मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

लिच्छविकालबाट सरस्वती पूजाको सुरुवात

मञ्जुश्री स्थान बौद्धमार्गीहरूको सरस्वती
आइतबार, २३ माघ २०७८, १० : ३४
आइतबार, २३ माघ २०७८

सरस्वती पूजा अर्थात् वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो । यो वर्ष यही माघ २३ गते सरस्वती पूजा परेको छ । सरस्वती मन्दिरबाटै ज्ञान, बुद्धि र विवेकको वर दिने भएकाले बालबालिकाहरूलाई श्रीपञ्चमीको दिनलाई मानिसले विद्या आरम्भको विन्दुका रूपमा स्थापना गरे । यो दिनको अवसर पारेर अधिकांश अभिभावकले आफ्ना बालबालिकालाई अक्षरारम्भ गराउन सरस्वतीका मन्दिरहरूमा लाने गर्छन् र अक्षर चिनाउन सुरु गर्छन् । कतिपयले यसै दिनलाई साइत मानेर विद्यालयमा भर्ना गर्छन् । विद्यालयहरूले पनि यही दिनको अवसर पारेर निःशुल्क भर्ना लिने गर्छन् । 

श्रीपञ्चमीको दिन सरस्वतीको मन्दिरमा लगेर वागीश्वराय नमो नमः भनेर भन्न र लेख्न लगाएर पढाइको सुरुवात गराउँछन् । वाग भनेको बोली हो, वागीश्वराय भनेको वाणीकी देवी सरस्वती हो । नमोः वागीश्वरायः वागीश्वरलाई नमस्कार भनेर सबैभन्दा पहिले लेखाउने नै त्यही हो । यसरी आआफ्नो संस्कृति, आफ्नो सम्प्रदाय, आआफ्नो कुलअनुसार सरस्वतीको पूजाआजा गर्ने चलन छ । यसले कुनै  सम्प्रदायलाई ठूलोसानो गरेको छैन ।

थरिथरिका सरस्वतीको मूर्ति

हरेक संस्कृतिमा आआफ्ना देवीदेवता मान्ने परम्परा छ । ग्रीसमा पनि सरस्वती जस्ता देवीदेवता छन् । हाम्रो संस्कृतिमा लिच्छविकालदेखि सरस्वतीको मूर्ति देखा परेको भेटिन्छ । मूर्ति स्थापना भएपछि पूजाआजाको सुरुवात भयो । त्यसैले लिच्छविकालबाट सरस्वतीको पूजा सुरुवात भएको भन्न सकिन्छ । 

सरस्वती पूजा मात्र होइन, मूर्ति बनाउने प्रविधि, दर्शन र शैलीमा पनि आआफ्नो संस्कृतिको प्रभाव  परेको हुन्छ । भारतमा र नेपालमै पनि फरक फरक छ । हाम्रोमा खास गरेर सरस्वतीका पुराना मूर्तिहरू सबै उभिएका पोजमा पाइन्छन् । ती मूर्ति प्रस्तर (ढुङ्गा) बाट निर्माण भएका छन् । 

पछि आएर नेपालमा पाल शैली (डायनेस्टिक)को प्रभाव पर्यो । पाल शैलीको प्रभाव परेपछि उभिएकी सरस्वती होइन, आसनमा बसेकी, वीणा बजाइरहेको मूर्तिहरू निर्माण हुन थाले । टुँडिखेलको मिलिटरी अस्पताल र महाँकालको अगाडि बाटा छेउमा असाध्यै राम्रो मूर्ति छ । त्यो ज्यादै राम्रो शैलीको मूर्ति हो । विडम्वना त्यसलाई माग्नेहरूले छोपिरहेका हुन्छन् । 

त्यस्तै, विशालनगरमा भएको सरस्वती मूर्ति धेरै नै राम्रो छ । त्यो ढुङ्गाको मूर्तिलाई हातले ठक्कर दियो भने तरङ्गित भएर छुट्टै खालको मीठो धुन निस्किन्छ । कालीगढहरूले धेरै मिहिनेत गरेर यी मूर्ति बनाएका हुन् । 

मञ्जुश्री पनि सरस्वती

स्वयम्भूमा मञ्जुश्री स्थान छ । त्यो मञ्जुश्री स्थानलाई बौद्धमार्गीहरूले सरस्वती मान्न थाले । त्यसैले यो विवाद गर्ने कुरा होइन । त्यो मञ्जुश्री स्थानमा मञ्जुश्रीलाई पनि सरस्वतीकै पादुका मानेर पूजा गर्न थालेका हुन् । पादुका पूजा गरेको एउटा लामै कथा छ । पादुका भनेको पाउ अथवा खुट्टाको पाउ चिह्न हो, त्यसैको पूजा त्यहाँ हुन्छ । 

यस्ता मूर्तिको विकास समय समयमा फरक हुँदै आएका छन् । सरस्वतीका उभिएका र बसेका दुईवटा शैली चाहिँ ज्यादै महत्वपूर्ण मानिन्छन् । त्यसैले लिच्छविकालीन समयदेखि नै सरस्वतीको पूजा गरिँदै आएको छ । सरस्वतीको मूर्ति र उनको पूजाबारे पाँचौँ शताब्दीदेखिको इतिहास भेट्न सकिन्छ । 

पूजा गर्ने तरिका

सरस्वती पूजा विधि चाहिँ सनातनी परम्परावादीहरूले बौद्ध र शैव दुबै परम्परालाई पनि मानेका छन् । बौद्धहरूले आफ्नै परम्पराअनुसार बोधी सत्यको रूपमा मान्छन् । सनातनीहरूका पनि आआफ्नै सम्प्रदाय हुन्छन् । जस्तै सौर्य सम्प्रदाय, गालप्रद सम्प्रदाय, शाख्य  सम्प्रदाय यी सम्प्रदायले आआफ्नो तरिकाले सरस्वतीको पूजा गर्ने गरेका छन् । तर सरस्वतीलाई सबैले साझा देवीका रूपमा मान्छन् । किनभने यिनी सबैकी बुद्धि वरदायिनी हुन् । बुद्धिको वर दिने भएको हुनाले यिनको लोकप्रियता अरू देवीदेवताको भन्दा बढी भयो । 

हिंसा वर्जित

सरस्वतीलाई खास गरेर फूल र अबिरका साथै मिठाइ र फलफूल मात्र चढाउने चलन छ । हिंसा चाहिँ वर्जित छ । नेवारहरूले समयबजी भने पनि अलिकति यताउति अरु थोक पनि चढाउँछन् तर मासु चाहिँ चढाउँदैनन् । समयबजीमा चढाउने अर्कै कुरा भयो तर सरस्वतीको पूजैमा चाहिँ त्यो चढाउँदैनन् । काटमार हुँदैन, बलि दिँदैनन् । 

विद्यार्थीहरुको देवी

म पाटनको मान्छे । दरबार हाई स्कुलमा पढेको । त्यतिबेला पनि वर्षको एक चोटि आआफ्नो विद्यालयमा सरस्वती पूजा हुने गर्दथ्यो । त्यसबेला विद्यार्थी, शिक्षकहरूबाट पैसा सङ्कलन गथ्र्यौं । एक रुपियाँ, ३ मोहोर, २ रुपियाँसम्म पैसा जम्मा गरेर स्वयम्भूको मञ्जुस्थानमा पूजा गर्न जान्थ्यौँ । पूजाआजा गरेर दिनभरी खानपिन गरी घर फर्किन्थ्यौं । रमाइलो हुन्थ्यो । सामान्य पूजाआजा मात्र हुन्यो, ठूलो धुमधामसँग मनाइँदैन थियो । तर हामीले गर्ने पूजा हो भनेर त्यस दिन कक्षाभरीका विद्यार्थीहरू गौरवका साथ पूजामा सहभागी हुन्थे । 

सरस्वती विद्यार्थीका मात्र देवी होइनन् । स्वर, सङ्गीत, ताल र लयकी पनि स्रोत हुन् । उनी सङ्गीतदेखि नृत्यकला, सीप ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, वाणीको माधुर्य, गला र कलाकी पनि देवी हुन् । यस क्षेत्रमा लाग्ने सबैले उनको साधना र पूजा गर्छन् ।

सामान्यतः सरस्वती माया दृष्टा वीणा पुस्तक धारिणी भन्ने कविता भन्ने चलन अझै छ । खासगरी विद्यालयमा सरस्वती वन्दना गर्दा यो मन्त्र पढ्ने गरिन्छ–

सरस्वती माया दृष्टा वीणापुस्तक धारिणी 

हंसवाहन संयुक्ता विद्यादानं करोतु मे 

प्रथमं भारती नाम द्वितीयं च सरस्वती

तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी 

पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा

सप्तमं चैव कौमारी चाऽष्टमं वरदायिनी

नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारणी 

एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी

द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्न् नरः

जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती ।

अर्को श्लोक यस्तो छ–

शुक्लां ब्रह्मविचारसारपरमाद्यां जगद्व्यापिनीं 

वीणा–पुस्तक–धारिणीमभयदां जाड्यांधकारपहाम् 

हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां 

वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् ।

यसको अर्थ हुन्छ सेतो सफा वर्ण भएकी, सम्पूर्ण चराचर जगत्मा व्याप्त, आदिशक्ति, परब्रह्मको विषयमा गरिएको विचार एवं चिन्तनको सार रूप परम उत्कर्षको धारण गर्ने, सबै भयहरूबाट भयदान दिने, अज्ञानलाई अँध्यरोलाई मेटाउने, हातमा वीणा, पुस्तक र स्फटिकको माला धारण गर्ने र पद्मासनमा विराजमान् बुद्धि प्रदान गर्ने, सर्वोच्च ऐश्वर्यले अलङ्कृत, देवी सरस्वतीलाई म पूजा गर्दछु ।

वरिष्ठ संस्कृतिविद् जोशीसँग रातोपाटीका लागि शिखर मोहनले गरेको कुराकानीमा आधारित ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सत्यमोहन जोशी
सत्यमोहन जोशी
लेखकबाट थप