शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा विवाद : कमल थापाको असन्तुष्टिमा राजेन्द्रको आइसब्रेक !

आइतबार, २३ माघ २०७८, १५ : ५०
आइतबार, २३ माघ २०७८

राप्रपाभित्र बढ्दो असन्तुष्टिका बीच अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ । पार्टी महाधिवेशनबाट लिङ्देन अध्यक्षमा निर्वाचित भएको ६२ दिनपछि दुई नेताबीच भेटवार्ता भएको हो । 
राप्रपामा कमल थापाले महाधिवेशनमा निर्मल निवासबाट भएको भनिएको हस्तक्षेपबारे छानबिन गर्न माग गर्दै आएको थिए भने लिङ्देनले सो मागको सम्बोधन नै गर्न नचाहेको सन्दर्भमा भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।  
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दुई नेताबीच शनिबार बूढानीलकण्ठमा करिब साढे घण्टा लामो भेटवार्ता भएको पुष्टि गरे । भेटमा थापाले उठाएको मागका सन्दर्भमा विषय प्रवेश भएको उनको भनाइ छ । ‘विषय प्रवेश भएको छ । सबै विषयमा कुराकानी एकै दिनमा हुने कुरा भएन’ उनले भने ।

स्रोतका अनुसार थापा र लिङ्देन आ–आफ्नो अडानमा भने टसमस भएका छैनन् । यसलाई पुष्टि गर्दै आइतबार राजधानीमा आयोजित कार्यक्रममा लिङ्देनले पार्टीमा कोही असन्तुष्ट हुनुपर्ने अवस्था नरहेको जिकिर गरेका छन् । 
पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्त पदाधिकारी एवं विभागीय प्रमुखहरुको पदस्थापन, स्वागत र मनोनयन पत्र हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले सबैसँग संवादको थालनी गरिएको र कोही निराश हुनु नपर्ने बताएका हुन् । 

‘देशले राप्रपाको आवश्यकता महशुस गरिरहेको, पार्टीले लिएको राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डा दिन प्रतिदिन लोकप्रिय बन्दै गएको अवस्थामा राप्रपाले नवीन यात्रा प्रारम्भ गरिरहेको छ’, अध्यक्ष लिङ्देनले भने, ‘सानातिना विषयमा नअल्झौ, बृहत राप्रपा निर्माणमा जुटौं ।’ 

यसकै प्रयास स्वरुप शनिबार मात्रै निवर्तमान अध्यक्ष कमल थापासँग भेटघाट, छलफल भएको, छलफल सकारात्मक रहेको र संवाद जारी रहने सहमति भएको उनको भनाइ छ ।  यता कमल थापाचाहिँ एक दुई दिनभित्रै ‘नयाँ निर्णय’ लिनेगरी अघि बढेका छन् । गत महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे पार्टीभित्र छानबिन हुनुपर्ने एकसूत्रीय माग अघि सारेका थापाले अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो मागबारे सुनुवाइ नगरे ‘नयाँ निर्णय’ लिएर अघि बढ्ने तयारीमा जुटेका हुन् । 

कमल थापा निकट नेता राजाराम बर्तौलाले आफूहरुले उठाएका माग सम्बोधन गर्न पार्टी नेतृत्वलाई अब धेरै समय नभएको भन्दै एक दुईदिन भित्र सुनुवाइ नभए नयाँ बाटोबाट अघि बढ्नेगरी छलफल प्रारम्भ हुने रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप