बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगार विभागमा मन्त्रीको अनुगमन, गुनासो सम्बोधन गर्न निर्देशन

आइतबार, २३ माघ २०७८, १२ : ४५
आइतबार, २३ माघ २०७८

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासोलाई समयमै सम्बोधन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् । आइतबार काठमाडौंको बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा अनुगमन गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगार पीडित व्यक्तिहरुको गुनासो बुझ्न र समस्या समाधानका लागि ढिलो नगर्न विभागलाई निर्देशन दिएका हुन् ।

आफूले अनुगमनका क्रममा विभागका कर्मचारीहरुले पीडितको समस्या समाधानमा चासो नदेखाएको पाएको भन्दै विभागका कर्मचारीहरुले कार्यशैलीमा सुधार गर्न पनि उनले निर्देश दिए ।

विभागका महानिर्देशक लगायतका कर्मचारीहरुलाई निर्देशन दिदैँ उनले भने – ‘मन्त्रालयको तर्फबाट हाम्रो अनुरोध के हो भन्दा पीडितहरु आउँदा समयमा उहाँहरुलाई रेस्पोन्स लिइ दिनुस् । रेस्पोन्स लिँदा पनि, के हो ? कसो हो ? भनेर उसको कुरा बुझिदिँदा पनि उसको घाउमा ५० प्रतिशत मल्हम लाग्छ । सचिवज्यू र म अहिले आएर हेर्दा कर्मचारीबाट त्यो चिज हामीले पाइएन भनेपछि सेवाग्राहीलाई पक्कै पनि यहाँ सेवा राम्रोसँग पाएको छैन भन्ने हामीलाई लाग्यो । यसलाई सुधार्नुस् ।’

विभागको अनुगमनपछि संक्षिप्त कुराकानी गर्दै मन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशिने श्रमिकहरुलाई सहजीकरण गर्नका लागि केही दिनमै श्रमिक सहायता कक्ष सञ्चालन हुने बताए । उनले भने– ‘विशेषगरी हामीले धेरै अगाडिदेखि उठाएको अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम हेल्प डेस्क राख्ने कुरा छ, छिट्टै त्यो हेल्प डेस्कको काम श्रमिकहरुलाई सहजीकरण गर्ने हिसाबले एक दुई दिनमै हामी अगाडि बढाउँदैछौँ ।’

मन्त्री श्रेष्ठले वैदेशिक रोजगार विभागलाई कसरी सुधार गर्ने, विभागका समस्याहरु के–के रहेका छन् र पीडितका गुनासोलाई कसरी छिटोभन्दा छिटो सुनुवाई गर्न सकिन्छ भन्ने विषयमा विभागका महानिर्देशक, निर्देशकलगायतका कर्मचारीहरुले छलफल गरी मन्त्रालयमा पेश गर्न पनि आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप