शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली संगीतकारहरूको नजरमा लता मंगेशकर : सरस्वतीको साक्षात् अवतार

आइतबार, २३ माघ २०७८, १६ : ५१
आइतबार, २३ माघ २०७८

स्वर कोकिलाको रूपमा चर्चित भारतीय गायिका लता मंगेशकरको आइतबार निधन भएको छ । ९२ वर्षको उमेरमा निधन भएकी लताको मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

५० हजार गीत रेकर्ड गरेकी लताले नेपाली फिल्म ‘माइतीघर’ को लगायत केही गीत गाएकी छन् । आज सरस्वती पूजाको दिनमै यो संसारबाट सदाका लागि विदा भएकी उनलाई नेपाली संगीतकरहरू सरस्वतीको रुपमा समेत हेर्छन् । नेपाली संगीतकारहरूको नजरमा लता मंगेशकर कस्ती थिइन् ? 

सरस्वतीको साक्षात् अवतार
शम्भुजित बाँस्कोटा (संगीतकार)

लता मंगेशकरलाई म सधै सरस्वतीको रुपमा हेर्थे । संयोग, उहाँको निधन समेत सरस्वती पूजाको दिनमै भएको छ । उहाँसँग मेरो दुईपटक भेट भएको छ । ‘प्रेमपिण्ड’ फिल्मको गीत रेकर्डिङको क्रममा उहाँको घर  गएको थिएँ । उहाँसँग एक घन्टाको चिया गफ भयो । तर उहाँलाई गीत गाउन लगाउने इच्छा भने पुरा हुन सकेन । 

एक घन्टाको बसाईमा नेपाली गीतसंगीतको विभिन्न पाटोको बारेमा कुराकानी भयो । सो क्रममा उहाँले नेपाली फिल्म ‘माइतीघर’को गीत गाउँदाको अनुभव समेत सुनाउनुभयो । उहाँले नेपाली गीत फेरि गाउँछु भन्नुहुन्थ्यो । उहाँको स्वास्थ्यको प्रतिकुल अवस्था र धेरै लन्डन बस्ने भएकोले उहाँसँग काम गर्ने मेरो इच्छा पुरा हुन सकेन । भेटमा उहाँले आफ्नो क्यामराबाट मेरो फोटो पनि खिच्नुभएको थियो । पछि मलाई पनि पठाउनुभयो ।

विश्वभरि नै उहाँको संगीतबाट अपरिचित कोही छैन । उहाँको स्वरको वर्णन गर्ने शब्द नै छैन मसँग । उहाँ भर्सटायल आवाजको धनी हुनुहुन्थ्यो । समय आएपछि सबैले जानैपर्छ । 

शताब्दीको सर्वश्रेष्ठ गायिका

सुरेश अधिकारी (संगीतकार)

लता मंगेशकर यो शताब्दीको सर्वश्रेष्ठ गायिका हुनुहुन्थ्यो । भारतीय चलचित्रका लागि उहाँ एक वरदान हो । गायनको सुगम शैलीलाई उहाँले एउटा मार्ग दिनु भएको छ । उहाँको मार्ग धेरै देशमा पच्छयाउने गरिन्छ । गीतसंगीतमा उहाँको अभाव विश्वमा खड्किरहनेछ । उहाँको शैली अहिले धेरैले पच्छ्याउने गरेका छन् ।

मेरो उहाँसँग तीन पटक भेट भएको थियो । उहाँसँग गीत गर्ने अवसर धेरै पटक जुरेको हो । त्यो समय उहाँको आवाज एक किसिमले परिवर्तित थियो । हाम्रो नेपाली चलचित्रमा मिल्दैन थियो । भेटमा गीतसंगीतको कुराकानी हुन्थ्यो ।

उहाँ नेपाली गीतसंगीत राम्रो हुन्छ भनेर तारिफ गर्नुहुन्थ्यो । उहाँले नभई उहाँको कम्पनीले गीतसंगीत गाउने नगाउने फाइनल गथ्र्याे ।

जति नै गुनगान गरे पनि कम हुन्छ

आलोकश्री (संगीतकार)

लता मंगेशकरसँग कुराकानी गर्ने अवसर मिलेन । देखादेखा भने मुम्बई गएको समय केही पटक भएको थियो । म एक गीत रेकर्डिङको सिलसिलामा मुम्बईको एक स्टुडियो गएको थिएँ । उहाँ पनि त्यहाँ आउनुभएको थियो । तर गीत रेकर्ड भएन । 

त्यो समय मसँग मोवाइल र क्यामरा थिएन । त्यसैले मैले तस्बिर कैद गर्न सकिन । मेरो जगदीश सिंहसँग लता र जगदीशको स्वरमा एउटा गीत गर्ने कुराकानी भएको थियो । त्यो समय उहाँको स्वास्थ्य अलि बिग्रिएको थियो । त्यसैले काम गर्ने अवसर मिलेन ।

मैले जगदीशसँग भने धेरै गीत गरेको छु । बलिउडमा जगदीश र लता जोडीको धेरै गीत हिट भएका छन् । मेरो पनि यो जोडीसँग एक गीत बनाउने रहर थियो, अधुरै रह्यो ।

मेरो विचारमा भारतमा लता जस्तो गायिका नभएको भए धेरै चलचित्र असफल हुन्थ्यो । उहाँको जति नै गुणगान गरेपनि कम हुन्छ । भारतको हरेक स्टुडियोमा उहाँको तस्बिर टाँगिएको हुन्छ । उहाँलाई सरस्वतीको उपमा दिइएको छ । उहाँको प्रस्थान पनि सरस्वतीको पूजाको दिन भयो ।

संगीतकारलाई आफूभन्दा माथि सोच्नुहुन्थ्यो

महेश खड्का (संगीतकार, गीतकार)

लता दिदीसँग मैले काम त गरेको छैन । करिब १४ बर्ष अगाडि गीत रेकर्डिङको सिलसिलामा मुम्बई पुगेको थिएँ । उहाँकै स्टुडियोमा मेरो गीत रेकर्ड हुने भएकाले उहाँसँग २÷३ घन्टा कुराकानी गरेको थिएँ । उहाँसँगको भेटपछि एउटा अलौकिक आनन्द महसुस भयो । उहाँ संगीतकार जेजस्तो भएपनि आफूभन्दा माथि सोच्नु हुँदोरहेछ ।

म संगीतकार भन्ने थाहा पाएर उहाँले भन्नु भयो, ‘म बसेको सोफा भन्दा माथि तपाईंलाई राख्नुपर्छ मैले । तर, म बसेको सोफाभन्दा माथि अर्काे ठाउँ छैन । सँगै बसौ भन्नुभयो ।’ उहाँले भन्नुहुन्थ्यो ‘तपाईं संगीतकारहरू जस्तो सर्जक भएकोले हामी छौं ।’

उहाँको स्वभाव सरल थियो । उहाँको बारेमा मैले जति नै भनेपनि कम हुन जान्छ । उहाँलाई एउटा गीत गाउन लगाउने मेरो इच्छा थियो । उहाँको उमेर बढी भएको र मेरो रेन्ज पनि उहाँसँग नपुग्ने भएकाले सँगै काम गर्न सकिएन । उहाँसँग गीत गर्ने इच्छा कस्को पो नहोला र ?  मेरो पनि थियो । त्यो पुरा हुन सकेन । ९२ बर्षको उमेरसम्म पनि उहाँ सक्रिय हुनुहुन्थ्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप