । सत्तारुढ गठबन्धनका नेताहरू र अमेरिकाबीच भएको पत्राचारले अन्यौलपूर्ण स्थिति निम्त्याएपछि सेयर बजार परिसूचक नेप्से एकैदिन ४० अङ्कले घटेको हो । ​

८. सरस्वती पूजा​ र वसन्त श्रवण​

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिएको छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्य यन्त्रलगायत साधनको पूजा गरिएको छ । यस अवसरमा हनुमानढोका दरबारमा वसन्त श्रवण गरिएको छ । वसन्त श्रवणमा राजतन्त्र हुञ्जेल राजा जाने गरेकामा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुन थालेको छ ।

. कमल र राजेन्द्रको विवाद

राप्रपाभित्र बढ्दो असन्तुष्टिका बीच अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । पार्टी महाधिवेशनबाट लिङ्देन अध्यक्षमा निर्वाचित भएको ६२ दिनपछि दुई नेताबीच भेटवार्ता भएको हो ।​

१०. श्रममन्त्री श्रेष्ठ युएई जाने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता युएई जाने भएका छन् । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा युएई गई अलपत्र परेका नेपालीहरुको व्यवस्थापनका बिषयमा युएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ युएई जान लागेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप