शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनलाई चुनावसम्म लैजानुपर्छ : रामचन्द्र पौडेल

आइतबार, २३ माघ २०७८, १९ : ५२
आइतबार, २३ माघ २०७८

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले  वर्तमान गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने बताएका छन् । पोखरामा काँग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटनमा पौडेलले काँग्रेससँग ३० प्रतिशत मात्र मत भएको बताए ।
काँग्रेसभन्दा बाहिर रहेका ७० प्रतिशत मत एकै ठाँउमा गएमा के हुन्छ भन्नेमा पौडेलको प्रश्न छ ।

उनले संविधानमा नै अनुसार पनि कुनै पार्टीले एकल बहुमत जुटाउन नसक्ने भएकाले भविष्यमा सरकार बनाउने शक्तिहरुले चुनावमा नै गठबन्धन बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘संविधानमा भएको समावेशी व्यवस्थाका कारण कुनै पनि पार्टीको बहुमत आउँदैन । त्यसकारण सरकार चलाउनका लागि पनि अरु पार्टीसँग गठबन्धन गर्नैपर्छ । गठबन्धनको संस्कृतिको विकास गर्न आवश्यक छ ।’

राष्ट्रियसभा गठबन्धन मिल्दा ६ जना सदस्य पाएको उपलब्धि हो कि होइन भन्दै पौडेलले गठबन्धन गर्न हुँदैन भन्नेहरूलाई प्रश्न गरे । यस्तै पौडेलले मुलुकलाई असफल हुनबाट रोक्न प्रधानमन्त्री, गठबन्धनका नेताहरु र प्रमुख विपक्षी दलका नेता केपी ओलीलाई समेत आफूले आग्रह गरेको बताए ।

उनले केपी ओलीलाई भनेको उल्लेख गर्दै भने– ‘मुलुक असफलतातर्फ जाँदैछ । हाम्रो पुस्ता नै असफल सावित हुँदैछ  । सरकारले कानुन पास गर्न नसक्ने अवस्था आउने, संसद चल्नै नदिने र अदालत पनि उस्तै अन्यौल बनाउ हो ?’ 
पौडेलले माधव नेपाल र प्रचण्डले एमसीसीबारे भ्रम छरेको बताए । पौडेलले भने– ‘मैले गठबन्धनको बैठकमा नै भने, एमसीसीका बारेमा आम जनतालाई कन्भिन्स गराउनुभयो । अब मलाई कन्भिन्स गराउनुस्, होइन भने कार्यान्वयनमा लैजाउ । मुलुकको अर्थतन्त्र चल्नै नसक्ने अवस्थामा पुग्यो । ठूलो विकास आयोजना ठप्प छन् । यसले पनि मुलुक असफलतातर्फ धकेलिन्छ ।’

यस्तै उनले आगामी चुनावमा जनतालाई आशा जगाउने सन्देश दिने बारेमा नेतृत्वले सोच्नुपर्ने बताएका छन् । १४ औं महाधिवेशनपछि आफू पार्टीका उत्तर दिने ठाँउमा नभएको भन्दै पार्टीका पदाधिकारीहरुले चुनावमा जानुअघि जनतालाई आशा जगाउने सन्देश दिने बारेमा सोच्नुपर्ने बताए । 

पौडेलले भने, ‘काँग्रेसका अगाडि ठूलो चुनौतीको पहाड छ । अबको चुनौतीको पहाड भनेको आगामी चुनाव हो । ती चुनावमा जनतामा कसरी आशा जगाउने यो बारेमा पदाधिकारीहरुले सोच्न जरुरी छ ।’ 
पौडेलले पार्टीभित्रको गुटबन्दीलाई अन्तर्घातमा पुर्याउन नहुने स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप